‘बहराइनमा कोरोना संक्रमित सबै नेपाली निको भएर काममा फर्किसके’

डिसी नेपाल
१८ साउन २०७७ १६:२४

काठमाडौँ । बहराइनमा कोरोना भाइरसबाट संक्रमित भएका सबै नेपालीहरु निको भएका छन् । संक्रमित सबै नेपाली पूर्णरुपमा निको भएर काममा फर्किसकेको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बताए ।

उनका अनुसार बहराइनमा ५ सयभन्दा बढी नेपालीहरु कोभिड–१९ बाट संक्रमित भएका थिए । अहिले संक्रमित सबै निको भएका छन् । बहराइनमा कोरोनाकै कारण कुनै पनि नेपालीको मृत्यु नभएको पनि उनले बताए । ‘५ सयभन्दा धेरै नेपालीलाई संक्रमण पुष्टि भएको थियो । अहिले सबै निको भएर काममा फर्किसक्नुभएको छ,’ उनले डिसी नेपालसँग भने ।

कोरानाकै कारणले बहराइनमा कुनै नेपालीको मृत्यु नभए पनि कोरोनाको त्रासले त्यहाँ २ नेपालीले आत्महत्या भने गरेका छन् । कोरोना संक्रमित एक जनाले क्वारेन्टाइनमा र एक जनाले घरमै आत्महत्या गरेको राजदूत सुन्दासले बताए ।

उनले बहराइन सरकारले संक्रमित नेपालीको उपचारमा कुनै भेदभाव नगरेको पनि बताए । स्वास्थ्य क्षेत्रमा बहराइन सरकारको गुणस्तरीय सेवा भएकोले पनि संक्रमित सबैले पूर्ण रुपमा स्वास्थ्य लाभ गरेको उनले बताए ।

सुरुवाती दिनहरुमा बहराइनमा तीव्र गतिमा कोरोना भाइरसको संक्रमण बढे पनि अहिले सामान्य भैसकेको उनले बताए । बहराइनमा हालसम्म ४१ हजार १ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भैसकेको छ । संक्रमितमध्ये १४७ जनाको ज्यान गएको छ । अहिले बहराइनमा २ हजार ८ सय वटा मात्रै ‘एक्टिभ केस’ छन् ।

राजदूत सुन्दासका अनुसार अहिले बहराइनको जनजीवन सामान्य हुँदै गएको छ । कोरोना महामारीका कारण बहराइनमा समस्यामा परेका करिब १ हजार नेपाली चार्टर्ड जहाजमार्फत स्वदेश फर्किएका छन् । अहिले बहराइनबाट फर्कन चाहने नेपाली नभएको उनले बताए । अन्तिम चार्टर्ड फ्लाइटमा फर्किने कम भएर ५० सिट जति खाली भएको पनि उनले सुनाए ।

बहराइन फर्किएपछि ७ दिन आइसोलेसनमा

बहराइनले अहिले विदेशी नागरिकको हकमा नयाँ रोजगारी सिर्जना नगरेपनि त्यहाँको भिसा भएका विदेशी श्रमिकहरुलाई बहराइन फर्कन अनुमति भने दिएको छ । यसरी फर्कनेहरुको साथमा कोरोना नेगेटिभ भएको प्रमाण हुनुपर्नेछ ।

राजदूत सुन्दासका अनुसार बहराइनले यात्रु ओर्लिने बित्तिकै विमानस्थलमा समेत कोरोनाको जाँच गर्नेछ । जाँचमा नेगेटिभ आएमा उनीहरुलाई सात दिनसम्म होम आइसोलेसन बस्न भनिनेछ । त्यसपछि दोस्रो पटक पुनः कोरोनाको जाँच गरिनेछ । कोरोना परीक्षणको लागि दुई पटकमा गरेर ६० दिनार (नेपाली करिब १९ हजार) खर्च लाग्ने राजदूत सुन्दासले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *