बाढी–पहिरोबाट ३० लाख मानिस प्रभावित हुनसक्ने अनुमान
फाइल फाेटाे।
काठमाडौं। बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट ३० लाख मानिसहरु प्रभावित हुनसक्ने आकलन गरिएको छ। मनुसन शुरु भएपछि गृह मन्त्रालयअन्तर्गतको विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको एक अध्ययन अनुसार ३० लाख मानिसहरु प्रभावित हुनसक्ने जनाएको हो।
सरकारको अध्ययन अनुसार साउनमा सबैभन्दा बढी क्षति हुने आकलन गरिएको छ। गत वर्षहरुको तथ्यांक हेर्दा पनि साउन महिनामा बढी क्षति भएको देखाउँछ। यो वर्ष साउनको मध्यतिर पहाडी र तराई भेगमा डुवान हुने र भदौंको पहिलो सातादेखि बाढी–पहिरो कम हुने आकलन गरिएको छ।
यो वर्ष बाढी तथा डुवानका कारण १२ लाख ५० हजार, पहिरोका कारण २ लाख ५० हजार र पानीजन्य अन्य घट्नाबाट १५ लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ।
उच्च पहाडी क्षेत्रमा पहिरो जाने तराइमा बाढी आउने र डुवान हुने भएकाले प्राधिकरणले सबैलाई सचेत रहन आग्रह गरेको छ। सरकारले जोखिम क्षेत्र पहिचान गरे पनि त्यस क्षेत्रका स्थानीयलाई अन्तै सार्ने, सूचना प्रवाह गर्ने र स्थानीय सरकारलाई यसतर्फ बढी चनाखो हुन आग्रह गर्नेजस्ता कार्य गर्न थालेको छ।
प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद्जन्य घट्ना कम गर्नका लागि प्राधिकरण चौतर्फी ध्यान दिएको बताए। उनले केही दिनअघि सिन्धुपाल्चोकमा बाढी पहिरो जानुभन्दा तीन दिनअघि नै स्थानीयलाई सचेत रहन आग्रह गरेकाले कम क्षति भएको दावी गरे। ‘अहिले हामीले बाढी पहिरो सम्भावित क्षेत्रमा धेरै नै सूचना र जानकरी प्रवाह गरेका छौं ,’ उनले भने। कार्यकारी प्रमुखका अनुसार बाढी पहिरो शुरु भएयता सम्भावित क्षेत्रमा पच्चिस लाख मानिसहरुको मोबाइलमा पूर्व जानकारी दिन एसएमएस पठाइएको छ।
यसबाहेक स्थानीय भाषामा सूचना प्रशारण गरेको पोखरेलले जानकारी दिए। उनले प्राधिकरणको ७७ वटै जिल्लामा रहेका जिल्ला आपकालीन कार्य सञ्चालन केन्द्रलाई तयारीका साथ रहन आग्रह गरेको बताए।
यसैगरी बाढी पहिरोजन्य क्षतिलाई कम गर्नका लागि सरकारले १५ हजार तालिमप्राप्त सुरक्षाकर्मी परिचालन गरेको छ। प्राधिकरणसँगको समन्वयमा गृहले तीनवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरी परिचालन गरेको हो।
जसमा विपद् जोखिमको तालिम प्राप्त ३ हजार १ सय नेपाली सेना, ससस्त्र ३ हजार ५ सय ससस्त्र प्रहरी र ७ हजार ५ सयभन्दा बढी नेपाल प्रहरी परिचालन गरेको प्राधिकरणका कार्यकारी प्रमुख पोखरलले जानकारी दिए। उनले जोखिमको बेला परिचालन गर्नका लागि १२ वटा हेलिकोप्टर पनि तयारी अवस्थामा राखेको र आवश्यकता परेको बेला प्रयोग गरिने बताए । ‘हामीले सक्दो पूर्व तयारी गरेका छौं, राज्यका अन्य निकायले पनि त्यसमा साथ दिइरहेका छन्,’ उनले भने।
उनका अनुसार बाढी पहिरो तथा विपद् जन्य घट्ना उद्धारका लागि तालिमप्राप्त शसस्त्र प्रहरी र आवश्यकता अनुसार नेपाली सेना र प्रहरी पनि जोखिम क्षेत्रमा खटाइएको छ। गृहमन्त्रालयले स्थानीय युवाहरुलाई पनि जोखिम क्षेत्रमा खटिन आग्रह गरेको छ ।







डिसी नेपाल








Facebook Comment