भीम रावलका सुरक्षाकर्मी कोरोना संक्रमित, नारायणकाजीले भने ‘मेरा सुरक्षाकर्मी फिर्ता लैजाउ’

डिसी नेपाल
३१ वैशाख २०७७ १४:१५

काठमाडौं। पूर्व उपप्रधानमन्त्री एवम् सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्ना लागि प्रयोग भइरहेका सुरक्षाकर्मी फिर्ता लिन सरकारसँग आग्रह गरेका छन् । आफ्नो भन्दा राज्यको सुरक्षा प्रमुख रहेको उनको भनाइ छ ।

यद्यपि हिजो मात्र अर्का पूर्व उपप्रधानमन्त्री भीम रावलका पूर्व सुरक्षाकर्मी कोरोनाभाइरस संक्रमण परीक्षणमा पोजेटिभ देखिएका थिए । संक्रमित देखिएका ती सुरक्षाकर्मी रावलको सुरक्षाको लागि फर्किने तयारी गरिरहेको तर संक्रमित पाइएपछि रोकिएको बताइएको छ । यस्तो पृष्ठभूमिमा श्रेष्ठले सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

श्रेष्ठले ट्वीट गर्दै आफूले सुरक्षा खतरा महसुस नगरेको भन्दै सुरक्षाकर्मी फिर्ता लिन आग्रह गरेका हुन्। उनले आफूले कहिल्यै पनि अघिपछि सुरक्षाकर्मी लिएर नहिँडेको पनि बताएका छन्। पूर्वप्रधानमन्त्रीका हैसियतमा उनको सुरक्षामा १० देखि १२ जनासम्म सुरक्षाकर्मी परिचालित छन्।

प्रवक्ता श्रेष्ठले लेखेका छन्, ‘थाहै छ, म पछुवा नियमित प्रयोग गर्दिनँ। मैले आफूलाई सुरक्षा खतरा महसुस गरेको छैन। राज्य संयन्त्रले त्यस्तो आँकलन गरेको छ भने पनि मेरो भन्दा राष्ट्रको सुरक्षा महत्वपूर्ण हुन्छ। त्यसैले राज्यको आवश्यकताका लागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ। यसबाट राज्यलाई अप्ठेरो परेको भए क्षमायाचना।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *