दुर्गम क्षेत्रमा झोलुङ्गे पुल बन्ने भएपछि स्थानीयवासी खुसी

डिसी नेपाल
२६ फागुन २०७६ १८:०४

दैलेख। दुर्गम क्षेत्र मानिएको पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–१ सिराडी र चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ हाडाकोट जोड्ने ‘भोलुङ्गे पुल’ निर्माण हुने भएपछि स्थानीयवासीमा खुशी भएका छन् । वर्षौंदेखि रामाघाट खोलामा पुल नहुँदा तीन घण्टा लामो यात्रा गर्नुपर्ने बाध्यता भोग्दै आएका स्थानीयवासी पुल बन्ने भएपछि खुशी भएका हुन् ।

यो ठाउँमा पुल नहुँदा यहाँभन्दा पहिले केही मान्छेलाई खोलाले समेत बगाएको छ । सामान्य कामका लागि पनि खोला वारपार गर्नुपर्ने भएकाले बर्सातको समयमा खोला उर्लिएपछि वारपार गर्न निकै समस्या हुने गरेको स्थानीयवासी मेगे भण्डारीले बताए। अब खोलामा ८० मिटर लामो पुल बन्ने भएपछि दुई स्थानीय तहका सयौँ नागरिक लाभान्वित हुने पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष दीपक बुढाले बताए। चालू आव कर्णाली प्रदेश सरकारले यहाँ पुल निर्माणका लागि रु ३५ लाख २२ हजार ९०८ बजेट पठाएको छ ।

केही सयमपहिलेदेखि पुल निर्माणको काम शुरु भइसकेको अध्यक्ष बुढाले बताए। पुल निर्माण शुरु भएपछि २० जनाले प्रत्यक्षरुपमा रोजगारी पाएका छन्”, उनले भने, “अब वैशाख महिनादेखि पुल सञ्चालनमा आइसक्ने गरी काम थालनी गरिएको छ । करीब रु १८ लाख बराबरको सामग्रीहरु ढुवानी भइसकेको छ।”

अध्यक्ष बुढाले पुलका लागि आवश्यक पर्ने लट्ठा ढुवानी केही दिनमै हुने बताए। स्थानीयवासी अर्जुन शाहीले पुल निर्माण भएपछि ठाटीकाँधबजार जान पहिलेभन्दा अब तीन घण्टा छोटो बाटो हिँड्नुपर्ने बताए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *