भारतीय संचारमाध्यमको समाचारप्रति नेपाली सेनाको कडा आपत्ति

डिसी नेपाल
१६ जेठ २०७७ ९:४६

काठमडौं। नेपाली सेनाले केही भारतीय सञ्चारमाध्यममा प्रकाशित खबरप्रति आपत्ति जनाएको छ । हिन्दुस्तान टाइम्समा शिशिर गुप्ताद्वारा लिखित ‘In huge setback to PM Oli, Nepal’s new political map hits a roadblock’ शिर्षकको तथा tfipost.com मा अक्षय नारङ्गद्वारा लिखित समाचार भ्रामक र काल्पनिक रहेको नेपाली सेनाले जनाएको हो ।

नेपाली सेनाले एक विज्ञप्ती जारी गर्दै समाचारप्रति ध्यानाकर्षण भएको र यी समाचार भ्रामक दुराशयपूर्ण काल्पनिक र निराधार रहेको स्पष्ट पारेको हो । नेपाली सेनाले यी समाचारले दुई मित्र राष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्याउने उद्देश्यबाट प्रेरित रहेको पनि जनाएको छ ।

राष्ट्रिय एकता थप बलियो बनाउनुपर्ने अहिलेको बेलामा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने मनसायले फैलाइएको यस्ता अफवाहहरुमा विश्वास नगर्न आम पाठक तथा स्वाभिमानी नेपाली नागरिकलाई सेनाले अनुरोध गरेको छ ।

नेपाली सेना नेपालको संविधान अनुरुप नेपाल सरकारबाट प्राप्त वैधानिक निर्णय र निर्देशन पालना गर्न सधैँ कटिबद्ध रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै विज्ञप्तिमा आगामी दिनहरुमा समेत विभिन्न माध्यमबाट नेपाल, नेपाली नागरिक र नेपाली सेनासम्बन्धी यस्ता अफवाह फैलाउने प्रयास हुनसक्ने भएकाले सचेत र सजग रहन नेपाली सेनाले अनुरोध पनि गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *