२ वटा टिमले अफर दिँदा पनि आइपिएल खेल्न नपाउने भए मुस्तफिजुर रहमान

डिसी नेपाल
२० भदौ २०७७ १३:४१

काठमाडौं। बंगलादेशका स्टार बलर मुस्तफिजुर रहमान यो सिजन इण्डियन प्रिमियर लिग खेल्न नपाउने भएका छन् । मुस्तफिजुरलाई यो सिजन आफ्नो टिममा आबद्ध गर्नको लागि ४ पटकको आइपिएल विजेता र अहिलेको डिफेण्डिङ च्याम्पियन मुम्बइ इण्डियन्स र दुई पटकको उपाधि विजेता कोलकाता नाइटराइडर्सले अफर दिएका थिए । तर, बंगलादेश क्रिकेट बोर्डले मुस्तफिजुरलाई आइपिएल खेल्नको लागि नो अब्जेक्सन लेटर (एनओसी) नदिएपछि उनी आइपिएल खेल्न नपाउने भएका हुन् ।

क्रिकेटसम्बन्धी वेबसाइट क्रिकबजले बीसीबी अपरेशन्सका अध्यक्ष अकरम खानको हवाला दिँदै लेखेअनुसार मुस्तफिजुरलाई बोर्डले एनओसी नदिनुको कारण श्रीलंका टुर हो । अर्को महिना बंगलादेश श्रीलंका टुरमा जाँदैछ । मुस्तफिजुरले मार्च २०१९ देखि टेस्ट खेलेका छैनन् । उनले गएको विश्वकपमा २० विकेट लिएका थिए । यी तीब्रगतिका बलरले १३ टेस्टमा २८, ५८ एकदिवसीयमा १०९ विकेट लिएका छन् । मुस्तफिजुर आइपिएल २०१८ मा मुम्बइको लागि खेलेका थिए । २०१६ र १७ मा सनराइजर्स हैदराबादका लागि खेलेका उनलाई यस पटकको लिलामीमा कसैले किनेका थिएनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.