कोरोना भाइरस प्रकोप: ज्यान गुमाउनेको संख्या ४२६ पुग्यो, २० हजारबढी संक्रमित

डिसी नेपाल
२१ माघ २०७६ ८:०६

काठमाडौँ । पछिल्लो समय चीनमा ब्यापक फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४ सय २५ पुगेको छ । चीन बाहिर फिलिपिन्समा एक जनाको ज्यान गएको छ ।

कोरोना भाइरसबाट सोमबार बिहानसम्म ३ सय ६१ जनाको ज्यान गएको थियो । सोमबार मात्रै चीनमा ६४ जनाको ज्यान गएको चाइना डेली ले जनाएको छ । उक्त भाईरसबाट हालसम्म २० हजार चार सय ३८ जना संक्रमित भएका छन् ।

उक्त दैनिकका अनुसार चीनमा हालसम्म ६ सय ३२ जना उपचारपछि ‘डिस्चार्ज’ भइसकेका छन् ।

मंगलबार बिहानसम्म हङकङमा १५ जना, मकाओमा आठ जना र ताइवानमा १० जनामा सङ्क्रमण देखिएको छ।

चीन बाहिर ४० देशमा कोरोनाको प्रकोप देखिएको र उक्त भाइरसबाट करिब ५० जना संक्रमित भएको बीबीसीले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरिसकेको छ ।

यसैगरी कोरोना भाइरसबाट अतिप्रभावित क्षेत्र चीनको हुबे प्रान्तमा रहेका नेपालीहरूलाई उद्धार गर्ने सरकारले तयारी गरेको छ ।

बेइजिङस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने नेपाली नागरिकहरूलाई आवेदन दिन आह्वान गरेकोमा एक सय ८० जना नेपालीले फारम भरेका थिए ।

सरकारले ती नेपालीलाई काठमाडौँ ल्याउन २ विमान तयारी अवस्थामा राखेको छ।

चीनबाट फर्काइएपछि उनीहरुलाई कम्तिमा १५ दिन विशेष निगरानी (क्वारेन्टाइन) मा राख्नुपर्ने भएकाले सम्भावित स्थानहरुको खोजी गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *