सप्तकोसीमा पानीको बहाव बढ्यो, ५० बिघामा लगाएको तरकारी नष्ट

डिसी नेपाल
१५ जेठ २०७७ १०:४८

काठमाडौं। विगत केही दिनदेखि परेको वर्षाका कारण सप्तकोसीमा पानीको वहाव बढेसँगै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा तरकारीमा क्षति पुगेको छ। सप्तकोसीको पानीले स्थानीयले लगाएको तरकारी डुवेपछि किसान चिन्तित बनेका छन्।

करिब पचास बिघा जग्गामा लगाएको तरकारी खेती जलमग्न भएपछि स्थानीय कृषक समस्यामा परेको स्थानीय रोहन पोखरेलले बताए। ‘किसानले सप्पकोसी बगरमा तारभुजा, खरबुजा, लौका, फर्सी, काँक्रा, गोडभेडाको खेती गरेका थिए,’ उनले भने, ‘अहिले निरन्तरको बर्षाको कारण सप्तकोसीमा पानीको सहत बढेपछि तरकारी खेती सबै डुबानमा परेको छ।’

स्थानीय कृषक छोटेलाल राउतको आठ विघामा लगाएको तरकारी खेती पनि सप्तकोसीको पानीले डुबानमा परेको छ। ‘दिनरात मेहेनत गरेर लगाएको बगर खेतीले पीडा दियो,’ उनले भने, ‘साहुसँग लिएको दश लाख ऋण कहाँबाट ल्याएर तिर्नु? हामी त बर्बाद भयौं। अहिलेसम्म बच्चालाई जस्तै हुर्काएको खेती अहिले आएर जलमग्न भयो।’

आफ्नो सात बिघामा तरकारी खेती गरेका कृषक बासुदेब मुखियाले लकडाउनको कारण तरकारी व्यवस्थापन गर्न नसकिएकाले यो समस्या आएको बताए। ‘लकडाउन भयो। यतिबेलासम्म धेरै तरकारी बिकिसक्नु पर्ने हो। लकडाउन त गर्यो, तर सरकारले हाम्रो व्यवस्थापन गर्न सकेन। अहिलेसम्म केही तरकारी बेच्न सकेको भएपनी ज्याला उठ्ने थियो। अहिले बर्बाद भयो।’

उनीसँगै बगरे बाली गरेका अन्य कृषकले भावुक बन्दै भने, ‘हामीले कहाँबाट ल्याएर ऋण तिर्ने, तरकारी बेच्ने बेलामा बाढी आयो। हामीलाई सरकारले क्षतिपूर्तिको व्यवस्था गरिदिनुपर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *