दिव्य पाशुपत क्षेत्र र पशुपति क्षेत्र गुरुयोजना

डिसी नेपाल
१२ साउन २०७७ १०:३४

चारैतिर कलात्मक पर्खाल, कलात्मक द्वार, हरेक द्वारमा सुरक्षा जाँचको व्यवस्था। द्वारबाट भित्र छिर्नासाथ चारैतिर बगैँचा/फूलवारी। सम्पूर्ण मार्गहरूमा प्रस्तर, ढुङ्गेधारा र पोखरी। दर्शनपथमा दर्शनार्थीलाई घामपानीबाट जोगाउने छानो।

व्यवस्थित घाट क्षेत्र, कर्मकाण्ड क्षेत्र, श्राद्धस्थल, योगस्थल, ध्यानस्थल, पूजाक्षेत्र, प्रवचन क्षेत्र, निःशुल्क भोजन क्षेत्र, फूल/रुद्राक्ष तथा चिनो सामग्री किनमेल क्षेत्र, जुत्ताचप्पल क्षेत्र, सुविधायुक्त पार्किङस्थल, बैँक सुविधा, पर्यटक र तीर्थयात्रीका लागि विश्राम गृह, अतिथि गृह, सूचना केन्द्र, धर्मशाला, शौचालय र स्नानगृहको व्यवस्था। आकाशबाट रातको समयमा हेर्दा पनि झलमल्ल उज्यालो देखिने पाशुपत क्षेत्र।

कञ्चन वाग्मती, जीवनको अन्तिम अवस्थामा रहेका व्यक्तिले भगवान श्रीपशुपतिनाथको दर्शन गर्न चाहेमा विशेष व्यवस्था। छिटो र सहजरूपमा दर्शन गर्न सक्ने व्यवस्था।विहानी तथा साँझको आरतीको सांगीतिक ध्वनी। समग्र क्षेत्रमा ‘ॐ नम शिवाय’ र वैदिक मन्त्रोच्चारणको गुञ्जायमान। ज्ञान–विज्ञानका तर्क र प्रवचनको धारावाहिक प्रवाह।

स्थानीय बस्तीका हरेक घरहरू मन्दिरको झल्को दिनेगरी गजुरले शोभायमान, जात्रापर्व, सांस्कृतिक झाँकीले समग्र क्षेत्र एउटा जीवन्त संस्कृतिको तस्वीर दिने। बिस्तारित मन्दिर प्राङ्गण, मृगस्थली–ध्रुवस्थली–गुह्येश्वरी–किराँतेश्वर–गौरीघाट–सुर्यघाट–कैलाश समग्र क्षेत्रमा परिक्रमा पथको विस्तार। सम्पूर्ण मूर्त–अमूर्त सम्पदाको संरक्षण र प्रवद्र्धन। विश्वव्यापीरूपमा पाशुपत क्षेत्रको महिमा विस्तार।

सूर्यघाट क्षेत्रका गुफाहरू तपोस्थलको रूपमा रूपान्तरित, समग्र क्षेत्रबाट आध्यात्मिक शक्तिको प्रवाह, मृगस्थली क्षेत्रका हरेक बृक्षमूनि ध्यानी बस्ने स्थल, विश्वरूपका सत्तलहरूबाट संस्कृतका श्लोकहरू गुञ्जायमान। पुस्तकालय, संग्रहालय, संगीतालय, महाविद्यालय, अनुसन्धान केन्द्र, अस्पतालको व्यवस्था। राममन्दिर क्षेत्र साधुसन्तको जमघटस्थल, आर्यघाट पारि पन्ध्र शिवालयदेखि माथि प्यारापिट निर्माण गर्ने ताकि पारीबाटै मन्दिर क्षेत्र अवलोकन गर्न सकिने।

विश्वका विभिन्न धार्मिक स्थलहरु लुम्बिनी–बोधगया–सारनाथ, मक्का–मदिना, भेटिकन सिटीजस्तै गरी पशुपति पनि विश्वका प्रमुख धार्मिक स्थानमध्ये हिन्दू धर्मको एक महत्वपूर्ण स्थानको रुपमा विकास गर्ने सोच रहेकाे छ।

देशका दूरदराजका दुःखी/गरीब/दैवीप्रकोप पीडितको सेवाका लागि द्रुत सेवा संयन्त्रको स्थापना (कोही पनि व्यक्ति भोक, रोग र अभावले अकालमा मर्नु नपरोस्)। असहाय र असक्तको सेवा केन्द्र। प्राणी सेवा र उपचार केन्द्र। एउटा धार्मिक र आध्यात्मिक केन्द्र – पाशुपत क्षेत्र – जहाँबाट पूर्वीय धर्म र दर्शनको विश्वभर प्रवाह भइरहन्छ। यिनै कार्यका लागि अनवरत यात्रामा यात्रारत …

गुरुयोजना

वर्तमान समयमा पशुपति क्षेत्र भनेर जति भू–क्षेत्रलाई लिइएको छ त्यसको मूल आधार वि.सं. १८७० को लालमोहर हो। सो लालमोहरमा उल्लिखित क्षेत्रलाई केही संशोधन गरेर वि.सं. २००९ सालमा एक नक्सा तयार भएको र त्यसैलाई आधार मानेर वि.सं. २०३५ सालमा पशुपति क्षेत्रको नक्सा तयार भएको हाे।

यसैमा आधारित भएर तत्कालीन सरकारले वि.सं. २०४३ फागुन १४ गते नेपाल राजपत्र भाग ३, खण्ड ३६ अतिरिक्ताङ्क ४६ मा सूचना प्रकाशित गरेर चार किल्ला तोकी धोबीखोलादेखि पूर्व विमानस्थलसम्मको २६४ हेक्टर (करीब ५००० रोपनी) भागलाई पशुपति क्षेत्र निर्धारण गरेको हो। राज्यले निर्धारण गरेको यो भाग पाशुपत क्षेत्र हो।

विश्वका विभिन्न धार्मिक स्थलहरु लुम्बिनी–बोधगया–सारनाथ, मक्का–मदिना, भेटिकन सिटीजस्तै गरी पशुपति पनि विश्वका प्रमुख धार्मिक स्थानमध्ये हिन्दू धर्मको एक महत्वपूर्ण स्थानको रुपमा विकास गर्ने सोच रहेकाे छ।

विश्वका १ अरबभन्दा बढी हिन्दूहरुको आस्थाको प्रमुख केन्द्रको रुपमा विकास गर्नु। १ अरबमध्ये १ प्रतिशत अर्थात् वार्षिक १ करोड हिन्दुले दर्शन गर्न सक्नेगरी आवश्यक पूर्वाधारको विकास गरी प्रवद्र्धन गर्ने। पशुपति क्षेत्रको जात्रापर्व, संस्कृति, प्रकृति र सम्पदाको संरक्षण गरी यसलाई धार्मिक, आध्यात्मिक रूपमा अन्तर्राष्ट्रिय सनातन तीर्थ एवं आकर्षक पर्यटकीय गन्तव्य बनाइने। राष्ट्रको आर्थिक समृद्धिको प्रमुख क्षेत्रको रुपमा विकास गर्ने।

पशुपति हिन्दू विश्वविद्यालय, पशुपति अस्पताल, पशुपति बृद्धाश्रम, पशुपति गौशाला, आयुर्विज्ञान प्रतिष्ठान, सङ्गीत तथा नृत्य अध्ययन केन्द्रजस्ता सामाजिक सेवा र उत्तरदायित्वका विषयहरु गोठाटारस्थित कोषको जमीनमा स्थापना गरिने छन्।

विश्व सम्पदा सूचिमा रहेको यो क्षेत्रमा गरिने संरक्षण र संवद्र्धनका पक्षमा पूर्णतया मापदण्डको पालना गरिने छ। पशुपति क्षेत्रको पुरानो स्वरूप पूरातात्विक सम्पदा हो, त्यो संरक्षणीय छ, नवाली टोल र त्यस पूर्वको देउपाटन बस्ती ऐतिहासिक महत्वका हुन्। प्राचीन इतिहास भएका बस्तीको पुरानो स्वरूप पुनःस्थापन गर्ने र सो क्षेत्रको प्राचीन वास्तुकलात्मक गरिमाको पुनःस्थापन गर्ने।

यहाँका जात्रापर्वहरु, परम्पराहरु हाम्रा सम्पत्ति हुन्। यी जात्रापर्वसँग जोडिएका मानव समुदाय पनि स्वाभाविक रुपमा यस क्षेत्रका गहना हुन्। ती सबैको संरक्षण र संवद्र्धन गर्ने। पशुपति विद्वत् परिषद्को व्यवस्था, धर्म र धार्मिक विधान सम्बन्धी कुनै निर्णय लिनु परेमा यो विद्वत परिषदले निरुपण गर्ने।

सोच्नुपर्ने कुरा

भावी पुस्ताले धत्तेरिका पहिल्यै सोचिदिएको भए भनेर यो समयलाई दोष दिनुभन्दा पनि अहिले नै हामीले पछिसम्मको सोच राख्न सक्यौँ भने हामीले युगको बोध गरेको ठहर्दछ। अहिलेको पुस्ताले सपना देख्ने हो अनि बल्ल आगामी युग स्वर्णिम हुने हो। समग्र राष्ट्रको विकास गर्नका लागि पनि कुनै न कुनै क्षेत्र उदाहरण वा मानकको रुपमा रहनैपर्दछ। त्यही मानक र नमूना क्षेत्रको रुपमा विकास गर्नका लागि हामीले पाशुपत क्षेत्रको गुरुयोजना तयार गरेका छौँ।

गुरुयोजना युगमा रहने कुरा हो, बर्षमा होइन,हामी अहिले वर्षमा छौँ। वर्षमा सोच्दा हामीलाई तात्कालिक परिस्थितिले प्रभाव पार्दछ। तर राष्ट्रको गरिमा युगौँमा रहन्छ। त्यो गरिमालाई विश्वमञ्चमा उद्घोष गर्न हाम्रा आराध्यदेव भगवान पशुपतिनाथको यो पावन भूमिबाट हामीले सुरुवात गर्नैपर्दछ।

जय श्रीपशुपतिनाथ !

लेखक पशुपति क्षेत्र विकास काेषका सदस्य सचिव हुन्


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *