कोरोना त्रासः ४३९ जनाको गरियो परीक्षण, अस्पताल पुग्ने सबैको परीक्षण भने हुँदैन

खेमराज थापा
२५ फागुन २०७६ १६:३७

काठमाडौं। विश्व यतिबेला कोरोना भाइरसको आतंकमा रहँदा नेपालमा पनि स्वास्थ्य परीक्षण गराउन जानेहरुको घनत्व बढेको छ। नेपालमा कोरोना भाइरसको परीक्षण भने एकमात्र प्रयोगशाला –राष्ट्रिय स्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा हुन्छ।

उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना दक्षिण छिमेकी भारतमा महामारीको रुपमा फैलिँदै जाँदा नेपालमा भने हालसम्म कोरोना पोजेटिभ विरामी फेला परेका छैनन्। राष्ट्रिय स्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले हालसम्म ४३९ जनाको स्वास्थ्य परीक्षण गरिएको बताइन्। उनले डिसी नेपालसँग भनिन्, ‘हामीले परीक्षण गरेका सबै नमुनाहरुको रिपोर्ट नेगेटिभ आएको छ। पोजेटिभ आए त जानकारी दिइहाल्छौं।’

कोरोनाको शंका लागेका करिब साढे ४ सयजनाको स्वास्थ्य परीक्षण हुँदा शुक्रराज टर्पिकल तथा सरुवा रोग अस्पताल टेकु पुग्ने सबैको परीक्षण भने भएको छैन। कोरोनाको शंकास्पद देखिएमात्र परीक्षण हुने गरेको अस्पतालका डा. अनुप बाँस्तोलाले जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘यहाँ आउने सबैको कोरोना परीक्षण हुँदैन। अन्य फ्लूका विरामी पनि डराएर आउने गरेका छन्। तर, विश्वस्वाथ्य संगठनले तोकेको मापदण्डभित्र पर्ने शंकास्पदहरुकोमात्र कोरोना परीक्षण हुँदै आएको छ।’ उनले कोरोना प्रभावित मुलुकबाट आएको, उनीहरुको सम्पर्कमा रहेको र कोरोनाको लक्षण देखिएका विरामीकोमात्र स्वास्थ्य परीक्षण हुने बताए। उनले अस्पतालमा आउने सबै विरामीको स्वास्थ्य परीक्षण भने गर्न आवश्यक नरहेको बताए।

टेकु अस्पताल पुग्ने मध्ये धेरैजसो कोरोना प्रभावित मुलुकसँग सम्बन्धित व्यक्ति रहेका छन्। डा. बास्तोलाले भने, ‘कोरोना प्रभावित मुलुकबाट आएकाहरु यहाँ आउने गरेका छन्। हामीले उहाँहरुलाई घरमै क्वारेन्टाइन बस्न भनेका छौं। कुनै लक्षण देखिए अस्पताल आउन भनेका छौं।’ उनले त्रिभुवन विमानस्थलबाट पनि केही मानिसहरु शंका लागेर टेकु अस्पताल आउने गरेको बताए।

गएको डिसेम्बरमा पहिलो पटक चीनवको वुहानमा कोरोना संक्रमित फेला परेका थिए। त्यसयता विश्वका करिब ८० मुलुकमा कोरोना देखिएको छ। हालसम्म कोरोनाका कारण विश्वमा करिब ३४ सय जनाको मृत्यु भइसकेको छ भने एकलाख भन्दा धेरै संक्रमित भएका छन्। सबैभन्दा धेरै प्रभावित चीन हो भने त्यसपछि इटाली, इरान र दक्षिण कोरियामा यसको प्रभाव देखिएको छ।

तर, नेपालको दक्षिणी छिमेकी मुलुक भारतमा पनि पछिल्लो हप्ता कोरोना संक्रमितहरुको संख्या लगातार बढिरहेको छ। जसले गर्दा नेपाल पनि उच्च जोखिममा रहेको छ। भारतमा हालसम्म ३९ जना संक्रमित फेला परेका छन्। आइतबारमात्र त्यहाँ पाँच जना विरामी थपिएका हुन्। यस्तै ठूलो संख्यामा नेपालीहरु रहेको खाडी तथा मलेशिया, जापान र दक्षिण कोरियामा कोरोना देखिएको छ। जसले नेपाललाई थप जोखिम तर्फ धकेलेको छ।

यसरी जोखिम बढेपछि नागरिकहरु जागरुक हुनुपर्ने डा. बाँस्तोला बताउँछन्। उनले भने, ‘सबैभन्दा पहिला त नागरिकहरु आफै जागरुक हुनुपर्यो। सरकारी संस्थाबाट सार्वजनिक गरिएको आधिकारि सूचनाका आधारमा यसबाट बच्ने उपायहरु अवलम्बन गर्नु राम्रो हुन्छ। हल्लाका पछाडी लाग्नु हुँदैन।’ उनले मास्क लगाउने, हात धुने, जथाभावी भीडभाड क्षेत्रमा जाने काम कम गर्नुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *