प्रधानमन्त्री ओलीले राजीनामा दिन लागेको भारतीय अखबारको दावी
काठमाडौं। नेपालको सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद बढिरहँदा यो विवादले भारतमा चर्चा पाएको छ । एक भारतीय अखबारले प्रधानमन्त्री केपी ओलीले कोरोना संकटपछि पद छाड्ने दावी गरेको छ । भारतीय दैनिक अखबार अमर उजालाले ‘नेपाल के प्रधानमंत्री केपी ओली कोरोना संकट के बाद छोडेंगे पद, बामदेव और माधव का नाम रेस में’ शीर्षकमा समाचार लेखेको छ ।
अखबारले प्रधानमन्त्री ओलीले लगातार पद छोड्ने दबाबका बीच कोरोना संकटको बहानामा पार्टीसँग केही समय मागेको दावी गरेको छ । नेकपाको सचिवालय र केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री ओलीले आफूले पद छाड्ने बताउँदै बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन माग गरेको समाचारमा दावी गरिएको छ । ओलीले माधव कुमार नेपाललाई पार्टीको आन्तरिक मामिला समाधान गर्ने कमिटीको अध्यक्ष बनाउने प्रस्ताव समेत गरेको समाचारमा दावी गरिएको छ ।
बैठकमा पार्टीका अधिकांश नेपाले प्रधानमन्त्री ओलीलाई पद छाड्न भनेको तर प्रधानमन्त्रीले कोरोनाको गम्भीर संकटका बीच आफूले पद छोड्नु उचित नहुने बताउँदै यो संकट समाधान हुनासाथ आफूले राजीनामा दिने बताएको समाचारमा उल्लेख छ । यद्यपि अखबारले संसद सदस्य नभएको वा चुनाव हारेको व्यक्ति समेत प्रधानमन्त्री हुन सक्ने गरी केही समयअघि संविधान संशोधन गरिएको पनि भनेको छ तर यो सत्य होइन ।
समाचार अनुसार ओलीले बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन सिफारिस गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले माधव नेपाललाई प्रधानमन्त्री बनाउन सिफारिस गरेका थिए । यस्तोमा ओलीले माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउन प्रस्ताव गरेको दावी गर्दै अखबार लेख्छ ‘बताइएको छ कि ओली प्रचण्ड र माधव नेपालको जोडी तोड्न चाहन्छन् ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment