चितुवासँग लडेर छोरीको उद्धार

डिसी नेपाल
५ चैत २०७६ ६:५४

काठमाडौँ। तनहुँकी एक महिला चितुवाको आक्रमणमा परेकी आफ्नी छोरीलाई खोसेर उद्धार गर्न सफल भएकी छन् । शुक्लागण्डकी नगरपालिका–३, बनकेवाकी इन्दिरा न्यौपानेले सोमबार साँझ घरमै खेलिरहेकी छोरीलाई आक्रमण गरी घिसारेर ५० मिटर तल पु¥याएको चितुवासँग लडेर छोरीलाई बचाएको हो ।

घरको आँगनमा रहेको धारामा आमासँग हात समातेर पुगेकी २१ महिनाकी संस्कृति न्यौपानेलाई चितुवाले आक्रमण गरी लगेको थियो । छोरीलाई चितुवाले तानेर लगेसँगै होहल्ला गर्दै आमाले चितुवासँग लडेर छोरी बचाएको हो । चितुवाको आक्रमणमा परी घाइते छोरीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

चितुवाले बालिकाको पेटमा चारवटा, दुई खुट्टामा एक/एकवटा नङ्ग्रा गाडेर घाइते बनाएको अस्पतालले जनाएको छ । अस्पतालमा उपचाररत बालिकाको स्वास्थ्य खतरामुक्त रहेको बालिकाका बाबु नारायण न्यौपानेले जानकारी दिएका छन् । “गाउँमा चितुवाको आतङ्क सुरु भएको धेरै भयो । हामी सबै परिवार घरमै थियौँ । आमासँगै हात समातेर गएकी छोरीलाई चितुवाले ताने पनि श्रीमतीले साहसका साथ चितुवासँग भिडेर छोरी बचाउन सफल भइन्”, न्यौपानेले बताए ।

आफूसँग रहेकी छोरीलाई चितुवाले तानेपछि चितुवाको पछिपछि गएर छोरीको खुट्टा समात्न भ्याएकाले बचाउन सकिएको इन्दिराले बताए । “चितुवाले छोरीलाई लगेको थाहा पाएपछि चिच्याउँदै चितुवाको पछिपछि दौडिएँ । छोरीलाई समातेर तान्दै गर्दा मलाई समेत आक्रमण गर्न थालेको चितुवा गाउँका मानिसले होहल्ला गरेपछि भागेको थियो”, उनले भने ।

चितुवाको आक्रमणबाट तनहुँका विभिन्न ठाउँमा नौ जना बालबालिकाको मृत्यु भइसकेकाले गाउँमा चितुवाको त्रास बढेको इन्दिराले बताए । “गाउँमा चितुवाको डर भइरहेको छ । घरमै खेलेकी छोरीलाई तानेपछि जसरी पनि बचाउनुपर्छ भन्ने सोचेर ज्यानको बाजी थापेर भए पनि छोरीलाई बचाउन पुगेँ”, उनले भने ।

घटनास्थलको अध्ययन गर्न पुग्नुभएका डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले घरदेखि ५० मिटर तल बालिकालाई लगेको अवस्थामा आमाले चितुवाबाट बालिकालाई खोस्न सफल भएको बताए । “आमा डराएर चितुवाको पिछा नगरेको भए बालिकाको ज्यान जाने अवस्था थियो । आमाले आफ्नो ज्यानको जोखिम मोलेरै भए पनि बालिकाको उद्धार गरेको पायौँ”, बरालले बताए ।

चितुवाको आक्रमणबाट घाइते बालिकाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख किसान गुरुङले जानकारी दिएका छन् । गुरुङले चितुवाको आक्रमणबाट घाइते बालिका खतरामुक्त रहेको र आमा सामान्य घाइते रहेको बताए । तनहुँमा दुई वर्षको अवधिमा चितुवाको आक्रमणबाट नौ जनाको मृत्यु भइसकेको छ । गोरखापत्र दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *