अस्ट्रेलियाले नेपाली विद्यार्थीको भिसा ‘रिजेक्ट’ गर्न छाड्यो, आवेदन गर्नेजतिको भिसा स्वीकृत !

डिसी नेपाल
२४ भदौ २०७७ १४:२८

काठमाडौं। कोरोनाभाइरस महामारीका कारण पूरै विश्व प्रभावित भइरहँदा यसले नेपालबाट अध्ययनका लागि अस्ट्रेलिया जाने नेपाली विद्यार्थीको भिसा स्वीकृति दरमा ठूलो प्रभाव पारेको छ । पहिले अध्ययनका लागि अस्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीमध्ये केहीको भिसा अस्वीकृत हुने गरेको थियो तर पछिल्लो समय नेपाली विद्यार्थीको भिसा आवेदन अस्वीकृत हुन छाडेको छ । अस्ट्रेलियाको गृह मन्त्रालयको तथ्यांकका आधारमा इन्डिपेन्डेन्ट अस्ट्रेलियाका पत्रकार अबुल रिज्वीले तयार पारेको रिपोर्टमा २०२० को अप्रिलदेखि जूनको बीचमा नेपाली विद्यार्थीको भिसा स्वीकृति दर ८१.५ प्रतिशतबाट बढेर १०० प्रतिशत पुगेको उल्लेख छ ।

अस्ट्रेलियामा ठूलो संख्यामा विदेशी विद्यार्थीहरु अध्ययनका लागि जान्छन् । अस्ट्रेलिया जाने कूल विदेशीमध्ये ४० प्रतिशत विद्यार्थीहरु हुन्छन् र त्यहाँको जनसंख्या वृद्धिदरको २५ प्रतिशत हिस्सा विदेशी विद्यार्थीहरुले ओगट्छन् । अस्ट्रेलिया धेरै विद्यार्थी पठाउने देशहरुको सूचीमा पनि नेपाल तेसे स्थानमा पर्छ । अस्ट्रेलिया जाने विद्यार्थीहरुमध्ये सबैभन्दा धेरै चीनबाट जान्छन् । दोस्रो ठूलो संख्या भारतको र तेस्रो ठूलो संख्या नेपालको छ । तर, पछिल्लो समय महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द, सीमा बन्द लगायतका कारणले अस्ट्रेलिया जाने विद्यार्थीको संख्यामा भने भारी गिरावट आएको छ ।

त्यहाँको गृह मामिला विभागको रिपोर्टअनुसार २०१९ को सेप्टेम्बरमा अस्ट्रेलियाले नेपाल, भारत लगायतका देशका विद्यार्थीहरुको भिसा स्वीकृतिमा कडाइ गरेको थियो । चीनका विद्यार्थीहरुको भिसा भने नीतिबाहेक अन्य कारणले कम स्वीकृत हुन थालेका थिए । अस्ट्रेलियाको कडाइका कारण २०१९ को जुलाइदेखि २०२० को फेब्रुअरीसम्म ८ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ हजार ५ सयले कमी आएको थियो । मार्चदेखि जूनसम्मको ४ महिनाको अवधिमा भने अघिल्लो वर्ष यही अवधिको तुलनामा ७७ हजारले कमी आयो ।

२०१८–१९ मा २ लाख ८९ हजार ६९१ विदेशी विद्यार्थीले भिसा आवेदन दिएका थिए तर २०१९–२० मा यो संख्या १ लाख ९२ हजार ७२३ मा झरेको थियो । चीनबाट २० प्रतिशत, भारतबाट ४६.७ प्रतिशत, नेपालबाट ६०.७ प्रतिशत र ब्राजिलबाट ३४.२ प्रतिशत विद्यार्थीमा कमी आएको थियो । अर्कोतर्फ पछिल्लो समय भिसा स्वीकृति दरमा भने अत्यन्तै वृद्धि भएको छ । अस्ट्रेलयामा पहिलेदेखि नै रहेका विद्याथीृहरुको भिसा स्वीकृति दर बढेर शतप्रतिशत पुगेको छ । मार्चसम्म यो दर ९३.५ प्रतिशत मात्र थियो ।

बाहिरबाट अस्ट्रेलिया जान चाहने विद्यार्थीको भिसा स्वीकृति दर पनि अत्यन्तै बढेको छ । २०२० को जनवरीदेखि मार्चसम्म ८९ प्रतिशत रहेको भिसा स्वीकृति दर मार्चदेखि जूनसम्ममा बढेर ९६.२ प्रतिशत पुगेको छ । भारतीय विद्यार्थीको भिसा स्वीकृति दर ८१.३ प्रतिशतबाट बढेर ९७ प्रतिशत पुगेको छ भने नेपाली विद्यार्थीको भिसा स्वीकृति दर ८१.५ प्रतिशतबाट बढेर शतप्रतिशत पुगेको छ । यसबाहेक हङकङ, इण्डोनेसिया, पाकिस्तान, साउदी अरेबिया, मलेसिया, नाइजेरिया, ब्राजिल, केन्या, सिंगापुर, बेलायत र अमेरिकाका विद्यार्थीको भिसा स्वीकृति दर पनि शतप्रतिशत पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *