कोरोना कहर : जो गाउँ पुगे, तर आँगन टेक्न पाएनन्

डिसी नेपाल
२६ जेठ २०७७ ८:१३

काठमाडौं। प्रदेश ५ मा कोरोना संक्रमणबाट अहिलेसम्म चारजनाको ज्यान गएको छ। ती चारैजनामा मृत्युपछि मात्र कोरोना पुष्टि भएको हो।

कोरोनाबाट प्रदेशका बाँके, पाल्पा, अर्घाखाँची र गुल्मीका एक एकजनाको ज्यान गएको खबर आजको नागरिक दैनिकमा रेखा भुसाल, नगेन्द्र उपाध्याय र गणेश विशुले लेखेका छन्।

मृत्यु हुनेमध्ये गुल्मीका एक शिक्षकबाहेक अन्य तीनजना भारतबाट आएका हुन्। कोरोनाबाट सुरक्षित रहने आसमा देश फर्केका तीनजनाले आफ्नो घरको आँगन भने टेक्न पाएनन्।

तीनजनामध्येका एक हुन अर्घाखाँची भूमिकास्थान नगरपालिका ९ का कृष्ण। गएको दसैंमा घर आएका उनी कोजाग्रत पूर्णिमालगत्तै भारत फर्किएका थिए। वैशाखमा १५ दिनको छुट्टी मिलाएर घर फर्कने योजना लकडाउनले सफल भएन।

गुजरातको अहमदाबादस्थित एक होटलमा काम गर्ने उनी कोरोना जोखिम बढदै जाँदा बेरोजगार भए। उनलाई केही दिन साहुले पाले, केही दिन उनी आफूसँग भएको पैसाले पालिए।

बेखर्ची र बेरोजगार भएपछि कयौं दिन अरुले दिएको आधा पेट खाएर बसे। सडकको बास भयो। भारतमा लकडाउन केही खुकुलो भएपछि अलपत्र परेका नेपाली मिलेर गाडी रिजर्भ गरे। त्यसमा उनी पनि थिए। जेठ ६ गते अहमदाबादबाट हिँडनुअघि उनले पत्नीलाई फोन गरे।

‘हामी यहाँबाट गाडी रिजर्भ गरेर हिँड्दैछौं। चिन्ता नलिनु, चार दिनमा घरै आइपुग्छु,’ पतिसँगको फोनवार्ता उद्धृत गर्दै पत्नी सीताले भनिन्, ‘उहाँले फोनमा त्यसो भनेपछि मेरो मन हल्का भयो। उहाँले घर आउँदैछु भन्दा मलाई संसारै जिते जस्तो भयो।’ कृष्णकी ७ वर्षकी छोरीले त भेटेका सबैसंग बाबाले चकलेट र जामा ल्याइदिनुहुन्छ भनेर सुनाउँदै हिँडिन्।

‘भोलि बाह्रबजेसम्म घर आइपुग्छु, चिन्ता नलिनु’ भनेर अन्तिमपटक जेठ १० गते बिहान पत्नीलाई फोन गरेका कृष्ण त्यसै दिन दिउँसो प्रवासमै ढले। बिहानसम्म सामान्य रहेका कृष्णले दिउँसो एकाएक आफूलाई औडाहा भएको साथीहरूलाई बताएका थिए। तारन्तार बन्ता भएपछि उनी गल्दै गए। भारतीय बजार बढौनी नजिकै आइपुग्दा बसभित्रै ढले उनी।

जुन दिन कृष्णले घर आइपुग्छु भनेर पत्नीलाई भनेका थिए, त्यसै दिन उनी जन्मभूमि त फर्किए तर शव बाहनमा। त्यो पनि प्लास्टिकमा बेरिएर।

पतिलाई टाढैबाट हेर्न क्वारेन्टिन जाने योजना बनाएकी सीतालाई मृत्युको खबर सुनाइयो। २६ वर्षमा हिँड्दै गरेकी सीतालाई त्यो खबर सुनेपछि आफूले टेकेको धर्ती फाटेझैं भयो। उनले भनिन्, ‘छोरीले मेरो बाबा किन आउनु हुन्न आमा भनेर सोध्छिन्। भगवान्कहाँ जानु भयो भनेर सम्झाउँछु। हामी पनि त्यहीं जाम न भन्छिन्। म अवाक छु, के भनेर सम्झाऊँ अब।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *