मानव सभ्यताको शाश्वत दर्शन: संवाद, क्षमा र मेलमिलाप

चिरञ्जीवी नेपाल
१७ साउन २०८३ ८:३०

मेलमिलाप मानव सभ्यताको सबैभन्दा पुरानो, सुन्दर र शक्तिशाली दर्शन हो; यो सभ्य समाजको प्रमुख परिचायक पनि हो ।

मतभेद, रिसराग वा आपसी द्वन्द्वलाई बिर्सेर एक ठाउँमा आउनु, आपसमा जोडिनु र मिलेर बस्नु नै मेलमिलाप हो । तर यसको मर्म यतिमा मात्र सीमित छैन । यो केवल दुई पक्षबीचको भौतिक सम्झौता मात्र नभई दुईवटा भिन्न सोच, धर्म, दृष्टिकोण र मनहरूबीचको भावनात्मक मिलन हो ।

हामी २१ौँ शताब्दीको अत्याधुनिक, प्रविधिमैत्री र भौतिक रूपले समृद्ध युगमा बाँचिरहेका छौँ । तर आजको मानव समाज बाहिरबाट हेर्दा जति सुखी र जोडिएको देखिन्छ, भित्रबाट त्यति नै चर्कँदै र टुक्रिँदै गएको छ । प्रविधिको विकासले संसारलाई एउटा ‘ग्लोबल भिलेज’ (संसारलाई एउटै गाउँ) त बनाइदियो, तर एउटै घरपरिवारभित्र बस्ने मानव मनहरूलाई भने निकै टाढा पुर्‍याइदियो ।

अहिले समाजमा जातजाति, धर्म र नश्लका नाममा अनावश्यक विवादहरू उछालिएका छन् । सामाजिक सञ्जालमा गालीगलौज र घृणा फैलाउँदै एकले अर्कालाई नीच देखाउने र मानमर्दन गर्ने होड चलेको देखिन्छ, जसलाई कडाइका साथ रोक्नु अत्यावश्यक भइसकेको छ ।

शान्त मानिने हाम्रो देशका सुनसरी (कप्तानगञ्ज, देवानगञ्ज), सिराहा, सप्तरीलगायतका जिल्लाहरूमा हिन्दु र मुस्लिम समुदायबीच द्वन्द्व सिर्जना भई कैयौँ घाइते भएका छन् भने केही व्यक्तिको दुःखद निधनसमेत भइसकेको छ ।

यस्ता घटनाले धार्मिक, सामाजिक तथा सांस्कृतिक सहिष्णुतामाथि प्रहार गर्दै समाजमा अविश्वासको खाडल गहिर्याएको छ । यस्तो संवेदनशील समयमा मेलमिलापको महत्त्व अझ बढेर गएको छ ।

हाम्रो पूर्वीय दर्शन र संस्कृति एकता एवं मेलमिलापकै जगमा उभिएको छ । वेद, उपनिषद् र पुराणहरूले सधैँ समाजलाई एकजुट हुने प्रेरणा दिएका छन् । सनातन धर्मको मूल मन्त्र ‘वसुधैव कुटुम्बकम्’ (सारा संसार नै मेरो परिवार हो) ले सबैलाई समेट्छ ।

सबै धर्मको मूल मर्म शान्ति, समृद्धि र भाइचारा नै हो । द्वन्द्वले क्षणिक अहङ्कारको तुष्टि त देला, तर दीर्घकालीन रूपमा यसले विनाश मात्र निम्त्याउँछ । जब मानिसले अहङ्कार त्यागेर मेलमिलापको बाटो रोज्छ, तब मात्र वास्तविक सुखानुभूति हुन्छ ।

मेलमिलापको सबैभन्दा प्रभावकारी उपाय ‘संवाद र क्षमा’ हो । मनमुटाव हुँदा शान्त भएर आपसमा कुराकानी गर्ने, आफ्नो गल्तीमा माफी माग्ने र अरूको गल्तीलाई उदार मनले क्षमा गरिदिने बानी बसाल्नुपर्छ । क्षमा दिनु वा माग्नु कमजोरी होइन, यो आत्मिक रूपमा बलियो मानिसले मात्र गर्न सक्ने कार्य हो ।

हाम्रो जस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देशका लागि आपसी मेलमिलाप नै सबैभन्दा ठूलो सम्पत्ति हो । पुर्खाहरूले दुःख-कष्ट सहेर निर्माण गरेको यो सुन्दर फूलबारीमा अहिले आन्तरिक तथा बाह्य तत्त्वहरूको कुदृष्टि परेको छ । पर्दापछाडिबाट सामाजिक सद्भाव भड्काउने स्वार्थ समूहहरूलाई पहिचान गरी कानुनबमोजिम कारबाही गर्नु जरुरी छ ।

हामी अत्यन्तै संवेदनशील भूराजनीतिक अवस्थामा छौँ । यस्तो परिस्थितिमा सम्पूर्ण नागरिक संयमित र धैर्यवान् बन्दै अघि बढ्नुपर्छ । हाम्रो विविधता नै सौन्दर्य हो र एकता नै शक्ति हो ।

मेलमिलाप कुनै बाहिरी नियम वा कानुन नभई अन्तर्हृदयदेखि पालना गरिने अनुशासन हो । त्यसैले अरूलाई उपदेश दिनुभन्दा पहिले हामी आफैँ बदलिएर उदाहरण बन्नुपर्छ । जब हाम्रा दृष्टिकोण बदलिन्छन्, तब समाज स्वतः सुन्दर बन्नेछ ।

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत्॥


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *