बल चम्काउन सेनिटाइजर लगाएपछि क्रिकेटर निलम्बित

डिसी नेपाल
२१ भदौ २०७७ १३:२०

काठमाडौं। क्रिकेट खेल्दै गर्दा बल चम्काउन सेनिटाइजर लगाएपछि एक क्रिकेटर निलम्बनमा परेका छन् । इङल्याण्डको काउन्टी क्रिकेट खेलिरहेका तीब्र गतिका बलर मिच क्लेडेनले गत महिना भएको एक खेलमा बल चम्काउन सेनिटाइजर प्रयोग गरेका थिए । यो विषयमा जाँचपछि इङल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डले उनलाई दोषी ठहर गरेको छ । उनी दोषी ठहर भएसँगै उनको क्लव ससेक्सले उनलाई निलम्बन गरेको द गार्डियनको समाचारमा उल्लेख छ ।

ससेक्सले आफ्नो वेबसाइटमा भनेको छ ‘मिच क्लेडेनलाई हाम्रो खेलमा मिडिलसेक्सविरुद्ध खेल्दा बलमा ह्याण्ड सेनिटाइजर लगाएको इसीबीको आरोपपछि निलम्बन गरिएको छ । अब यस विषयमा थप कुनै टिप्पणी गरिने छैन । क्लेडेनले अब सर्रेविरुद्ध बब भिलेज ट्रफी पनि खेल्न पाउने छैनन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषदले क्रिकेट खेल्ने क्रममा बल चम्काउन थुक लगाउन यसअघि नै प्रतिबन्ध लगाइसकेको छ । खेलाडीले पसिनाको प्रयोग भने गर्न पाउनेछन् । आइसीसीले थुकको स्थानमा कुनै कृत्रिम पदार्थ प्रयोग गर्न अनुमति दिएको छैन ।

आइसीसीले पसिना प्रयोग गरेर बल चम्काउन अनुमति दिएको भए पनि अहिले जारी इङल्याण्ड र अस्ट्रेलियाबीचको सीमित ओभरको सिरिजमा अस्ट्रेलियाका खेलाडीले बल चम्काउन पसिना प्रयोग गर्न पाउने छैन । उनीहरुको देशको बोर्ड क्रिकेट अस्ट्रेलियाले पसिनाको प्रयोगमा पनि प्रतिबन्ध लगाएको छ । यसअघि इङल्याण्डका तीब्र गतिका बलर जोफ्रा आर्चरले वेष्ट इण्डिजविरुद्धको खेलमा यो नियम तोडेपछि उनी कारवाहीमा परिसकेका छन् । उनलाई जरिवाना तिराएर एक खेलमा प्रतिबन्ध पनि लगाइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.