च्याम्पियन्स लिग फाइनल आज, धेरै पछाडि पर्न सक्छन् मेस्सी–रोनाल्डो, दर्जनौं रेकर्ड दाउमा !

डिसी नेपाल
७ भदौ २०७७ १४:०७

काठमाडौं। युरोपेली क्लव फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको फाइनल आज हुँदैछ । आज युरोपेली फुटबलमा मात्र नभइ विश्व फुटबलमै दर्जनौं नयाँ रेकर्ड बन्न सक्छन् । पछिल्लो एक दशक विश्व फुटबलमा एकछत्र राज गरेका क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी धेरै पछाडि छोडिन सक्छन् । मेस्सीले ३३ वर्षको उमेरमा र रोनाल्डोले ३५ वर्षको उमेरमा हासिल गर्न नसकेको उपलब्धी किलियन एम्बाप्पेले २१ वर्षको उमेरमै हासिल गर्न सक्छन् ।

लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले अहिलेसम्म घरेलु लिग र च्याम्पियन्स लिग जितेका छन् तर विश्वकप जित्न सकेका छैनन् । यदि आजको खेल पीएसजीले जितेमा किलियन एम्बाप्पेले यी तीनवटै उपलब्धी हासिल गर्दै रोनाल्डो र मेस्सीलाई धेरै पछाडि छोड्न सक्छन् । एम्बाप्पेले २०१८ मा विश्वकप फाइनलमा एक गोल गरेका थिए र उनको देश फ्रान्सले उपाधि जितेको छ । विश्वकपको अहिलेको च्याम्पियन फ्रान्सका एम्बाप्पेले यो सिजनको घरेलु लिग वन पनि जितिसकेका छन् । आज हुने च्याम्पियन्स लिग जितेमा एम्बाप्पे विश्वकप, घरेलु लिग र च्याम्पियन्स लिग सबैको च्याम्पियन बन्नेछन् ।

पीएसजीको लागि च्याम्पियन्स लिगको आजको खेल निकै ठूलो अवसर हो किनकि पीएसजी ५० वर्षपछि पहिलो पटक यो प्रतियोगिताको फाइनलमा पुगेको छ । आज पीएसजीले यो फाइनल जित्न सकेमा इतिहासमै पहिलो पटक च्याम्पियन्स लिग जित्नेछ । यतिमात्र होइन आज पीएसजीले जितेमा यो दशकमा ट्रेबल पूरा गर्ने तेस्रो क्लव बन्नेछ । यो दशकमा यसअघि बायर्न म्युनिखले २०१२–१३ मा र बार्सिलोनाले २०१४–१५ मा ट्रेबल पूरा गरेका थिए ।

बार्सिलोनाले यसअघि २००८–०९ मा पनि ट्रेबल पूरा गरेको थियो । २ पटक ट्रेबल पूरा गर्ने बार्सिलोना एकमात्र टिम हो । आजको फाइनल बायर्नले जितेमा उसको पनि ट्रेबल पूरा हुनेछ र बार्सिलोनाको २ ट्रेबलको रेकर्ड बराबरी हुनेछ । एक पटक ट्रेबल भने अरु क्लवले पनि पूरा गरेका छन् । म्यान्चेस्टर युनाइटेडले १९९८–९९, बार्यन म्युनिखले २०१२–१३, इन्टर मिलानले २००९–१०, सेल्टिकले १९६६–६७, एएफसी अयाक्सले १९७१–७२ र पीएसभी इन्धोवेनले १९८७–८८ मा ट्रेबल पूरा गरेका थिए । कुनै पनि क्लवले घरेलु लिग, घरेलु क्लव र च्याम्पियन्स लिग गरी तीनवटै उपाधि जितेमा त्यसलाई ट्रेबल भनिन्छ ।

पीएसजी १६ वर्षपछि च्याम्पियन्स लिगको फाइनल पुग्ने फ्रेन्च क्ल्व हो । यसअघि फ्रान्सको क्लव मोनाको २००३–०४ सिजनमा फाइनल पुगेपछि कुनै पनि फ्रान्सको क्लव फाइनल पुग्न सकेको थिएन । यद्यपि फाइनलमा मोनाको पोर्चुगलको क्लव पोर्तोसँग ३–० ले हारेको थियो । अहिलेसम्म फ्रान्सको एउटा मात्र क्लवले च्याम्पियन्स लिग जितेको छ । १९९२–९३ मा फ्रेन्च क्लव मार्सेलेले उपाधि जितेको थियो । मार्सेलेले २ पटक फाइनल खेलेको छ । १९९१ मा उसले सर्वियाको क्लव रेडस्टार बेलग्रेडसँग फाइनल हारेको थियो ।

पीएसजीले सबैभन्दा धेरै खेलपछि फाइनल पुगेको रेकर्ड बनाएको छ । उसलाई फाइनल पुग्न ११० खेल खेल्नुपर्यो । यसअघि आर्सनल ९० खेलपछि २००६ मा फाइनल पुगेको थियो । बार्यन म्युनिखले भने यो सिजन एउटा पनि खेल होको छैन । उसले सबैभन्दा धेरै ४२ गोल गरेको छ । म्युनिकविरुद्ध विपक्षी टिमले ८ गोल मात्र गर्न सकेका छन् । यदि फाइनलमा पिएसजीविरुद्ध बार्यनले ३ गोल गर्न सके अर्को रेकर्ड बन्नेछ । बार्सिलोनाको नाममा एक सिजनमा सर्वाधिक गोलको रेकर्ड छ । बार्सिलोनाले १९९९–२००० सिजनमा ४५ गोल गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.