निम्सदाइ र ‘असम्भव केही छैन’ भन्ने जीवनदर्शन
३० जुलाई २०२६ मा पाकिस्तानको ‘ब्रड पिक’ हिमालमा आएको विनाशकारी हिमपहिरोले विश्व पर्वतारोहण समुदायलाई गहिरो शोकमा डुबायो। उक्त दुर्घटनामा कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाई’ सहित १० जना पर्वतारोहीले ज्यान गुमाए।
यो केवल एउटा दुःखद दुर्घटना मात्र थिएन; यसले विश्व पर्वतारोहण क्षेत्रका अनुभवी, समर्पित र उच्च व्यावसायिक दक्षता भएका व्यक्तित्वहरूलाई एकैपटक खोसेको पीडादायी क्षणका रूपमा इतिहासमा स्थान बनायो।
इतिहासले धेरै विजेताहरूलाई उनीहरूले बनाएका कीर्तिमानका आधारमा सम्झन्छ। तर विरलै यस्ता व्यक्तित्व जन्मन्छन्, जसले एउटा राष्ट्रले आफ्नै सम्भावनालाई हेर्ने दृष्टिकोण नै बदलानिदिन्छन्।
निर्मल पुर्जा अर्थात् ‘निम्सदाई’ त्यस्तै दुर्लभ व्यक्तित्व थिए। उनले केवल विश्वका सर्वोच्च हिमालहरू आरोहण गरेनन्; नेपाली नेतृत्व, साहस र क्षमतामाथिको विश्वव्यापी दृष्टिकोणलाई नयाँ उचाइमा पुर्याए।
नेपाल विश्व पर्वतारोहणको केन्द्र हो। संसारका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये आठ वटा नेपालमै अवस्थित छन्। दशकौँदेखि विश्वका उत्कृष्ट पर्वतारोहीहरू यहाँ आउँदै आएका छन्।
नेपाली शेर्पा, उच्च हिमाली पथप्रदर्शक (गाइड) तथा सहयोगीहरूको साहस, अनुभव र अद्वितीय सीपबिना आधुनिक पर्वतारोहणको इतिहास नै कल्पना गर्न सकिँदैन। तर लामो समयसम्म अन्तर्राष्ट्रिय पर्वतारोहणको प्रमुख कथामा विदेशी आरोहीहरू मात्र नायकाकार रूपमा प्रस्तुत हुन्थे भने नेपालीहरू पर्दापछाडिका सहयोगीका रूपमा सीमित राखिन्थे।
शिखरसम्म पुग्ने गौरव धेरैजसो विदेशी अभियानले पाउँथ्यो, जबकि बाटो बनाउने, डोरी टाँग्ने, भारी बोक्ने, जोखिम उठाउने र अभियान सफल बनाउने नेपालीहरूको योगदान अपेक्षाकृत ओझेलमै रहन्थ्यो।
निर्मल पुर्जाले यही स्थापित भाष्यलाई चुनौती दिए। उनले संसारलाई देखाए कि नेपालीहरू केवल उत्कृष्ट सहयोगी मात्र होइनन्, उनीहरू विश्वकै कठिन हिमाली अभियानको योजना बनाउन, नेतृत्व गर्न, व्यवस्थापन गर्न र इतिहास रच्न पनि उत्तिकै सक्षम छन्।
यही कारण उनको कथा एउटा सफल पर्वतारोहीको जीवनी मात्र होइन; यो नेपाली आत्मविश्वास, नेतृत्व र राष्ट्रिय पहिचानको पुनर्स्थापनाको कथा पनि हो।
गोर्खा सैनिकदेखि जल-थल विशेष सेवासम्म
निर्मल पुर्जाको जन्म २५ जुलाई १९८३ मा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका-३, दाना गाउँमा एक सामान्य मगर परिवारमा भएको थियो। करिब चार वर्षको हुँदा उनको परिवार चितवन बसाइँ सरेको थियो।
आर्थिक रूपमा अत्यन्त सीमित स्रोत भएको परिवारमा हुर्किएका उनले बाल्यकालमै अभाव, संघर्ष र सामाजिक विभेदको अनुभव गरे। उनका बुबा बेलायती गोर्खा सैनिक थिए भने आमा कृषिकर्ममा संलग्न थिइन्। भिन्न जातका कारण आमाबुबाको विवाहलाई परिवारले सहज रूपमा स्वीकार नगरेकाले केही समय उनीहरूको परिवार सामाजिक रूपमा एक्लो हुनुपरेको थियो।
निर्मल पुर्जाले विभिन्न अन्तर्वार्तामा आफ्नो बाल्यकाल अत्यन्त कठिन रहेको बताएका छन्। आर्थिक अभावका कारण कहिलेकाहीँ लगाउने चप्पलसमेत नहुने अवस्था थियो। पछि उनका तीनै जना दाजुहरू गोर्खा सैनिक बनेपछि परिवारको आर्थिक अवस्था विस्तारै सुधारियो।
दाजुहरूको सहयोगले नै उनले तुलनात्मक रूपमा राम्रो विद्यालयमा अध्ययन गर्ने अवसर पाए। यही परिवेशले अनुशासन, आत्मनिर्भरता, कडा परिश्रम र राष्ट्रसेवाप्रतिको सम्मान उनको व्यक्तित्वमा सानैदेखि गहिरो रूपमा विकास गरायो।
सन् २००३ मा उनी बेलायती सेनाको ‘क्विन्स गोर्खा इन्जिनियर्स’ मा भर्ती भए। संसारकै कठिन सैन्य छनोट प्रक्रिया पार गरेर गोर्खा सैनिक बन्नु आफैँमा असाधारण उपलब्धि थियो। तर निर्मल पुर्जा त्यसमै सीमित रहने व्यक्ति थिएनन्।
उनले त्यसपछि बेलायती नौसेनाको संसारकै प्रतिष्ठित र अत्यन्त कठिन विशेष सैन्य एकाइ ‘स्पेशल बोट सर्भिस’ (जल-थल विशेष सेवा) मा प्रवेश गर्ने लक्ष्य राखे र अन्ततः २०० वर्षको इतिहासमा त्यसमा छनोट हुने पहिलो गोर्खा सैनिक बने।
यस विशेष सेवामा सफलता प्राप्त गर्नु केवल शारीरिक क्षमताको विषय मात्र थिएन। त्यहाँ मानसिक दृढता, चरम दबाबमा निर्णय गर्ने क्षमता, जोखिम व्यवस्थापन, सीमित स्रोतको अधिकतम उपयोग, समयको सूक्ष्म व्यवस्थापन र टोली नेतृत्वको कठोर परीक्षा हुन्थ्यो। यही वातावरणले निर्मल पुर्जालाई केवल उत्कृष्ट सैनिक मात्र होइन, असाधारण नेतृत्वकर्ता पनि बनायो।
त्यहाँ उनले सिकेका केही सिद्धान्तहरू पछि हिमालमा उनको सफलताको आधार बने:
लक्ष्यभन्दा ठूलो कुनै बहाना हुँदैन।
सङ्कटको घडीमा भावनाभन्दा स्पष्ट निर्णय महत्त्वपूर्ण हुन्छ।
समय नै सबैभन्दा मूल्यवान् स्रोत हो।
उत्कृष्ट टोलीबिना असम्भव लक्ष्य हासिल हुन सक्दैन।
नेतृत्व भनेको आदेश दिनु होइन, उदाहरण प्रस्तुत गर्नु हो।
यी सिद्धान्तहरू नै पछि उनको सम्पूर्ण पर्वतारोहण दर्शनको मेरुदण्ड बने।
सुरक्षित भविष्य कि असम्भव सपना?
निर्मल पुर्जाको जीवनको सबैभन्दा निर्णायक मोड कुनै हिमालको चुचुरोमा होइन, एउटा सङ्कल्पमा निहित थियो।
विशेष सैन्य सेवामा रहँदा उनीसँग मान-सम्मान, स्थिर आम्दानी, आकर्षक सुविधा र सुरक्षित भविष्य थियो। धेरै मानिसका लागि त्यस्तो जीवन अन्तिम लक्ष्य हुन सक्थ्यो। तर उनले आफ्नै जीवनलाई एउटा कठिन प्रश्न सोधे, “यदि आफ्नै सम्भावनाको सीमा कहिल्यै परीक्षण गरिएन भने सुरक्षित जीवनको अर्थ के हुन्छ?”
सन् २०१२ मा सैनिक बिदाका क्रममा उनी पहिलो पटक सगरमाथा आधार शिविर पुगे। त्यही यात्रामा उनले लोबुचे इस्ट हिमाल आरोहण गर्ने अवसर पाए। यही अनुभवले उनको जीवनको दिशा नै परिवर्तन गरिदियो। हिमालमा उनले केवल उचाइ मात्र देखेनन्, आफ्नै अर्को असीम सम्भावना पनि भेटे।
त्यसपछि उनले क्रमशः सगरमाथासहित विभिन्न कठिन हिमालहरू आरोहण गर्न थाले। प्रत्येक सफलतासँगै एउटा विश्वास बलियो हुँदै गयो-सैनिक जीवनले सिकाएको अनुशासन, रणनीति, नेतृत्व र समय व्यवस्थापनलाई हिमालमा पनि सफलतापूर्वक लागू गर्न सकिन्छ।
हिमालमा सफलता केवल साहस वा अनुभवको परिणाम मात्र होइन; यो उच्च उचाइमा मानव शरीरले गर्ने जैविक अनुकूलनको कठोर परीक्षा पनि हो।
समुद्री सतहबाट ८,००० मिटरभन्दा माथिको क्षेत्रमा वायुमण्डलीय अक्सिजनको आंशिक चाप उल्लेखनीय रूपमा घट्ने भएकाले शरीरमा न्यून अक्सिजनको अवस्था (हाइपोक्सिया) उत्पन्न हुन्छ। यस्तो अवस्थामा शरीरले रातो रक्तकणको उत्पादन बढाउने, श्वासप्रश्वासको दर परिवर्तन गर्ने र ऊर्जाको उपयोग गर्ने तरिकामा जैविक अनुकूलन सुरु गर्छ।
साथै, अत्यधिक चिसो, तीव्र हावा र न्यून तापक्रमका कारण शरीरको तापीय सन्तुलन कायम राख्नु अर्को ठूलो चुनौती हुन्छ। अक्सिजनको कमी र सीमित ऊर्जा उपलब्धताले शरीरमा ताप उत्पादन गर्ने क्षमता घटाउन सक्छ, जसले अस्वाभाविक शीतलहर (हाइपोथर्मिया), अङ्गहरू जम्ने समस्या (फ्रोस्टबाइट) तथा मांसपेशीको कार्यक्षमतामा प्रतिकूल प्रभाव पार्छ।
त्यसैले उपयुक्त तहगत पोशाक प्रणाली, पर्याप्त ऊर्जा तथा जलसञ्चार (हाइड्रेसन), र मौसमअनुकूल रणनीति सफल हिमाली अभियानका अत्यावश्यक वैज्ञानिक आधार मानिन्छन्।
खेल विज्ञानका दृष्टिले हेर्दा उच्च अक्सिजन खपत क्षमता (भीओटु म्याक्स), उत्कृष्ट हृदय-श्वासप्रश्वास क्षमता र दीर्घकालीन सहनशीलता यस्ता अभियानका आधारभूत जैविक पूर्वसर्त हुन्।
सैनिक जीवनमा विकास भएको उनको असाधारण शारीरिक क्षमता, अनुशासन र मानसिक दृढताले यी बहुआयामिक शारीरिक चुनौतीहरूसँग जुध्न महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ।
अन्ततः सन् २०१८ मा उनले संसारकै प्रतिष्ठित सैन्य करिअर त्यागेर पूर्णकालीन पर्वतारोहणमा समर्पित हुने निर्णय गरे। यो केवल पेसा परिवर्तन थिएन; सुरक्षित भविष्यलाई अनिश्चित सपनाका लागि दाउमा लगाउने साहसिक कदम थियो।
पछि आफ्ना महत्त्वाकांक्षी हिमाली अभियानहरू सञ्चालन गर्न उनले बेलायतस्थित आफ्नै घर धितो राखे र अन्ततः बेच्नुपर्ने अवस्था पनि आयो। तर उनका लागि सुरक्षाभन्दा ठूलो कुरा आफ्नो उद्देश्य थियो।
‘असम्भव केही छैन’ : जीवनदर्शन
आज “Nothing Is Impossible” (असम्भव केही छैन) भन्ने वाक्यांश निम्सदाईको मुख्य परिचय बनेको छ। तर उनका लागि यो केवल प्रेरणादायी नारा मात्र थिएन; यो सम्पूर्ण जीवनलाई मार्गदर्शन गर्ने दर्शन थियो।
उनले सुरक्षित सैनिक पेसा त्यागे, आफ्नै सम्पत्ति जोखिममा राखे र संसारका अनुभवी पर्वतारोहीहरूले असम्भव भनेको लक्ष्य सार्वजनिक रूपमा घोषणा गरे। अनि अन्ततः त्यसलाई पूरा गरेरै छाडे।
उनको जीवनले एउटा गहिरो सत्य सिकाउँछ-असम्भव भन्ने शब्द धेरैजसो वास्तविकताको सीमा होइन, हाम्रा सोचको सीमा हो।
यही विश्वासले केही वर्षपछि एउटा गोर्खा सैनिकलाई विश्व कीर्तिमानी पर्वतारोही मात्र बनाएन, ‘निर्मल पुर्जा’ लाई ‘निम्सदाई’ मा रूपान्तरण गरिदियो। निम्सदाई-एउटा यस्तो नाम, जसले विश्व पर्वतारोहणमा नेपाली नेतृत्व, आत्मविश्वास र राष्ट्रिय पहिचानको नयाँ अध्याय सुरु गर्यो।
नामभन्दा ठूलो विश्वास
आज संसारभर पर्वतारोहणसँग परिचित अधिकांश मानिसले “निर्मल पुर्जा” भन्दा “निम्सदाइ” का रूपमा बढी चिन्छन्। तर यो कुनै योजनाबद्ध व्यावसायिक ब्रान्डिङको परिणाम थिएन।
बेलायती सेनामा रहँदा उनका विदेशी सहकर्मीहरूलाई “निर्मल” उच्चारण गर्न कठिन लाग्थ्यो। सैनिक संस्कृतिमा छोटो र सहज नाम प्रयोग गर्ने परम्पराअनुसार उनीहरू उनलाई “निम्स” भनेर सम्बोधन गर्न थाले।
पछि नेपाल फर्किएपछि शेर्पा, उच्च हिमाली गाइड र अभियानका साथीहरूले आत्मीय सम्मानका साथ “निम्स दाइ” भन्न थाले। यही सम्बोधन क्रमशः अन्तर्राष्ट्रिय समुदायमा ‘निम्सदाई’ का रूपमा स्थापित भयो।
यो नामको लोकप्रियता केवल उच्चारणको सहजतामा मात्र आधारित थिएन। नेपाली समाजमा “दाइ” शब्दले नेतृत्व, विश्वास, संरक्षण र आत्मीयताको अर्थ बोकेको हुन्छ। उनले आफ्नो व्यवहारबाट पनि यही अर्थलाई जीवन्त बनाए।
उनी टोलीका सदस्यलाई केवल आदेश दिने नेता होइन, सँगै अघि बढ्ने नेतृत्वकर्ता थिए। यही कारण यो नाम एउटा व्यक्तिको नामभन्दा बढी विश्वासको प्रतीक बन्यो।
‘प्रोजेक्ट पसिबल’ : समयसँगको प्रतिस्पर्धा
सन् २०१९ सम्म विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्न प्रायः ८ देखि १० वर्ष लाग्ने मान्यता स्थापित भइसकेको थियो। प्रतिकूल मौसम, आरोहण अनुमति, उचाइमा शरीरलाई अनुकूल बनाउने प्रक्रिया, यात्रा व्यवस्थापन, आर्थिक स्रोत र शारीरिक पुनःस्थापनाजस्ता कारणले यसलाई छोटो समयमा सम्पन्न गर्नु असम्भवजस्तै मानिन्थ्यो।
निर्मल पुर्जाले यही स्थापित मान्यतालाई चुनौती दिए। उनले प्रश्न उठाए, “यदि सैनिक अभियानझैँ वैज्ञानिक योजना, समय व्यवस्थापन, जोखिम विश्लेषण र उत्कृष्ट टोली समन्वय प्रयोग गर्न सकिन्छ भने वर्षौँ लाग्ने काम केही महिनामै किन सम्भव नहुने?”
यही सोचबाट जन्मियो-‘प्रोजेक्ट पसिबल’ ।
यो अभियान केवल हिमाल चढ्ने योजना मात्र थिएन। यो उच्च कार्यसम्पादन व्यवस्थापन (हाई पर्फर्मेन्स म्यानेजमेन्ट), रणनीतिक नेतृत्व, मौसम विज्ञान, जोखिम व्यवस्थापन, सामग्री तथा आपूर्ति व्यवस्थापन (लजिस्टिक्स), हेलिकप्टर समन्वय, उच्च उचाइमा अक्सिजनको वैज्ञानिक प्रयोग र बहु-देशीय अभियान सञ्चालनको जटिल व्यवस्थापन प्रणाली थियो।
विशेष सैन्य सेवामा सिकेको एउटा सिद्धान्त “मिशन फस्ट” (अभियान सर्वोपरि) उनको सम्पूर्ण सञ्चालनको आधार बन्यो। लक्ष्य स्पष्ट भएपछि त्यसलाई सफल बनाउन आवश्यक प्रत्येक प्रणालीलाई उनले सूक्ष्म रूपमा तयार पारे।
फलस्वरूप, सन् २०१९ मा उनले केवल १८९ दिन (६ महिना ६ दिन) भित्र विश्वका १४ वटै आठ हजारे हिमाल आरोहण गर्दै विश्व पर्वतारोहणको इतिहास पुनर्लेखन गरे।
यो उपलब्धि केवल एउटा नयाँ कीर्तिमान मात्र थिएन; यसले पर्वतारोहणलाई केवल व्यक्तिगत साहसको खेल होइन, वैज्ञानिक योजना, नेतृत्व र सामूहिक क्षमताको उत्कृष्ट उदाहरणका रूपमा पुनःपरिभाषित गर्यो।
यस अभियानले आधुनिक पर्वतारोहणमा उच्च कार्यसम्पादन व्यवस्थापनको नयाँ अवधारणा स्थापित गर्यो। पर्वतारोहण केवल व्यक्तिगत साहस होइन; नेतृत्व, विज्ञान, सामग्री व्यवस्थापन, मौसम विश्लेषण, मनोवैज्ञानिक तयारी र समय व्यवस्थापनको संयुक्त परिणाम पनि हो।
खेल विज्ञानका दृष्टिले यस अभियानको सबैभन्दा अद्वितीय पक्ष शारीरिक पुनःस्थापना (रिकभरी) को व्यवस्थापन थियो। सामान्य अवस्थामा आठ हजारे हिमाल आरोहणपछि शरीरलाई पूर्ण रूपमा पुरानै अवस्थामा ल्याउन हप्तौँदेखि महिनौँसम्म लाग्न सक्छ।
तर निर्मल पुर्जाले अत्यन्त सीमित समयमा अर्को अभियान सुरु गर्नुपर्थ्यो। त्यसैले उनको अभियान केवल आरोहणको गति होइन, ‘पुनःस्थापना व्यवस्थापन’ को पनि गतिलो उदाहरण थियो।
पोषण, अक्सिजन व्यवस्थापन, निद्रा, जलसञ्चार, मांसपेशी पुनःस्थापना र उचाइअनुसार शरीरलाई पुनःअनुकूल बनाउने रणनीतिहरूले सम्पूर्ण अभियानलाई सम्भव बनाएका थिए।
उच्च उचाइमा शरीरको ऊर्जा चयापचय (मेटाबोलिज्म) पनि उल्लेखनीय रूपमा परिवर्तन हुन्छ। अक्सिजनको कमीका कारण एरोबिक ऊर्जा उत्पादन घट्दै जान्छ र शरीरले सीमित अक्सिजनमा कार्य गर्नुपर्ने अवस्था सिर्जना हुन्छ।
यसले ग्लाइकोजनको उपयोग, थकानको गति, मांसपेशी कार्यक्षमता र शारीरिक सहनशीलतामा प्रत्यक्ष प्रभाव पार्छ। त्यसैले उच्च कार्बोहाइड्रेटयुक्त पोषण, पर्याप्त जलसञ्चार, ऊर्जा सन्तुलन तथा चरणबद्ध पोषण रणनीति सफल हिमाली अभियानका वैज्ञानिक आधार हुन्। यस्ता तीव्र अभियानमा यी पक्षहरूको प्रभावकारी व्यवस्थापनले निरन्तर उच्च प्रदर्शन कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ।
यति छोटो समयमा लगातार अभियान सञ्चालन गर्दा निद्राको अभाव पनि गम्भीर चुनौती बनेको थियो। अनुसन्धानहरूले देखाउँछन् कि पर्याप्त निद्रा नपाउँदा निर्णय क्षमता, प्रतिक्रिया समय, ध्यान केन्द्रित गर्ने क्षमता र जोखिम मूल्यांकन गर्ने दक्षता घट्न सक्छ।
त्यसैले निर्मल पुर्जाको उपलब्धि केवल शारीरिक सहनशीलताको परिणाम मात्र नभई चरम थकानका बिच पनि उच्च मानसिक कार्यक्षमता कायम राख्न सक्ने क्षमताको अद्वितीय नमुना थियो।
सपनाको मूल्य : भविष्यको बाजी
कुनै पनि ऐतिहासिक अभियानको सबैभन्दा ठूलो चुनौती हिमाल चढ्नु मात्र हुँदैन; त्यसलाई सम्भव बनाउन आवश्यक आर्थिक स्रोत जुटाउनु पनि उत्तिकै कठिन हुन्छ।
‘प्रोजेक्ट पसिबल’ सञ्चालनका लागि करिब साढे सात लाख बेलायती पाउन्ड (त्यतिबेलाको विनिमय दरअनुसार करिब १० करोड रुपैयाँ) आवश्यक पर्ने अनुमान गरिएको थियो। यो कुनै सरकारी परियोजना थिएन, न त कुनै बहुराष्ट्रिय कम्पनीको लगानी नै। यो त एउटा नेपालीको सपना थियो, जसलाई सम्भव बनाउन उनले आफ्नै भविष्य दाउमा लगाएका थिए।
प्रारम्भिक चरणमा धेरै सम्भावित प्रायोजकहरूले उनको योजनालाई “असम्भव” भन्दै अस्वीकार गरे। यति ठूलो रकम सहज रूपमा जुट्ने अवस्था थिएन। त्यसैले उनले सबैभन्दा पहिले आफ्नै जिम्मेवारी वहन गर्ने निर्णय गरे।
आफ्नै शब्दमा भन्दा, “अरूबाट सहयोग माग्नुअघि आफूले आफूसँग भएको सबै कुरा समर्पण गर्नुपर्छ।” यही विश्वासअनुसार उनले बेलायतमा रहेको आफ्नै घर बिक्री गरे, आफ्नो बचत, सम्पत्ति र सुरक्षित भविष्यसमेत जोखिममा राखे।
यसअघि पनि एउटा विश्व कीर्तिमानी अभियानका लागि उनले आफ्नै घर धितो राखेर ऋण लिएका थिए। त्यसैले उनको यात्रा अरूको लगानीभन्दा पहिले आफ्नै त्यागबाट सुरु भएको थियो। त्यसपछि मात्र उनले आफ्ना साथीहरू, विश्वभर रहेका नेपाली समुदाय र सम्भावित साझेदारहरूसँग सहयोगको आग्रह गरे।
उनले एक टेलिभिजन अन्तर्वार्तामा सुनाएअनुसार, आफ्नो परियोजनाबारे एक घनिष्ठ साथीलाई बताएपछि ती साथीले भनेका थिए, “म तिमीलाई विश्वास गर्छु।” त्यसपछि उनले कुनै जटिल प्रक्रिया वा सर्तबिनै २५ हजार पाउन्ड सहयोग उपलब्ध गराए। त्यो सहयोग केवल आर्थिक योगदान मात्र थिएन; त्यो निर्मल पुर्जाको दृष्टि, नेतृत्व र क्षमतामाथि गरिएको विश्वासको पहिलो ठूलो लगानी थियो।
यही प्रारम्भिक विश्वासले अभियानलाई अघि बढाउने आधार दियो। त्यसपछि विश्वभरका नेपाली समुदाय, शुभेच्छुक र केही संस्थाहरू क्रमशः यस अभियानसँग जोडिँदै गए। अभियानले गति लिँदै जाँदा ‘ब्रेमोन्ट’, ‘ओस्प्रे’ लगायतका अन्तर्राष्ट्रिय साझेदारहरू पनि सहभागी बने।
यस यात्राले एउटा गहिरो सत्य स्थापित गर्यो-विश्वास माग्दैमा पाइँदैन; आफ्नै त्याग, कर्म र प्रतिबद्धताबाट कमाइन्छ। निर्मल पुर्जाले पहिले आफूमाथि विश्वास गरे, त्यसपछि मात्र संसारले उनीमाथि विश्वास गर्न थाल्यो। सम्भवतः यही नै ‘प्रोजेक्ट पसिबल’ को सबैभन्दा ठूलो आधार थियो।
कीर्तिमानभन्दा ठूलो कथा
‘प्रोजेक्ट पसिबल’ सफल भएपछि संसारले केवल एउटा विश्व कीर्तिमान मात्र देखेन; एउटा नयाँ भाष्य पनि देख्यो।
निर्मल पुर्जाले सुरुदेखि नै बुझेका थिए कि आधुनिक विश्वमा उपलब्धि मात्र पर्याप्त हुँदैन; त्यसलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न पनि जान्नुपर्छ। त्यसैले अभियानका क्रममा उच्च गुणस्तरका तस्बिर, भिडियो, प्रत्यक्ष अद्यावधिक जानकारी र वृत्तचित्र निर्माणलाई पनि समान प्राथमिकता दिइयो।
पछि यही यात्रा नेटफ्लिक्सको बहुचर्चित वृत्तचित्र “१४ पिक्स: नथिङ इज इम्पसिबल” र उनको आत्मकथा “बियोन्ड पसिबल” को आधार बन्यो।
यी कृतिहरूले विश्वसामु एउटा नयाँ नेपाल प्रस्तुत गरे-जहाँ नेपालीहरू केवल विदेशी अभियानका सहयोगी मात्र होइनन्; आफ्नै दृष्टि, नेतृत्व र व्यवस्थापनद्वारा विश्वस्तरीय अभियान सञ्चालन गर्न सक्ने कुशल नेतृत्वकर्ता पनि हुन्। यसरी निर्मल पुर्जाले केवल विश्व कीर्तिमान मात्र बनाएनन्; नेपाली पर्वतारोहणको कथालाई विश्वले बुझ्ने भाषामा रूपान्तरण गरिदिए।
सायद यही क्षणदेखि “निर्मल पुर्जा” एउटा व्यक्तिको नाममा मात्र सीमित रहेन। उनी “निम्सदाई” बने—नेपाली साहस, नेतृत्व, अनुशासन र असम्भवलाई चुनौती दिने मानसिकताको विश्वव्यापी प्रतीक।
विश्वव्यापी पहिचान र नेपाली नेतृत्व
विश्व पर्वतारोहणको इतिहासमा निर्मल पुर्जाभन्दा धेरैअघि र उनीसँगैका समकालीन पुस्तामा पनि अनेकौँ पर्वतारोहीहरूले असाधारण कीर्तिमान कायम गरेका थिए। आपा शेर्पाले सगरमाथाको सबैभन्दा धेरै सफल आरोहणको कीर्तिमान बनाए भने कामी रिता शेर्पाले त्यसलाई अझ नयाँ उचाइमा पुर्याए।
फु दोर्जी शेर्पा, आङ रिता शेर्पा, उली स्टेक, रेनहोल्ड मेसनर, एड भिएस्टर्स, किलियन जोर्नेट, डेभिड गोएटलर र डेनिस उरुब्को जस्ता विश्वप्रसिद्ध पर्वतारोहीहरूले पनि आ-आफ्नो क्षेत्रमा नयाँ मानक स्थापित गरेका छन्। उनीहरूको योगदानबिना आधुनिक पर्वतारोहणको इतिहास अधुरो रहन्छ।
यही सन्दर्भमा एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ-यति धेरै विश्वस्तरीय पर्वतारोही र ऐतिहासिक कीर्तिमानहरूका बीच किन निर्मल पुर्जा ‘निम्सदाई’ का रूपमा विशिष्ट विश्वव्यापी प्रभाव र पहिचान निर्माण गर्न सफल भए?
यसको उत्तर केवल उनले १८९ दिनमा १४ वटै आठ हजारे हिमाल आरोहण गरेर कायम गरेको कीर्तिमानमा मात्र सीमित छैन। त्यसको वास्तविक आधार उनको दूरदर्शी नेतृत्व, साहसी दृष्टिकोण, रणनीतिक सोच, प्रभावकारी सञ्चार क्षमता र नेपाली पर्वतारोहणको गाथालाई विश्वले बुझ्ने भाषामा प्रस्तुत गर्ने असाधारण दक्षतामा निहित छ।
उनले केवल इतिहास रचेनन्; त्यस इतिहासलाई विश्वव्यापी प्रेरणाको कथामा ढालत दिए। यही विशेषताले निर्मल पुर्जालाई एउटा सफल पर्वतारोहीबाट नेपाली नेतृत्व, आत्मविश्वास र विश्वव्यापी प्रभावको प्रतीकका रूपमा स्थापित गरायो।
कीर्तिमानभन्दा पर : नेतृत्वको शक्ति
धेरै मानिसहरूले इतिहास बनाउँछन्, तर थोरैले मात्र इतिहासको दिशा बदल्छन्। निर्मल पुर्जा दोस्रो श्रेणीका व्यक्ति थिए।
बेलायती नौसेनाको विशेष सेवामा बिताएका वर्षहरूले उनलाई केवल उत्कृष्ट सैनिक मात्र बनाएनन्, सङ्कटको कुशल व्यवस्थापक (क्राइसिस लिडर) पनि बनाए। चरम दबाबमा सही निर्णय लिन सक्ने क्षमता, सीमित स्रोतको अधिकतम उपयोग, जोखिमको पूर्वानुमान, टोलीलाई एउटै लक्ष्यमा केन्द्रित राख्ने कला र समय व्यवस्थापन-यी सबै गुण हिमालमा उनका सबैभन्दा ठूला शक्ति बने।
तर उनको अर्को विशेषता अझ प्रभावशाली थियो-प्रभावकारी सञ्चार। उनी आफ्नो दृष्टिकोण स्पष्ट रूपमा व्यक्त गर्न सक्थे। विश्वका प्रमुख सञ्चारमाध्यमसँग आत्मविश्वासपूर्वक संवाद गर्न सक्थे।
सामाजिक सञ्जाल, वृत्तचित्र, सार्वजनिक व्याख्यान र व्यक्तिगत कथामार्फत लाखौँ मानिसलाई प्रेरित गर्न सक्थे। धेरै महान् पर्वतारोहीहरूले विश्व कीर्तिमान बनाए, तर निर्मल पुर्जाले त्यसलाई विश्वले सधैँ सम्झिरहने प्रेरणादायी कथा बनाए।
पर्वतारोहणमा नेतृत्वको वास्तविक परीक्षा शिखरमा होइन, निर्णयको कठिन क्षणमा हुन्छ। उच्च उचाइ, चरम चिसो, अक्सिजनको कमी, मौसमको अनिश्चितता र निरन्तरको शारीरिक थकानले मानसिक शिथिलता (डिसिजन फ्याटिग) उत्पन्न गराउन सक्छ।
यस्तो अवस्थामा सानो गल्तीले पनि जीवन र मृत्युको अन्तर सिर्जना गर्न सक्छ। अभियान मनोविज्ञान (एक्सपेडिसन साइकोलोजी) का अनुसार सफल अभियान नेतामा भावनात्मक नियन्त्रण, जोखिमको यथार्थ मूल्यांकन, टोलीको मनोबल व्यवस्थापन र दबाबका बिच पनि स्पष्ट निर्णय गर्ने क्षमता हुनुपर्छ। निर्मल पुर्जाको सैन्य अनुभवले यी मनोवैज्ञानिक दक्षताहरूलाई असाधारण रूपमा परिष्कृत गरेको देखिन्छ।
उच्च उचाइमा अक्सिजनको कमीले शरीरलाई मात्र होइन, मस्तिष्कलाई पनि प्रत्यक्ष असर गर्छ। यसले ध्यान केन्द्रित गर्ने क्षमता, स्मरणशक्ति, प्रतिक्रिया समय र तार्किक निर्णय क्षमता कमजोर बनाउन सक्छ।
अनुसन्धानहरूले आठ हजार मिटरभन्दा माथिको क्षेत्रमा सोच्ने र निर्णय गर्ने क्षमता (कोग्निटिभ पर्फर्मेन्स) उल्लेखनीय रूपमा घट्न सक्ने देखाएका छन्। यस्तो अवस्थामा सुरक्षित र सही निर्णय लिन सक्नु पर्वतारोहणको सबैभन्दा महत्त्वपूर्ण प्रदर्शन सूचक मानिन्छ।
निर्मल पुर्जाको सैन्य प्रशिक्षण, मानसिक अनुशासन र संकट व्यवस्थापनको अनुभवले यस्ता चुनौतीका बिच निर्णयको गुणस्तर कायम राख्न ठूलो मद्दत पुर्याएको देखिन्छ।
यसले देखाउँछ कि उच्च उचाइमा सफल पर्वतारोहण केवल शारीरिक सहनशीलताको परीक्षा मात्र होइन; यो मस्तिष्कको कार्यक्षमता, भावनात्मक नियन्त्रण र नेतृत्व क्षमताको पनि कठोर परीक्षा हो।
त्यसैले आधुनिक पर्वतारोहण विज्ञानले उच्च उचाइमा मानव प्रदर्शनलाई शारीरिक, मनोवैज्ञानिक र मानसिक प्रणालीहरूको एकीकृत परिणामका रूपमा व्याख्या गर्छ। निर्मल पुर्जाको यात्राले यही समग्र मानव प्रदर्शनको नमुनालाई व्यावहारिक रूपमा प्रस्तुत गरेको छ।
सहयोगीबाट नेतृत्वकर्तासम्म
दशकौंसम्म अन्तर्राष्ट्रिय पर्वतारोहणको मुख्य कथामा विदेशी आरोहीहरू मात्र केन्द्रमा हुन्थे। नेपाली शेर्पा र उच्च हिमाली गाइडहरू डोरी टाँग्थे, बाटो बनाउँथे, अक्सिजन बोक्थे, उद्धार गर्थे र सबैभन्दा जोखिमपूर्ण काम सम्हाल्थे। तर अन्तिम सफलताको जस प्रायः विदेशी अभियानको नाममा लेखिन्थ्यो।
निर्मल पुर्जाले यही परिपाटीलाई चुनौती दिए। उनले संसारलाई देखाए कि नेपालीहरू केवल प्राविधिक सहयोगी मात्र होइनन्; उनीहरू विश्वकै जटिल हिमाली अभियानको योजना बनाउन, नेतृत्व गर्न, सञ्चालन गर्न र सफल बनाउन समान रूपमा सक्षम छन्।
अझ महत्त्वपूर्ण कुरा, उनले आफ्ना सहकर्मी शेर्पा, गाइड र नेपाली टोलीका सदस्यहरूलाई सधैँ सफलताको केन्द्रमा राखे। उनका लागि विजय कहिल्यै व्यक्तिगत उपलब्धि थिएन; त्यो सामूहिक नेतृत्वको परिणाम थियो। यही कारण उनले पर्वतारोहणको विश्व भाष्यलाई “सहयोगी भूमिका” बाट “नेतृत्वदायी भूमिका” तर्फ मोड्न निर्णायक योगदान दिए।
नागरिकताभन्दा माथिको पहिचान
निर्मल पुर्जाको जीवनसँग जोडिएको अर्को बहस उनको नागरिकतासँग सम्बन्धित थियो। कानुनी रूपमा उनले बेलायती नागरिकता ग्रहण गरेका थिए। त्यसैले कसै-कसैले उनलाई “गैर-नेपाली” भनेर टिप्पणी पनि गरे।
तर नागरिकता र पहिचान सधैँ एउटै कुरा होइनन्। निर्मल पुर्जा जन्मले नेपाली थिए। उनको बाल्यकाल नेपालमै बित्यो। नेपाली समाज, गोर्खा परम्परा, हिमाल र नेपाली संस्कृतिले नै उनको व्यक्तित्व निर्माण गरेको थियो।
बेलायती नागरिकता उनले रहरले होइन, बेलायती गोर्खा सैनिक र पछि विशेष सैन्य सेवामा समर्पित व्यावसायिक यात्राका क्रममा प्राप्त गरेका थिए। पछिल्लो समय उनले सार्वजनिक रूपमा पटक-पटक एउटै भावना व्यक्त गरेका थिए-“मेरो मन नेपाली हो, मेरो रगत नेपाली हो।”
विभिन्न सार्वजनिक कार्यक्रममा नेपाली पहिचानमाथि प्रश्न उठ्दा उनी भावुक बनेका दृश्यहरू पनि व्यापक चर्चामा आएका थिए। उनका लागि नागरिकता एउटा कानुनी हैसियत मात्र थियो; नेपाल भने उनको जन्मभूमि, प्रेरणा र विश्वसामु चिनाउन चाहेको वास्तविक पहिचान थियो।
जीवनकालमा प्राप्त गरेका दर्जनाैँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानका प्रत्येक क्षणमा उनले आफ्नो नेपाली मूलप्रति गर्व व्यक्त गर्न कहिल्यै चुकेनन्। बेलायत सरकारले सम्मानित गरेको औपचारिक समारोहमा समेत उनले आफू नेपाली मूलको भएको कुरा स्पष्ट रूपमा उल्लेख गर्दै आफ्नो यात्राको जरा नेपालमै रहेको बताएका थिए।
यही कारण उनको अन्तर्राष्ट्रिय सफलता कुनै व्यक्तिगत उपलब्धिमा मात्र सीमित रहेन; त्यो नेपाली पहिचान, गोर्खाली परम्परा र नेपालको विश्वव्यापी प्रतिष्ठासँग जोडिएको साझा गौरव बन्यो।
उनले आफ्नो अन्तर्राष्ट्रिय प्रतिष्ठालाई कहिल्यै व्यक्तिगत लाभमा सीमित राखेनन्, बरु नेपाली शेर्पा, नेपाली पर्वतारोहण र नेपालको अन्तर्राष्ट्रिय छविसँग जोडेर प्रस्तुत गरे। सायद यही कारण विश्वले उनलाई केवल सफल पर्वतारोहीका रूपमा मात्र होइन, नेपालको अनौपचारिक सांस्कृतिक दूतका रूपमा पनि सम्झियो।
विश्वसामु नेपालको नयाँ छवि
आधुनिक विश्वमा कुनै राष्ट्रको प्रभाव केवल आर्थिक वा सैन्य शक्तिबाट मात्र निर्माण हुँदैन; प्रभावकारी कथा, सांस्कृतिक पहिचान, प्रेरणादायी व्यक्तित्व र विश्वसामु प्रस्तुत गरिने छविले पनि त्यसलाई परिभाषित गर्छ। यही नै ‘मृदु शक्ति’ (सफ्ट पावर) को मूल आधार हो।
निर्मल पुर्जाले यो वास्तविकता धेरैअघि नै बुझेका थिए। उनका अभियानहरू हिमालको चुचुरोमा मात्र समाप्त भएनन्; ती विश्वव्यापी प्रेरणाका कथामा रूपान्तरित भए। आत्मकथा, वृत्तचित्र, अन्तर्राष्ट्रिय सम्मेलनका भाषण तथा सामाजिक सञ्जालमार्फत उनले आफ्नो यात्रालाई करोडौँ मानिससम्म पुर्याए।
यस प्रक्रियामार्फत उनले नेपाललाई केवल सगरमाथाको देशका रूपमा मात्र होइन, अनुशासन, नेतृत्व, साहस, नवप्रवर्तन र उच्च कार्यसम्पादन संस्कृतिको प्रतिनिधित्व गर्ने राष्ट्रका रूपमा पनि प्रस्तुत गर्न ठूलो योगदान दिए। यस अर्थमा निर्मल पुर्जाको यात्रा नेपालको मृदु शक्ति सुदृढ गर्ने उल्लेखनीय उदाहरण हो।
विरासत र भविष्य
निर्मल पुर्जाको जीवन एउटा असाधारण व्यक्तिको सफलताको कथा मात्र होइन; यो नेपालले आफ्नै सम्भावनालाई नयाँ दृष्टिले हेर्न सिकाएको कथा पनि हो।
उनले विश्वलाई एउटा नयाँ नेपाली चिनाए-जो केवल साहसी मात्र होइन, रणनीतिक सोच राख्ने, नेतृत्व गर्न सक्ने, विश्वसँग आत्मविश्वासपूर्वक संवाद गर्न सक्ने र असम्भवलाई सम्भव बनाउने क्षमता भएको व्यक्ति हो।
त्यसैले उनको विरासत कुनै एउटा विश्व कीर्तिमानमा सीमित छैन; त्यो नेपाली पर्वतारोहण, राष्ट्रिय पहिचान र नेपालको भविष्यसँग गाँसिएको एउटा दीर्घकालीन विचारका रूपमा जीवित रहनेछ।
हिमालले गुमाएको अमूल्य सम्पदा
ब्रड पिकको दुर्घटनाले केवल केही जीवनको अन्त्य मात्र गरेन; यसले विश्व पर्वतारोहण समुदायको अनुभव, नेतृत्व, ज्ञान र प्रेरणाको अमूल्य सम्पदामाथि गहिरो आघात पुर्यायो।
निर्मल ‘निम्सदाई’ पुर्जासँगै जीवन गुमाउने नेपाली तथा विदेशी पर्वतारोही, शेर्पा, उच्च हिमाली गाइड, उद्धारकर्मी र सहयोगीहरू प्रत्येकले आफ्नो साहस, अनुशासन, व्यावसायिक दक्षता र हिमालप्रतिको अदम्य समर्पणबाट पर्वतारोहणको इतिहासमा विशिष्ट योगदान दिएका थिए।
उनीहरूका लागि हिमाल केवल पेसा वा चुनौती मात्र थिएन; त्यो जीवनदर्शन, उत्तरदायित्व र मानव क्षमताको सीमालाई निरन्तर विस्तार गर्ने साझा अभियान थियो।
हिमालले कहिल्यै राष्ट्रियता, भाषा, जातीय पहिचान वा नागरिकताका आधारमा भेदभाव गर्दैन। त्यहाँ प्रकृतिका नियम, जोखिम र उत्तरदायित्व सबैका लागि समान हुन्छन्। यही कारण ब्रड पिकको यो दुर्घटनालाई कुनै एक व्यक्तिको निधनमा मात्र सीमित गरेर बुझ्नु पर्याप्त हुँदैन।
निम्सदाइसँगै ज्यान गुमाउने प्रत्येक व्यक्तित्व मानव साहस, समर्पण, व्यावसायिक उत्तरदायित्व र हिमालप्रतिको निष्ठाका समान रूपमा सम्मानित प्रतिनिधि थिए।
यस दुर्घटनाले पर्वतारोहण जगत्बाट केवल अनुभवी जनशक्ति मात्र होइन, दशकौँको अनुभव, नेतृत्व, ज्ञान र अमूल्य मानवीय सम्पदा पनि एकैपटक खोस्यो। उनीहरूको अनुपस्थितिले पर्वतारोहणमा सिर्जना गरेको रिक्तता सहजै पूर्ति हुन सक्ने छैन।
त्यसैले यो दुर्घटना सम्पूर्ण अन्तर्राष्ट्रिय हिमाली समुदायले साझा रूपमा भोगेको गहिरो पीडा र पर्वतारोहणको सामूहिक विरासतमा परेको अपूरणीय क्षति हो।
निर्मल पुर्जा स्वयं पनि आफ्नो सफलताको श्रेय सधैँ टोली, शेर्पा समुदाय र सहकर्मीहरूसँग बाँड्ने गर्थे। यही विनम्रता र सामूहिक नेतृत्वप्रतिको विश्वासले उनलाई प्रेरणादायी नेतृत्वकर्ताका रूपमा स्थापित गर्यो।
त्यसैले यस दुर्घटनामा जीवन गुमाउने सम्पूर्ण नेपाली तथा विदेशी पर्वतारोही, शेर्पा, उच्च हिमाली गाइड, उद्धारकर्मी र सहयोगीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु नै पर्वतारोहणको नैतिक संस्कृति र मानवीय मूल्यप्रतिको सच्चा सम्मान हो।
कीर्तिमानभन्दा ठूलो विचार
निर्मल पुर्जाको योगदानले आधुनिक पर्वतारोहणको इतिहासलाई नयाँ दिशा दिएको तथ्य सर्वविदितै छ। उनले केवल १८९ दिनमा विश्वका १४ वटै आठ हजारे हिमाल आरोहण गरेर कीर्तिमान मात्र कायम गरेनन्; नेपाली पर्वतारोहणको विश्वव्यापी कथालाई नयाँ दृष्टिकोणका साथ पुनर्परिभाषित गरे।
दशकौँसम्म नेपाली शेर्पा तथा उच्च हिमाली गाइडहरू अन्तर्राष्ट्रिय अभियानका अपरिहार्य आधारस्तम्भ रहे। तर पनि उनीहरू प्रायः पर्दापछाडिका पात्रका रूपमा चित्रित हुन्थे।
निर्मल पुर्जाले यो दृष्टिकोणलाई बदले। उनले प्रमाणित गरे कि नेपालीहरू केवल सहयोगी मात्र होइनन्; विश्वकै जटिल हिमाली अभियानको योजना बनाउन, नेतृत्व गर्न र नयाँ मापदण्ड स्थापित गर्न समान रूपमा सक्षम छन्।
यसबाहेक, आधुनिक सञ्चार र रणनीतिक कथावाचन (स्ट्र्याटेजिक स्टोरीटेलिङ) को सशक्त प्रयोग उनको अर्को ठूलो शक्ति थियो। विभिन्न सञ्चार माध्यम, वृत्तचित्र र सार्वजनिक व्याख्यानमार्फत उनले नेपाललाई नेतृत्व, अनुशासन, नवप्रवर्तन र उच्च कार्यसम्पादनको प्रतीकका रूपमा स्थापित गरे।
आफ्नो बेलायती नागरिकताको सन्दर्भमा पनि उनले जन्मभूमि नेपाल र गोर्खाली परम्पराप्रतिको आत्मीयता कहिल्यै लुकाएनन्। उनी कानुनी नागरिकताभन्दा माथि उठेर नेपाली आत्मविश्वास र राष्ट्रिय गौरवका सशक्त प्रतिनिधि बने।
नेपालले अब के सिक्नुपर्छ?
निर्मल पुर्जाको जीवनले नेपाललाई एउटा अत्यन्त स्पष्ट सन्देश दिएको छ-विश्वमा सम्मान केवल प्राकृतिक सम्पदाले मात्र प्राप्त हुँदैन; त्यसलाई ज्ञान, अनुसन्धान, प्रविधि, नेतृत्व, सुरक्षा र प्रभावकारी सञ्चारसँग जोड्न सक्नुपर्छ।
नेपालसँग संसारका सर्वोच्च हिमालहरू छन्, विश्वकै उत्कृष्ट शेर्पा तथा गाइडहरू छन् र दशकौँको अनुभव छ। तर विश्व नेतृत्वका लागि यी आधार मात्र पर्याप्त छैनन्। अब पर्वतारोहणलाई परम्परागत पर्यटनको सीमाभन्दा माथि उठाएर ज्ञान, नवप्रवर्तन र उच्च कार्यसम्पादनको राष्ट्रिय रणनीतिसँग जोड्न आवश्यक छ।
यसका लागि नेपालले केही दीर्घकालीन प्राथमिकतामा केन्द्रित हुनुपर्छ:
उच्च हिमाली खेल विज्ञान अनुसन्धान केन्द्रको स्थापना गर्ने।
पर्वतारोहणका लागि शारीरिक तथा मनोवैज्ञानिक तयारी र जैविक अनुकूलनसम्बन्धी परीक्षणलाई संस्थागत गर्ने।
शेर्पा तथा उच्च हिमाली गाइडहरूका लागि खेल चिकित्सा, पुनःस्थापना विज्ञान र मानसिक स्वास्थ्य सेवाको विकास गर्ने।
उच्च उचाइमा मानव कार्यसम्पादनसम्बन्धी अनुसन्धानलाई विश्वविद्यालय र अनुसन्धान संस्थाहरूसँग जोड्ने।
निर्मल पुर्जाले देखाएको बाटो यही हो-हिमाल केवल प्राकृतिक सम्पदा मात्र होइन; यो ज्ञान, नेतृत्व, अर्थतन्त्र, पर्यटन, नवप्रवर्तन र नेपालको मृदु शक्ति निर्माण गर्ने रणनीतिक आधार पनि हो।
कीर्तिमानभन्दा अग्लो विचार
इतिहासले मानिसलाई उनीहरूले कति अग्लो शिखर छोए भन्ने आधारमा मात्र होइन, अरूलाई कति अग्लो सपना देख्न प्रेरित गरे भन्ने आधारमा पनि सम्झन्छ। यही कारण निर्मल पुर्जाको कथा एउटा असाधारण पर्वतारोहीको जीवनी मात्र होइन; यो नेपाली नेतृत्व, आत्मविश्वास र सम्भावनाको पुनर्जागरणको कथा हो।
१८९ दिनमा १४ वटै आठ हजारे हिमाल आरोहण गर्नु आधुनिक पर्वतारोहण इतिहासको अभूतपूर्व उपलब्धि थियो। तर त्यसको वास्तविक महत्त्व विश्व कीर्तिमानमा मात्र सीमित छैन।
उनले दशकौँदेखि स्थापित अन्तर्राष्ट्रिय दृष्टिकोणलाई परिवर्तन गर्दै संसारलाई देखाए कि नेपालीहरू हिमाली अभियानका सहयोगी मात्र होइनन्; उनीहरू योजनाकार, रणनीतिकार, नेतृत्वकर्ता र नवप्रवर्तक हुन्।
‘प्रोजेक्ट पसिबल’ ले पर्वतारोहणलाई केवल साहसको खेलबाट नेतृत्व, विज्ञान, जोखिम व्यवस्थापन, समय व्यवस्थापन र उच्च कार्यसम्पादन व्यवस्थापनको विश्वस्तरीय अध्ययनका रूपमा स्थापित गर्यो।
निर्मल पुर्जाको जीवनले नेपाललाई एउटा गहिरो पाठ सिकाएको छ-प्राकृतिक सम्पदा मात्र पर्याप्त हुँदैन; त्यसलाई ज्ञान, अनुसन्धान, प्रविधि, प्रभावकारी नेतृत्व र सशक्त कथासँग जोड्न सकियो भने मात्र त्यसले दीर्घकालीन राष्ट्रिय शक्ति र विश्वव्यापी प्रभाव निर्माण गर्न सक्छ।
भोलिका दिनमा उनका विश्व कीर्तिमानहरू तोडिएलान्। अझ छिटो र साहसिक अभियानहरू सम्पन्न होलान्। तर निर्मल पुर्जा ‘निम्सदाई’ ले स्थापित गरेको सोच, आत्मबल र “असम्भव केही छैन” भन्ने जीवनदर्शन युगौंसम्म विश्वभरका आरोही र प्रत्येक नेपालीका लागि प्रेरणाको स्रोत बनिरहनेछ।
No ads found for this position


Facebook Comment