साउदी अरेबियामा भिसा र बसोबास अनुमतिको म्याद थप्न पैसा नलाग्ने

डिसी नेपाल
२४ भदौ २०७७ ११:३२

काठमाडौं। साउदी अरेबियाले आफ्नो देशमा रहेका विदेशीहरुका लागि बसोबास अनुमति र भिसाको म्याद एक महिनासम्म थप गर्नको लागि कुनै शुल्क नलाग्ने व्यवस्था गरेको छ । अरब न्युजका अनुसार सोमबार यहाँको राहदानी महानिर्देशनालय (जवाजात)ले साउदी अरेबिया फर्किन चाहेका विदेशीहरुको पुनः प्रवेश भिसाको वैधता अवधि थप गरेको हो । महामारीका कारण साउदी अरेबियाले अन्तर्राष्ट्रिय उडान बन्द गरेका कारण विदेशमै अड्किएकाहरुका लागि यो व्यवस्था गरिएको हो ।

यो व्यवस्थाले साउदीबाट नेपाल फर्किएका तर उडान बन्द भएका कारण साउदी फर्किन नपाएर नेपालमै अड्किएका नेपालीहरु लाभान्वित हुनेछन् । यो व्यवस्था साउदीबाट बाहिरिएपछि उतै अड्किएकाहरुका लागि मात्र नभइ साउदीमै रहेका तर भिसाको अवधि सकिएकाहरुका लागि पनि लागू हुनेछ । अब साउदीमै भएका तर भिसा अवधि सकिएकाहरुले भिसा सकिएको एक महिनासम्म नेपाल फर्किने क्रममा बिलम्ब शुल्क पनि तिर्नु पर्ने छैन ।

यो व्यवस्था घरेलु ती कामदार र अन्य श्रमिकका हकमा लागू हुनेछ जसको बसोबार अनुमति (इकामा) विदेशमा रहँदै सकिइसकेको छ र यात्रा प्रतिबन्धका कारण साउदी फर्किन सकेका छैनन् । साउदीमै रहेर भिसा अवधि सकिएका तर साउदीबाट बाहिरिन नसकेकाहरुका लागि पनि यो सुविधा दिइएको छ र उनीहरुको भिसा अवधि सेप्टेम्बर ३० सम्मका लागि थप गरिएको छ । व्यापारिक पेसामा आबद्ध रहेका र साउदी फर्किन नसकेका विदेशीहरुको लागि पनि इकामा अवधि थप गरिएको छ । यो सुविधा पाउन उनीहरुको इकामाको म्याद अगष्ट १ देखि अगष्ट ३१ को बीचमा सकिएको हुनुपर्नेछ ।

म्याद थपको निर्णय राष्ट्रिय सूचना केन्द्रसँगको समन्वयमा स्वचालित रुपमा लागू हुनेछ । साउदी अरेबियाले जी २० का देशहरुका विदेश मन्त्रीहरुसँग अन्तर्राष्ट्रिय उडान खुला गर्ने विषयमा छलफल गरेको ४ दिनपछि यो निर्णय आएको हो । साउदीका विदेश मन्त्री राजकुमार फैजल बिन फरहानले यो निर्णयले जी २० का देशहरुको अर्थतन्त्र उकास्न सहयोग गर्ने बताएका छन् । साउदीले मार्च १५ देखि अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *