मोदीलाई उनकै मन्त्रीले दिइन् झड्का

डिसी नेपाल
१ असोज २०७७ २१:२७

नयाँ दिल्ली (एजेन्सी)। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई झड्का दिने गरी एक केन्द्रीय मन्त्रीले बिहीबार पदबाट राजीनामा दिएकी छन्। केन्द्रीय मन्त्री हरसिमरत कौर बादलले मोदी सरकारले संसदमा पेस गरेको कृषि सम्बनधी विधेयकको विरोध गर्दै पदबाट राजीनामा दिएकी हुन्।

भाजपाको सत्ता साझेदार दल अकाली शिरोमणी दलकी नेतृ बादलले सरकारले ल्याएको कृषि सम्बनधी विधेयक कृषक विरोधी भएको भन्दै विधेयकविरुद्धको आन्दोलनलाई समर्थन गरेकी छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा आफूले राजीनामा दिएको र कृषक आन्दोलनको पक्षमा रहेको बताएकी छन्।

केन्द्र सरकारले सोमबार तीन वटा विधेयक संसदमा पेस गरेको छ। प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेसले पनि ती विधेयकप्रति आपत्ति प्रकट गरेको छ। काँग्रेस नेता राहुल गान्धीले कृषकमाथि घात गर्न कालो विधेयक ल्याइएको टिप्पणी गरेका छन्।

ती विधेयक लागू भए कृषि जमिन ठूला व्यापारीको हातमा जाने र वास्ताविक किसान मर्कामा पर्ने भन्दै भारतमा विरोध भइरहेको छ। विधेयकमा भाडामा खेति गर्न पाउने व्यवस्था गरिएको छ। यो व्यवस्थाको सबैभन्दा धेरै विरोध भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *