मेस्सीले बार्सिलोना छाड्ने निश्चित ! मेस्सीका पिताले बार्सिलोनाका अध्यक्षलाई भेट्दै

डिसी नेपाल
१५ भदौ २०७७ १२:५७

काठमाडौं। स्टार फुटबलर लियोनेल मेस्सीका पिता जर्जले बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउसँग भेट्ने भएका छन् । मेस्सीले बार्सिलोना छाड्ने प्रक्रियाकै विषयमा छलफल गर्न उनले बार्टोमेउलाई भेट्न लागेको बेलायती अखबार मिररले लेखेको छ । मेस्सीले स्पेनको क्लव बार्सिलोना छाडेर बेलायतको क्लव म्यान्चेस्टर सिटी जाने चर्चा छ ।

मेस्सीले गत हप्ता बार्सिलोनालाई एक पत्र लेख्दै आफूले क्लव छाड्न चाहेको बताएका थिए । बार्सिलोनाबाटै १६ वर्षअघि सिनियर फुटबलको करिअर सुरु गरेका मेस्सीले अहिलेसम्म क्लव फेरेका छैनन् । आफ्नो पूरै करिअर बिताएको क्लव अचानक छाड्न चाहेको उनको पत्रले विश्व फुटबल नै तरंगित भएको थियो । यी अर्जेन्टिनी सुपरस्टारले फेपर पेप ग्यार्डिओलासँग खेल्न चाहेका छन् जसका लागि उनी म्यान्चेस्टर सिटी जानुपर्छ । तर, सिटीले उनलाई त्यतिबेला मात्र लैजान सक्छ जब उसले बार्सिलोनासँग मेस्सीको ७०० मिलियन युरोको रिलिज क्लजका विषयमा कुनै सहमति गर्न सक्छ ।

हुन त मेस्सीको बार्सिलोनासँगको सम्झौतामा एउटा विशेष व्यवस्था छ जसअनुसार उनले कुनै पनि सिजनको अन्त्यमा निःशुल्क बार्सिलोना छाड्न पाउँछन् । तर, अहिले बार्सिलोनाले यो व्यवस्था जूनको अन्त्यपछि वैधानिक नहुने बताएको छ र उनीहरुको यो अडानलाई ला लिगाले पनि समर्थन गरेको छ । मेस्सीलाई धेरैले सर्वकालीन महान खेलाडी मान्छन् र उनी हालै आफ्नो क्लवबाट निराश भएपछि क्लवबाट बाहिरिने आफ्नो चाहनामा अडिग रहन्छन् भन्ने विश्वास गरिन्छ ।

इटालियन पत्रकार टाङक्रेडी पाल्मेरीका अनुसार अब यही विषयलाई अगाडि बढाउनको लागि मेस्सीका पिताले यही बिहीबार बार्टोमेउलाई भेट्ने तय भएको छ । उता बार्टोमेउले पनि मेस्सी क्लवमै बस्न सहमत भए आफूले अध्यक्ष पद छाड्न तयार भएको बताएको रिपोर्ट पनि सार्वजनिक भएको छ । यद्यपि सीबीएस स्पोर्टसको रिपोर्टअनुसार बार्टोमेउले पद छाड्दैमा मेस्सीलाई क्लव छाड्ने चाहनाबाट फर्काउन सकिने सम्भावना भने छैन । पत्रकार फाब्रिजियो रोमानोले ट्वीटरमा लेख्दै मेस्सीले आफ्नो सोच परिवर्तन नगर्ने र बार्सिलोना र ला लिगासँग आमनेसामने हुन तयार रहेको दावी गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.