ट्रमा सेन्टरः घाइते अस्पतालमा आउनासाथ उपचार

डिसी नेपाल
१० माघ २०७६ २२:३३

काठमाडौं। राष्ट्रिय ट्रमा सेन्टरले सडक दुर्घटनामा घाइते भएका बिरामी अस्पतालमा आउनासाथ उपचार शुरु गरेको पाइएको छ प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको टोली शुक्रबार सेन्टर पुग्दा बिरामीको आफन्त वा पैसाको व्यवस्थापनलाई बेवास्ता गरेर उपचार अघि बढाएको पाइएको हो।

समितिका सदस्य गणेशकुमार पहाडीको संयोजकत्वमा गठित सवारी दुर्घटना न्यूनीकरण उपसमिति स्थलगत अध्ययनका क्रममा शुक्रबार सेन्टर र बिएण्डबी अस्पताल पुगेको थियो। उपसमितिले मुख्य गरेर दुर्घटनामा घाइतेले अस्पतालमा उपचारको अवस्था, दुर्घटनामा संलग्न व्यक्तिले गरिरहेको सहयोग÷असहयोग र बिमाको रकम भुक्तानीको अवस्थाका बारेमा बुझ्न खोजेको पहाडीले बताए।

सेन्टरमा बिरामीको उपचार खर्च नहुँदा पनि उपचार अघि बढाएको पाइएको उनको भनाइ थियो। सेन्टरले आफन्त, यातायात व्यवसायी सम्पर्कमा आएपछि उनीहरुबाट र नआउँदा सङ्घसंस्थाबाट उपचार खर्च व्यवस्थापन गर्दै आएको छ।

अस्पतालले विपन्नलाई छुटसमेत दिँदै आएको छ। घाइतेले दुर्घटना गराउने व्यक्ति वा कम्पनीसँग उपचार खर्च सहजरुपमा नपाएको गुनासो गरेका छन्। उनले भने, ‘त्यस विषयमा र बिमाका विषयमा हामीले व्यवसायीसँग कुरा गरेर मात्रै बुझ्न सक्छौँ।’

सेन्टरका कामु प्रमुख मेडिकल सुपरीटेन्डेन्ट प्रमोदकुमार यादवले अस्पतालमा घाइतेले पैसा नभए पनि तत्काल उपचार पाउने गरी व्यवस्था गरिएको बताए। अस्पतालले बिरामी आउनासाथ उसको परिवार र आफन्तको खोजी नगरी उपचार शुरु गर्दै आएको छ।

अस्पतालमा ‘एमआरआइ’ मेशिन र बिरामीलाई नहिँडाइ सबै खालको उपचार गर्न सकिने श्यया आवश्यक भएको उनले बताए। उनले भने, ‘पहिले निजी वा अरु सरकारी अस्पतालमा छरिए पनि अहिले घाइते धेरै यहीँ आइरहेका छन्।’

उपसमितिका संयोजक पहाडीसँगै यज्ञराज सुनुवार, रङ्गमती शाही, दुर्गा पौडेललगायत सचिवालयका कर्मचारी सहभागी थिए। उपसमितिले विकास तथा प्रविधि समितिसमक्ष दुर्घटनाको कारण, अवस्था र न्युनीकरणका उपायका बारेमा अध्ययन प्रतिवेदन दिनेछ।

उपसमितिको प्रतिवेदन आएपछि सरकार, प्रहरी र यातायात व्यवसायीलाई आवश्यक निर्देशन दिइने उपसमितिले जनाएको छ। गत महिनाहरुमा देशका विभिन्न स्थानमा भएका सार्वजनिक सवारीसाधन दुर्घटनामा धेरैको मृत्यु भएसँगै उपसमिति गठन भएको थियो। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *