हटेन ढिके नुनको प्रयोग गर्ने बानी
रुकुमपूर्व । रुकुम (पूर्व) का विभिन्न ग्रामीण क्षेत्रमा अझै ढिके नुनको प्रयोग हुने गरेको छ। बजारमा पाइने खुला नुनको प्रयोगले मानिसको स्वास्थ्यलाई असर गर्छ।
साल्ट टे«डिङ कर्पोरशनद्वारा वितरित आयोडिन युक्त नुनले स्वास्थ्यलाई फाइदा पुग्ने भएपनि जिल्लाका ग्रामीण क्षेत्रमा ढिके नुन प्रयोग गर्न छाडिएको छैन।
सिस्ने गाउँपालिका–१, २, ४, भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकाका अधिकांश गाउँमा सो नुन प्रयोग गर्नेको सङ्ख्या अझै नघटेको बताइएको छ।
पुथाउत्तरगङ्गा गाउँपालिकामा घोडाबाटै बोराका बोरा ढिके नुन ढुवानी हुने गरेको छ। सस्तो र सजिलो भएकाले आफूहरुले ढिके नुन प्रयोग गर्दै आएको भूमे गाउँपालिका–२ का सुजन घर्ती मगरले बताए ।
बजारमा आयोडिनयुक्त नुन पाइने गर्दछ। ढिके नुनभन्दा महङ्गो पर्ने र स्वादमा पनि फरक हुने भएकाले आयोडिनयुक्त नुनको प्रयोग नगरेको उहाँले जानकारी दिए।
ढिके नुनको प्रतिकिलो २० रुपैँया र आयोडिनयुक्त नुन रु ३० पर्ने बताइएको छ। ‘आयोडिनयुक्त नुनको प्रयोग गर्नुपर्छ’ भन्ने चेतनाको अभावले ढिके नुनको प्रयोग गर्न नछाडेका सिस्ने गाउँपालिका–५ का प्रकाश मगरले बताए।
सरकारले ‘दुई बालबालिकाको चिह्न अङ्कित आयोडिनयुक्त नुनको प्रयोग गरौँ’ भनेपनि यहाँका जनतामा अझै चेतनाको कमी रहेको पाइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment