च्याम्पियन्स लिग आजदेखि, मैदानमा थुके पहेंलो कार्ड ! यस्ता छन् अन्य नियम
काठमाडौं। युरोपेली क्लव फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युइएफए च्याम्पियन्स लिग आजदेखि सुरु हुँदैछ । रोकिएको जारी सिजन १४८ दिनपछि पुनः सुचारु हुन लागेको हो । कोरोना महामारीका कारण खेल बिना दर्शक खेलिनेछन् । मैदानमा थुक्ने खेलाडीलाई पहेंलो कार्ड दिइनेछ र संक्रमणको खतरा कम गर्नको लागि एक खेलमा ३० फुटबल प्रयोग गरिनेछन् ।
अब ८ टिमहरुबीच १७ दिनमा ११ खेल खेलिनेछन् । फाइनलसमेत सबै खेलहरु पोर्चुगलको राजधानी लिस्बनमा हुनेछन् । सबै खेल नेपाली समयअनुसार राती पौने १ बजे हुनेछन् । च्याम्पियन्स लिगमा प्रि–क्वाटरफाइनलका ४ खेल हुन बाँकी छन् जो आज र भोलि खेलिनेछन् । आज युभेन्टस र लियोन तथा म्यान्चेस्टर सिटी र रियल मड्रिड खेल्नेछन् । यस्तै भोलि बार्सिलोना र नापोती तथा बायर्न म्युनिख र चेल्सी खेल्नेछन् ।
च्याम्पियन्स लिगको जारी सिजनमा अघिल्लो सिजनको च्याम्पियन र फाइनलिस्ट दुवै प्रि क्वाटरफाइनलबाटै बाहिरिइसकेका छन् । डिफेण्डिङ च्याम्पियन लिचरपुललाई एथ्लेटिको मड्रिडले बाहिर पठाइदिएको हो । अर्को फाइनलिस्ट टोटनह्याम हटस्परलाई आरबी लेपजेडले आउट गरिदिएको हो । पिएसजीले जर्मन क्लव बोरुसिया डर्टमण्डलाई आउट गरेर क्वाटरफाइनल पुगेको छ भने अटलान्टाले भ्यालेन्सियालाई आउट गरेर क्वाटरफाइनल पुगेको छ ।
पहिलो पटक क्वाटरफाइनल र सेमिफाइनलका खेलहरु एउटै लेगमा हुनेछन् । यसअघि क्वाटरफाइनल र सेमिफाइनलका खेलहरु २ लेगमा हुन्थे । हरेक टिमले लेगको एउटा खेल आफ्नो घरेलु मैदान र अर्को खेल विपक्षी टिमको घरेलु मैदानमा खेल्थे । यसपटक सबै खेल बिना दर्शक हुनेछन् । एक खेलमा ३० बल प्रयोग गरिनेछ ।
स्टेडियममा बिलबोर्ड र स्क्रिनमा कोरोना गाइडलाइनहरु देखाइनेछन् । मैदानमा थुक्ने खेलाडीलाई पहेंलो कार्ड दिइनेछ । फुटबल मैदानबाहिर गएमा बल ब्वायहरुले त्यसलाई सेनिटाइज गरेर मात्र पुनः मैदानमा पठाउनेछन् । सामाजिक दूरी कायम गर्नको लागि खेलाडीहरुलाई एकभन्दा धेरै बसहरुमा ओसारिनेछ । कुनै पनि खेलाडी पोजेटिभ भएमा पूरै टिम र स्टाफलाई क्वारेन्टाइनमा राखिनेछ । हरेक टिमले एक खेलमा ५ खेलाडी बदल्न पाउनेछन् । यसअघि ३ खेलाडी मात्र बदल्न पाइन्थ्यो ।







डिसी नेपाल








Facebook Comment