स्वास्थ्य केन्द्रमा प्रसूति गराउने घट्दै

डिसी नेपाल
११ फागुन २०७६ १६:२८

गौशाला । महोत्तरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र सम्सीले महिलालाई महिनौँदेखि प्रोत्साहन भत्ता उपलब्ध नगराएका कारण स्वास्थ्य संस्थामा प्रसूति गराउनेको सङ्ख्यामा कमी आएको छ । गत असोजदेखि स्वास्थ्य संस्थाले सुत्केरी भत्ता समयमै उपलब्ध नगराएकै कारण अस्पतालमा प्रसूति गराउनेको सङ्ख्यामा पछिल्लो समयमा कमी आएको स्वास्थ्य संस्थाका अनमी विन्दु साहले बताए ।

पहिले दिनहुँ पाँच जनाले प्रसूति सेवा लिने गरेकामा पछिल्लो समयमा क्रमिक रुपमा सेवाग्राही आउन छाडेका छन् । सरकारी स्वास्थ्य संस्थामा प्रसूत भए सरकारले प्रोत्साहन भत्ता उपलब्ध गराउने गरेकाले प्रायः हरेक प्रसूत गराउनका लागि यहाँ आउने गर्थे । अब संस्थाले भत्ता उपलब्ध नगराएकै कारण सो सङ्ख्यामा कमी आएको अनमी साहले स्वीकार गरे ।

गाउँपालिकाको कार्यालयमा लिखित एवम् मौखिक रुपमा अनेकौँ पटक जानकारी गराउँदा समेत कुनै चासो नदेखाइएको अस्पताल व्यवस्थापन समितिका सदस्य रामजपु यादवले बताए। अस्पतालमा भएको अनियमितता देखेर आफूले नैतिकताका आधारमा समितिको सदस्यबाट राजीनामा दिए पनि आजसम्म राजीनामा स्वीकृत नभएको यादवले जानकारी दिए ।

गाउँपालिका परिषद् बैठक ढिलो भएका कारण सुत्केरीले पाउनुपर्ने भत्ता अहिलेसम्म नपाएको प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष मदन यादवले स्वीकार गरे। अबको केही दिनमै प्रोत्साहन भत्ता उपलब्ध गराइने प्रशासकीय अधिकृत रामजी जोशीले जानकारी दिए। गाउँपरिषद् विवादका कारण बजेट विनियोजन हुन नसकेकाले तलब र भत्ता गाउँपालिकाबाट उपलब्ध गराउन नसक्दा यस्तो समस्या सिर्जना भएको अधिकृत जोशीले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *