दक्षिण कोरियाको विमानस्थलमा अलपत्र ३७ नेपालीलाई अर्को उडानबाट नेपाल पठाइने, टिकट नलाग्ने

डिसी नेपाल
२० भदौ २०७७ १२:२१

काठमाडौं । दक्षिण कोरियाको विमानस्थलमा अलपत्र परेका ३७ नेपालीको उद्धार हुने भएको छ । दक्षिण कोरियाको इन्छान अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका एक युवती र ३६ जना युवाको अर्को उडानमा उद्धार हुने भएको सौलस्थित नेपाली दूतावासले जनाएको छ । शुक्रबार बिहान नेपाल फर्किन विमानस्थल पुगेका उनीहरूलाई एयरलाइन्सले विमानस्थलमै छोडेर उडेपछि अलपत्र परेका थिए ।

शुक्रबार स्थानीय समय अनुसार बिहान ५ बजे दक्षिण कोरियाबाट काठमाडौं आउने कोरियन एयरलाइन्सको जहाजमा उड्नको लागि उनीहरूले टिकट काटेका थिए । सो उडानमा उनीहरूसँगै २३८ नेपालीले स्वदेश फर्किने तय थियो । तर, अन्तिम समयमा एयरलाइन्सका प्रतिनिधिहरुले कोरोना परीक्षण गरेको रिपोर्ट अस्पष्ट भएको भन्दै बाजुराका प्रभाव शाही, पाँचथर फिदिमका सरोज गुरुङसहित ३७ जना नेपालीलाई छोडेर बाँकीलाई लिइ जहाज काठमाडौं उडेको थियो ।

एयरलाइन्सले उनीहरूको रिपोर्टमा ‘पीसीआर’ नलेखिएको भनेको थियो तर उनीहरु सबै जनाले भने कोरोनाको ‘पीसीआर’ परीक्षण नै गरेको दावी गरेका छन् । रिपोर्टमा पीसीआर शब्द नलेखिनु आफ्नो दोष नभएको बताउँदै उनीरुले यसबारेमा टिकट बिक्रेता एजेन्सी केएमआइ ट्राभल्स र सम्बन्धित एयरलाइन्स नै जिम्मेवार हुने बताएका थिए। दूतावासले भने ३४ जनाको कोरोना परीक्षण रिपोर्टमा भएको त्रुटि, ४ जनाको अध्यागमनसम्बन्धी समस्या र १ जनाको उच्च तापक्रमको कारणले गरी जम्मा ३९ जना नेपाली स्वदेश फर्किनबाट वञ्चित भएको जनाएको छ ।

सो विषयमा आफूहरुलाई कोरियन एयरले पत्र पठाएको दूतावासले जनाएको छ । अब हुने तत्कालको अर्को उडानमा फेरि टिकट काट्नु नपर्ने गरी पीसीआर रिपोर्टको त्रुटि र उच्च तापक्रमको कारणले रोकिएका यात्रुको व्यवस्थापन गर्ने सहमति भएको दूतावासले जनाएको छ ।

नेपाल फर्किन नपाइ अलपत्र परेका नेपालीहरुलाई अर्को उडान नहुँदासम्म खाने तथा बस्ने व्यवस्थापन भइरहेको समेत दूतावासले जनाएको छ । उनीहरुलाई करिब २० घण्टापछि विमानस्थलबाट सुरक्षित स्थानमा सारिएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *