नेपालको लगातार दोस्रो हार, एसियाकप खेल्ने सपना समाप्त हुँदै

डिसी नेपाल
१८ फागुन २०७६ ११:३७

काठमाडौं। थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा नेपालको खराब प्रदर्शन कायमै रहेको छ। राउन्ड रोबिनको आफ्नो दोस्रो खेलमा नेपाल आइतबार हङकङसँग ४३ रनले पराजित भयो। यसअघि पहिलो खेलमा शनिबार मलेसियासँग २२ रनले स्तब्ध भएको थियो। लगातार दोस्रो हारसँगै नेपालको एसिया कपको छनोट खेल्ने सम्भावना निकै कमजोर बनेको छ।

टस जितेर नेपालले पहिला फिल्डिङ्ग रोजेपछि ब्याटिङ्ग गरेको हङकङले ६ विकेटको क्षतिमा १५४ रन बनाएको थियो । हङकङका लागि निजाकत खानले ४८ रनको योगदान दिए । नेपालका सुशन भारी र सन्दीप लामिछानेले दुई–दुई विकेट लिए । त्यस्तै कुशल मल्लले एक विकेट लिए।

नेपालले १८ ओभर १ बलमा सबै विकेट गुमाएर एक सय ११ रन जोड्यो। हङकङका हारुन मोहम्मद अर्सादले ५, अफताब हुसेनले तीन र एहसान खानले दुई विकेट लिए। अर्सादले १७ औँ ओभरमा तीन विकेट हात पारेका थिए। उनले ३.१ ओभरमा केवल १६ रन खर्चिएका थिए।

नेपालका ज्ञानेन्द्र मल्लले ४६, कुसल मल्लले १९, अविनाश बोहोरा १२ र आरिफ शेखले १० रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। पहिलो विकेटका लागि ४२ रनको साझेदारी गर्दै बलियो सुरुवात गरेपनि नेपालले नियमितरुपमा विकेट गुमाएको थियो।

पारस खड्का ४, दीपेन्द्रसिंह एेरी ५, पवन सर्राफ १ र विनोद भण्डारी पाँच रन जोडेर आउट भए। पाँच टोली सहभागी भएको यो प्रतियोगिताको शीर्ष दुई टोली एसिया कपको छनोट प्रतियोगितामा पुग्नेछन्। नेपालले तेस्रो खेल बुधबार थाइल्यान्डविरुद्ध खेल्ने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *