सोफियाको ‘नो व्रत’ र पुरुष सत्ता

डिसी नेपाल
११ साउन २०७७ ८:००
116
Shares

गत वर्ष गायक दुर्गेश थापा उनको गीत ‘ह्यापी तिहार, चिसो बियर’ ले तिहारको मर्मको अपमान गरेको अभियोगमा थुनामा परे।

यसै पनि वाक् स्वतन्त्रताबारे निकै बहस चलिरहेको बेला एउटा गीत गाएकै कारण थापा थुनामा परेपछि सामाजिक संजालमा एक लोकतान्त्रिक देशमा तानाशाही शैली मौलाएको भनेर सरकारको चर्को विरोध पनि भयो। नेपाली जनतामा लोकतान्त्रिक मूल्य मान्यताबारे जागरुकता भएको देख्दा स्वतन्त्रता प्रेमी सबैलाई खुसी पनि लागेको थियो।

यो वर्ष भने अलि फरक घटनाक्रम देख्न पाइयो। गायिका सोफिया थापाको गीत ‘अबको तीज, नो व्रत प्लिज’ ले सरकारको ध्यान त खिचेन तर जनतालाई भने तानाशाहीतन्त्रको कमी महसुस हुन पाएन।

धर्मका ठेकेदार तथा आफूलाई नारीवादी सनातन धर्मका अनुयायी भन्ने मानिसलाई महिला–पुरुष बराबरी भनिएको गीत मन परेन। युट्युबमा राखेको केही समयपछि नै तुच्छगाली बेइज्जति, ज्यान मार्नेसम्मका धम्कीका कारण उनी त्यो गीत हटाउन बाध्य भइन्। केही महिना अगाडिमात्र वाक् स्वतन्त्रताको निकै ख्याल गर्ने मानिसमा सामान्य सभ्यता पनि हराएको देखियो।

यो गीतमा सोनियाले के गलत भनिन्? जसले गर्दा उनलाई धर्म विरोधी भनी धम्क्याउनु परोस्? उनलाई महिला पुरुष बरावरी हुन्, खुट्टाको पानीनखाऊँ भन्ने गीत गाउन नदिने घटनाबाट हाम्रो समाजले पुरुष सत्तालाई यसरी स्वीकार गरिसक्यो कि हामीलाई यो सामान्य लाग्न थालिसक्यो।

कसैले स्थापित पुरुष सत्तालाई चुनौती दियो भने हाम्रो समाज त्यसलाई धर्म र आस्थाप्रति भएको आक्रमणको रुपमा चित्रण गर्छ। ‘पिंजडामा जन्मिएको चराले उड्नुलाई रोग ठान्दछ’ भनेझैं हामीलाई हाम्रो विभेदकारी समाज नै प्यारो भैसक्यो किनकि हामीलाई यो पिंजडा बाहिर के छ भन्ने हेक्का नै छैन।

समावेशी र मानव अधिकार सुनिश्चित गर्ने संस्कृतिलाई कसैले बचाउन दुख गर्न पर्दैन र विभेदपूर्ण चालचलनलाई जति धम्काए, तर्साए पनि कसैले लामो समय जोगाउन सक्दैन। त्यस्तै अहिले धेरैलाई सामान्य लागेपनि पछि ज्ञान र चेतना बढे सँगै श्रीमानको लागि व्रत बस्ने र गोडाको पानी खाने जस्ता चलनलाई भावी पुस्ताले एक विभेदकारी चलनको रुपमा हेर्नेछ र त्यो चलन अन्त्य भएकोमा खुसी पनि मान्नेछ।

एक पटक आफ्नो गलत संस्कारको धङ्धङीलाई पर राखेर सोचौं, खुट्टा धोएको पानी कसैलाई खुवाउनु कति सम्मको हेपाहा प्रवृति हो? एक जना गरिब किसानलाई गाउँको मुखियाले वर्षको एक पटक आफ्नो खुट्टा धोएको पानी खान लगायो भने हामी त्यसलाई कुन रुपमा लिनेछौं?

तर यदि त्यही प्रवृति त्यो मुखियाले शास्त्र र नियमको रुपमा स्थापित गर्यो भने पछिका पुस्ताहरुलाई त्यो कुरा सामान्य लाग्न थाल्छ र कसैले त्यस बिरुद्ध आवाज उठायो भने त्यो मान्छेलाई गरिबहरुले नै धर्म विरोधी पागलको संज्ञा दिन्छन्। अहिले सोफिया थापा त्यही पागल मान्छे भएकी छिन्।

धार्मिक मर्यादाकै कुरा कसैले गर्छ भने दुर्गेश थापाको गीतले पनि त्यो पालना गरेको थिएन मात्र होइन पुरुष अहंकारसहित गलत सन्देश दिएको थियो। तर उनको गीतले समाजमा स्थापित प्रणालीलाई चुनौती नि दिएन र पुरुष भएको कारण तिहारमा रक्सीको गीत गाएतापनि उनको गीतलाई धेरै मानिसले वाक् स्वतन्त्रताको नाममा स्वीकार पनि गरे।

यदि सोही गीत कुनै महिलाले गाएको भए ती महिलाले कति गाली बेइज्जति सहनु पर्थ्यो होला, हामी सजिलै अनुमान लगाउन सक्छौं। विगत केही वर्षदेखि तीजको गीतका नाममा युट्युबमा भ्युज्को लागि अस्लीलता र छाडापन प्रदर्शनी गर्ने जमातको कमी छैन।

के तिनीहरुले तीजको मर्यादा पालना गरेका छन् त? के यी धर्मका ठेकेदारहरु त्यस्ता गीतहरु विरुघ सोफिया थापा विरुद्ध जसरी खनिए? यिनको नजरमा अस्लीलता भन्दा सामाजिक रुपान्तरणका कुरा बढी घातक देखिनु निकै खेदपूर्ण विषय हो।

हुन त रुढिवादी हेपाहा प्रवृत्ति विरुद्ध बोलेको कारण कुनै महिलाले गाली बेइज्जति सहनु परेको यो पहिलो घटना होइन। केही महिना अगाडि एक अनलाइन समाचार पोर्टलमा अभिनेत्री स्वस्तिमा खड्का र पूर्व मिस नेपाल श्रृंखला खतिवडाले महिनावारी हुँदा आफ्नो घरमा बार्ने चलन छोडेको भनेको भिडियोहरु सामाजिक संजालमा आउँदा कमेन्ट सेक्सनमा पढ्नै घिन लाग्दा शब्दहरु लेखिएका थिए।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गर्दा नातावाद र डिप्रेसनको बारेमा निकै बोलेका मानिसले अभिनेत्री सम्राज्ञी शाहले आफूले काममा भोग्नु परेको दुर्व्यवहारको बारेमा बोल्दा उल्टै उनकै चरित्रमाथि धावा बोले, किनकि उनले एक स्थापित पुरुष विरुद्ध बोलिन।

शिवरात्रिको दिन नाँगा बाबाहरुले सबैको अगाडि गर्ने लिंग प्रदर्शन स्वीकार गरेको समाजले एकजना सरकारी महिला कर्मचारीलाई कुरै नबुझी पहिरनको आधारमा मानसिक तनाव हुने गरी सामाजिक संजालमा गालीगलौज गर्यो।

यदि उनले कुर्ता लगाएको भए अथवा उनको साटो कोही पुरुष थियो भने लुगाको विरोध त के, ‘सरकारी सम्पत्तिको दुरुपयोग’ भन्ने कुरा पनि आउँथेन। किनकि उनी चढेको त्यो मोटरसाइकलमा त्यो फोटो खिच्ने मान्छेको ध्यानै जान्थेन।

नारीको इजजत गर्न जानेको भए तीजको मर्यादा जोगाउने सेना पहिला ‘मालहान्छु’ जस्ता शब्द भएका गीतहरुका विरुद्ध लाग्थे होला। नारीवादी धर्मको खोक्रो खोल ओढ्नेहरु परेको बेला महिला अधिकारको बारेमा बोल्न सक्दैनन्।

गीत मनै नपरे पनि एक महिलालाई तुच्छ गालि र धम्किन दिऔ भन्न सक्दैनन्। आफ्नो धर्ममा भगवान मानिने एक नारीलाई दिन दहाडै एसिडले आक्रमण गरिदा यी धर्मको ठेक्का लिएका संस्थाले एउटा विरोध विज्ञप्ति समेत निकाल्न सक्दैनन्।

कुनै संस्कृति र चालचलन कुनै समय विवादित हुनु भनेको त्यो चलन समय अनुरुप नभएको एउटा चिन्ह हो र कुनै कुरीति आजको भोलि हट्ने पनि होइन। धेरै राजा रानी तथा बुद्धिजिविको विरोध हुँदाहुँदै पनि अन्धविस्वास र अज्ञानको कारण हट्न नसकेको सतिप्रथा समय अनुकुल नभएका कारण अन्तत चन्द्र शमशेरले समाप्त गरेका थिए। कुनै बेला पश्चिमी पहाडी क्षेत्रमा सबैले मानेको छाउपडी प्रथा समय अनुकुल नभएको कारण नै अहिले अन्त्य हुने अवस्थामा पुग्न थालेको छ।

समावेशी र मानव अधिकार सुनिश्चित गर्ने संस्कृतिलाई कसैले बचाउन दुख गर्न पर्दैन र विभेदपूर्ण चालचलनलाई जति धम्काए, तर्साए पनि कसैले लामो समय जोगाउन सक्दैन। त्यस्तै अहिले धेरैलाई सामान्य लागेपनि पछि ज्ञान र चेतना बढे सँगै श्रीमानको लागि व्रत बस्ने र गोडाको पानी खाने जस्ता चलनलाई भावी पुस्ताले एक विभेदकारी चलनको रुपमा हेर्नेछ र त्यो चलन अन्त्य भएकोमा खुसी पनि मान्नेछ।

पराजुली काठमाडौं विश्वविद्यालयमा वायोटेक्नोलोजी विषयमा स्नातकोत्तरका विद्यार्थी हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *