चिकित्सक नुहँदा भेन्टिलेटर तथा आइसियु सेवा बन्द

डिसी नेपाल
१७ फागुन २०७६ ८:२०

सर्लाही । लालबन्दी नरगपालिका–१ मा अवस्थित नवलपुर सर्पदंश उपचार केन्द्रको भेन्टिलेटर तथा आइसियु सेवा प्रयोगविहीन भएको छ।

ती सेवा सञ्चालन गर्न दक्ष चिकित्सक नहुँदा उपकरण थन्किएको छ । सेवा समेत प्रभावित बन्न पुगेको छ।

प्रदेश नम्बर २ सरकार र लालबन्दी नगरपालिकाको रु ३० लाख रकममा २०७६ जेठमा उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याइएको थियो।

नवलपुर सर्पदंश उपचार केन्द्र व्यवस्थापन समितिका अध्यक्ष बोधराज काफ्लेले भेन्टिलेटर तथा आइसियु उपकरण स्वास्थ्य संस्थामा भए पनि दक्ष चिकित्सक नहुँदा उपकरण थन्किएको बताए ।

उनले भने “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई चिकित्सक पठाइदिन पटक पटक ध्यानाकर्षण गराऔँ। तर कार्यान्वयन भएको छैन।”

सर्लाहीसहित आसपासका जिल्लाका सर्पदंश उपचार गर्न ल २०७० सालमा सो केन्द्र स्थापना भएको थियो । गर्मी तथा वर्षा याममा केन्द्रमा दैनिक १०/१२ सर्पदंशका बिरामी आउने गरेका जनाइएको छ।

सर्लाहीको बरथवा र नवलपुरमा उपचार केन्द्र रहेको भए पनि नवलपुरमा बिरामीको चाप बढी छ । हालसम्म उपचार केन्द्रले करिब चार हजार ५०० बिरामीको उपचार गरी सकेको जनाएको छ।

केन्द्रले बिरामीको सेवालाई मध्यनजर गर्दै २०७५ साल मङ्सिरबाट एम्बुलेन्स सेवासमेत सञ्चालनमा ल्याएको छ। एम्बुलेन्स सेवासमेत रहेको केन्द्रमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको रु १२ लाखको आर्थिक सहयोगमा सोलार बत्ती तथा इन्भटर जडान गरी बिरामीलाई २४ सैँ घण्टा केन्द्रमा सेवा दिने तयारी समेत गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *