कोरोना निको पार्ने एन्टिबडी बनाएको दावी गर्ने कम्पनीको शेयर मूल्यमा २४४ प्रतिशत उछाल
काठमाडौं। कोरोनाभाइरस निको पार्न सक्ने एन्टिबडी बनाएको दावी गर्ने अमेरिकी कम्पनी सोरेन्टो थेराप्युटिक्सको शेयर मूल्यमा भारी उछाल आएको छ । कम्पनीले एन्टिबडी आविष्कार गरेको दावी गरेको २४ घण्टा नबित्दै कम्पनीको शेयर मूल्यमा २४४ प्रतिशत उछाल आएको बिजनेश इनसाइडरले लेखेको छ । शुक्रबार मात्र कम्पनीले आफ्नो विकास गरेको एन्टिबडी कोरोनाभाइरसविरुद्ध प्रि–क्लिनकल अध्ययनमा शत प्रतिशत सफल रहेको दावी गरेको थियो ।
अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएकोमा रहेको यो कम्पनीले शुक्रबार जारी गरेको वक्तव्यमा आफूले सार्स सीओभीविरुद्ध प्रतिरक्षात्मक कवचको रुपमा काम गर्ने एन्टिबडी विकास गर्ने योजनाअनुसार यो एन्टिबडी विकसित गरेको भनेको थियो । कम्पनीले नियामक निकायलाई आफूले विकास गरेको एन्टिबडीको द्रुत परीक्षणका लागि नियामक निकायलाई आग्रह गर्ने जनाएको छ ।
यदि क्लिनिकल अध्ययनमा यो सफल भएमा कम्पनीले यसको ठूलो परिमाणमा उत्पादनको लागि सरकारको सहयोग र कुनै फार्मास्युटिकल कम्पनीसँग साझेदारी गर्न पाउने अपेक्षा गरिएको जनाएको छ । कम्पनीको यो दावीसँगै यसको शेयर मूल्यमा भारी उछाल आएको छ । बिहीबार शेयर मार्केट बन्द हुँदा यो कम्पनीको मूल्य ५४९ मिलियन डलर थियो । यसले एन्टिबडी विकास गरेको दावीको समाचार आएसँगै शेयर मूल्यमा भारी उछाल आएर १.९ बिलियन डलर पुमेको छ । यो भनेको अघिल्लो दिनको मूल्यको तीन गुणाभन्दा बढी हो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment