विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउँदै कर्णाली प्रदेशसभा

डिसी नेपाल
१९ माघ २०७६ ७:१८

सुर्खेत । कर्णाली प्रदेशसभा सचिवालयले पहिलोपटक विभिन्न कार्यक्रम गरी प्रदेशसभाको स्थापना दिवस मनाउने तयारी गरेको छ।

प्रदेशसभाले आजदेखि मङ्गलबारसम्म खेलकूद प्रतियोगिता, अन्तरक्रिया र शुभकामना आदानप्रदान गरेर स्थापना दिवस मनाउने भएको हो।

प्रदेशसभा स्थापना भएको तेस्रो वर्षमा प्रवेश गरे पनि औपचारिकरूपमा स्थापना दिवस पहिलोपटक मनाउन लागिएको हो।

विसं २०७४ माघ २१ गते कर्णाली प्रदेशसभाको पहिलो बैठक बसेको थियो । स्थापना दिवसका अवसरमा आज मन्त्री र प्रदेश सांसदबीच ब्याडमिन्टन, कुर्सी दौड, घैंटो फोड्ने खेल आयोजना गरिनेछ।

सभामुख राजबहादुर शाही र सामाजिक विकासमन्त्री दल रावल नेतृत्वको समूहबीच आज प्रदेशसभा प्राङ्गणमा ब्याडमिन्टन खेलको उद्घाटन हुनेछ।

उपसभामुख पुष्पा घर्ती विष्टले खेलमा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, सचिवालयका कर्मचारीको सहभागिता रहने बताए ।

त्यस्तै सोमबार दिउँसो सङ्घीयताको प्रभावका विषयमा अन्तक्र्रिया हुनेछ भने माघ २१ गते शुभकामना आदानप्रदानको कार्यक्रम तय गरिएको छ।

उपसभामुख विष्टका अनुसार अन्तक्र्रियामा विभिन्न क्षेत्रका गरी ३०० बढी व्यक्तिलाई निमन्त्रणा गरिएको छ।

शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायत उच्चपदस्थ पदाधिकारीको उपस्थिति रहनेछ।

सोही दिन ३१० पृष्ठको स्मारिका र प्रदेशसभा सदस्यको परिचय खुल्ने पुस्तकको विमोचन गर्ने कार्यक्रम छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *