मलेसियामा नेपालीकै हत्याको अभियोगमा ३ नेपाली पक्राउ

डिसी नेपाल
१५ साउन २०७७ ११:२८

काठमाडौं। मलेसियामा नेपालीकै हत्याको अभियोगमा ३ जना नेपाली पक्राउ परेका छन् । मलेसियाली अखबार द स्टारका अनुसार त्यहाँको कुलाइ जिल्लाको इन्दाहपुरामा मंगलबार बिहान एक नेपालीको हत्या भएको थियो ।

कुलाइ जिल्लाका प्रहरी प्रमुख टोक बेंग योका अनुसार पुलिसलाई एक व्यवसायिक प्रतिष्ठानको परिसरमा एक व्यक्ति अचेत अवस्थामा रहेको भन्दै मंगलबार बिहान ४ बजेर २० मिनेटमा फोन आएको थियो । ‘शरीरको जाँच गर्दा पीडितको दाहिने आँखा र अनुहारमा चोटको निशान भेटिएको थियो र उनको मुखबार रगत आइरहेको थियो’ टोक बेंगले भने ।

उनका अनुसार घटनास्थलबाट पुलिसले हत्याको लागि हतियारको रुपमा प्रयोग गरिएको हुन सक्ने कुनै वस्तु फेला पारेको छैन । पीडित कुनै झगडामा सरिक भएको र झगडाकै क्रममा उनको मृत्यु भएको हुन सक्ने कुरालाई पुलिसले अस्वीकार गरिसकेको छैन । घटनास्थलमा आएको मेडिकल टिमले उनको मृत्यु भइसकेको पुष्टि गरेपछि शवलाई पोस्टमार्टमका लागि सुल्तानाह अमिनाह अस्पताल पठाइएको छ ।

पोस्टमार्टम रिपोर्टमा उनको मृत्यु पेटमा कडा वस्तुले हिर्काएका कारण भएको उल्लेख छ । पुलिसले अनुसन्धानका क्रममा प्राप्त सूचनाका आधारमा मंगलबारकै दिन साढे ११ देखि साढे १२ बजेको समयमा तीन जना शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरेको छ । मृतक र पक्राउ परेका नेपालीहरुको पहिचान खुलाइएको छैन । पक्राउ परेकाहरु २३ वर्षदेखि ३७ वर्ष उमेरका छन् ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले पनि घटनाबारे आफूले खवर पाएको बताए । ‘स्थानीय संचारमाध्यममार्फत हामीले पनि घटनाबारे खवर पाएका छौँ । जोहोरबारु राज्यको कुलाइ भन्ने ठाउँमा घटना भएको रहेछ,’ राजदूत पाण्डेले क्वलालम्पुरबाट डिसी नेपालसँग टेलिफोनमा भने, ‘घटनाबारेमा हामीले आधिकारीक रुपमा बुझ्न कुलाइको स्थानीय प्रहरीसँग सम्पर्क गरेका थियौँ । तर, त्यहाँको प्रहरी इन्चार्ज अहिले बाहिर हुनुहुँदो रहेछ । इन्चार्ज आएपछि यसबारेमा दूतावासलाई त्यहाँको प्रहरीले रिपोर्टिङ गर्ने जनाएको छ ।’ आधिकारीक जानकारी आएपछि मात्रै घटनाबारेमा विस्तृतमा थाहा हुने पाण्डेले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *