स्थानीय सरकारलाई इसाई समाजद्वारा पाँच लाख सहयोग

डिसी नेपाल
३ वैशाख २०७७ १२:५७

सुर्खेत । सुर्खेतका ख्रिष्टियनको छाता सङ्गठन इसाई समाज सुर्खेतले यहाँका स्थानीय सरकारलाई रु पाँच लाख ३० हजार ४०० सहयोग गरेको छ।

कोभिड–१९ को प्रतिकार्य, रोकथाम, नियन्त्रण र समस्यामा परेकाको राहत तथा उपचारका लागि भनेर समाजले यहाँका सातवटा स्थानीय तहमा सहयोग गरेको हो।

इसाई समाजका सुर्खेतका अध्यक्ष रेभ पास्टर पद्म गैरे नेतृत्वको टोलीले नगरपालिकाको विपद् कोषमा जम्मा गरेको रु दुई लाख १० हजार ५०० रकम भौचर आज वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक प्रमुख मोहनमाया ढकाललाई हस्तान्तरण गरेको छ।

सो भौचर ग्रहण गर्दै कार्यवाहक प्रमुख ढकालले सङ्कटका बेला सरकारको सहयात्री भएर हिँड्ने समाजको नेतृत्वप्रति हार्दिक कृतज्ञता प्रकट गरे ।

“यो हाम्रा लागि अमूल्य सहयोग हो । यसको उचित उपयोग, व्यवस्थापन तथा परिचालन गरिनेछ,” उनले भने, “वीरेन्द्रनगर नगरपालिकाले पनि यो अकल्पनीय सङ्कटको समाधानका लागि विभिन्न योजना बनाएर अघि बढेको छ।”

त्यस्तै, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले चर्च, मन्दिर, मस्जिदलगायत धार्मिकस्थलमा भएका भोका, समस्या परेकाहरु भए तिनको विवरण दिएर सहयोग पु-याउन समाजलाई अनुरोध गरे ।

उक्त विवरणका लागि सरकारलाई सहयोग गर्ने भन्दै समाजका अध्यक्ष गैरेले चर्चले विपन्न, गरिब, समस्यामा परेका र केही अपाङ्गता भएका नागरिकलाई चर्चले सहयोग गर्दै आएको बताए ।

त्यस्तै, समाजले सु्र्खेतका अन्य स्थानीय सरकारमा लेकबेसी नगरपालिकालाई रु ६८ हजार, गुर्भाकोट नगरपालिकालाई रु ६५ हजार ९००, भेरीगङ्गा नगरपालिकालाई रु ६० हजार र पञ्चपुरी नगरपालिकालाई रु ५१ हजार सहयोग गरेको उहाँले जनाए ।

त्यसैगरी, बराहताल गाउँपालिकालाई रु ५० हजार र चौकुने गाउँपालिकालाई रु २५ हजार सहयोग गरिएको उनको भनाइ थियो।

अध्यक्ष गैरेका अनुसार मानवीयता बचाउन र सामाजिक दायित्व पुरागर्ने ध्येयले सरकारलाई यहाँका ३१ चर्चको सामूहिक सहयोग भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *