नेपालमा शान्ति भाँड्ने तत्व र राष्ट्रिय सुरक्षा

डिसी नेपाल
९ असोज २०७७ ९:५५

दुनियाँले यस वर्षको विश्व शान्ति दिवस मनाएको दुई दिनमात्र बितेको छ। यो दिवसको सन्दर्भ पारेर युद्धरत र द्वन्द्वरत पार्टीले युद्ध बिराम गर्नुपर्दछ। हतियार बिसाएर विश्व शान्ति, मानवता, सह–अस्तित्व र दिगो विकासको प्रार्थना गर्नुपर्दछ।

संयुक्त राष्ट्र संघले सन् १९८१ देखि मनाउँदै आएको यो दिवसको उद्देश्य सुन्दर, पवित्र र सर्वमान्य छ। लामो सशस्त्र विद्रोह, शान्ति सम्झौता, संविधानसभा हुँदै गणतन्त्रसम्म आइपुग्दा नेपालले आन्तरिक रुपमा शान्तिका लागि ठूलो मूल्य चुकाउनु परेको छ। र, द्वन्द्वरत केही देशहरुमा आफ्ना सैनिकहरुमार्फत विश्व शान्तिका लागि योगदान पनि जारी छ।

हामीले प्राप्त गरेको शान्ति वास्तवमा कस्तो हो र प्राप्त उपलब्धीका खतराहरु के हुन्? भन्ने कुराको विश्लेषण हुनु जरुरी छ। नेपालको शान्ति खल्बल्याउने अहिलेका तत्वहरुको विश्लेषण गर्दा कुनै विद्रोही संगठनको भन्दा पहिला सरकारकै गतिविधि केलाउनु जरुरी छ।

सरकार भरपर्दो, विश्वसनीय, त्यागी भइदिएको भए जनता कति खुशी सुखी र शान्त हुने थिए होलान्? सरकारका संयन्त्र चुस्त दुरुस्त र प्रभावकारी हुने हो भने जनता कति भाग्यमानी हुने थिए होलान्? सरकार जनप्रिय, विकासप्रेमी र शान्तिप्रेमी भइदिने हो भने हाम्रो शान्तिको पारो कहाँ पुग्ने थियो होला?

आर्थिक गतिविधि बढाउने, लगानी भित्र्याउने र सुरक्षाको प्रत्याभूति दिने, उद्योग वाणिज्य, कृषि, पर्यटन, उत्पादनको मूल फुटाउने महत्वकांक्षी सरकार हुँदो हो त रोग, भोक, अशिक्षा, बेरोजगार स्वतः हटेर जाने थिए र हामीले शान्तिको सिँढी चढ्ने थियौं।

सरकार विरोधी आन्दोलन, जुलुस, हड्ताल, बन्द, हत्या, हिंसा शान्ति बिथोल्ने र घटाउने नकारात्मक सूचक हुन्। सायद ती सुशासन, न्याय, समानता र सुरक्षाको माग राखेर आयोजना भएका हुन्छन्।

मुलुकमा विद्यमान निःसश्त्र र ससश्त्र समूहको धम्की, चन्दा, अपहरण हत्याले जनतामाथि त्राश र भय थोपरेको छ। सामाजिक विकृति, विसंगति (जातीय–वर्गीय हिंसा, बलत्कार, छुवाछुत्, अन्धविश्वास श्रृजित घटना) ले सारा जनतालाई लज्जास्पद र दुःखी बनाएको अवस्था छ। सुन्दर धर्तीलाई चिरेर लुकाइएको हात हतियार, बम–बारुद्ले जनतालाई आधा मासु बनाएको छ। यी सबैको मुल कारण निर्वाचित सरकारको अकर्मण्यता, असक्षमता र अयोग्य शासन हो।

मुलुकमा संविधान विरोधी तत्व, बिखण्डनवादी तत्व, जातीय, क्षेत्रीय, धार्मिक गुट उपगुट्को रबैयाले जनताको मनभित्रको शान्ति र अमनचयन बिथोलेको छ। मुलुकमा देखिने आन्तरिक द्वन्द्व र युद्ध केही छैन। राजनीतिक स्वतन्त्रताको हिमायती ठान्ने डन, बिचौलिया र दलालले जनताको समान अवसरको हक र अधिकार कुन्ठित् पारिदिएको छ।

मुलुकमा विद्यमान निःसश्त्र र सशस्त्र समूहको धम्की, चन्दा, अपहरण हत्याले जनतामाथि त्राश र भय थोपरेको छ। सामाजिक विकृति, विसंगति (जातीय–वर्गीय हिंसा, बलत्कार, छुवाछुत्, अन्धविश्वास श्रृजित घटना) ले सारा जनतालाई लज्जास्पद र दुःखी बनाएको अवस्था छ। सुन्दर धर्तीलाई चिरेर लुकाइएको हात हतियार, बम–बारुद्ले जनतालाई आधा मासु बनाएको छ। यी सबैको मुल कारण निर्वाचित सरकारको अकर्मण्यता, असक्षमता र अयोग्य शासन हो।

जनताको विश्वासमा खरो उत्रन नसक्दा जनता र समुदायमा आएको निराशा तथा केही कुत्सित तत्वहरुको खराब मनसायले फेरि नेपालको शान्तिमाथि धावा बोल्ने दुस्साहस गर्न थालेका छन्। मुलुकको शान्ति खल्बल्याउन शासकका भ्रष्टाचार र तिनलाई संरक्षण गर्ने उच्च नेतृत्व जिम्मेवार छ।

र, मुलुकको शान्ति र राष्ट्रिय सुरक्षाका लागि यही तत्व मुख्य चुनौती हो। वर्तमान् महामारीको बज्रपात सहन गर्ने अदम्य साहस हुँदाहुँदै महामारीभित्र तीव्र भ्रष्टाचार, कुर्सीको लडाइँ र न्युनतम संवेदनशीलता एवं जवाफदेहीता नदेखाउने आफ्नो सरकारसँग जनता दुःखी होइन ज्यादै आक्रोशित भएका छन्। परिवर्तनको माग राखेर आन्दोलित भएका छन्। नयाँ विद्रोहको छातामुनि संगठित हुने अवसर खोजिरहेका छन्।

विडम्बना, आफ्नै भूमिमा एउटा छिमेकी सेनाले किल्ला र लडाईँको मोर्चा कसेर अर्को छिमेकी सेनालाई निगरानी र प्रतीक्षा गरिरहेको वर्तमान अवस्थाले नेपालीको भोक निन्द्रा स्वाभिमान गायव भएको अवस्था छ।

भूपरिबेष्ठित् मुलुकले निरन्तर भोग्नुपर्ने व्यापार पारवहनको असुविधा, आपूर्तिको अन्यौलता र अनिश्तितता, घोषित–अघोषित् नाकाबन्दीका पीडाले समेत नेपालीहरुको शान्ति दबिएको र लुटिएको छ।

शान्ति क्षेत्र नेपालको बाह्य झगडा र युद्ध हुने कुरै भएन। तर २ न्युक्लियर शक्तिको बीचमा अवस्थित सानो मुलुकको मनोवैज्ञानिक भय र त्रास हँसिलो मुहार बाहिर गालामा देख्न सकिन्छ। झन् दुई छिमेकीले सीमा बिबाद चर्काउँदा र गुत्थमगुत्थाको लडाइँ लडिरहँदा नेपालीको सातो जानु स्वभाविक हो।

पुरानो डोक्लाम बिवाद होस्, वा लद्दाक र अक्साई चीनको विवाद, त्यसले नेपाललाई चिन्तित् र दुःखी तुल्याइरहेको छ। नेपाल र यो क्षेत्रको शान्तिका लागि चीन र भारतबीचको विकसित नयाँ परिस्थिति अर्को मुख्य चुनौती हो।

गत वर्ष शान्ति दिवसका लागि “शान्तिको लागि जलवायु संरक्षण” नारा तय भएको थियो। जलवायु परिवर्तनले विश्व शान्ति र स्थायित्व धरापमा पारेको निश्कर्ष निकालेर निर्धारण गरेको नारा आकर्षक, दमदार, संवेदनशील र मननयोग्य थियो। त्यसले प्रकृतिको अत्यधिक दोहन र विनाश तत्काल रोक्न प्रकृतिको सर्वोच्चता स्वीकार गर्न घच्घच्याएको थियो।

पोहोरको नारा कति औचित्यपूर्ण थियो भन्ने कुरा यो वर्ष त्यही प्रकृतिसँग जोडिएर आएको महामारीले पुनर्पुष्टि गरेको छ। वास्तविक र दिगो शान्तिका लागि प्रकृति रक्षा गर्न अपरिहार्य ठानियो। प्रकृति विनास गर्ने धनी र औद्योगिक राष्ट्रहरुलाई शान्तिकामी बालबालिकाहरुले भरमार गाली गरे।

प्रकृति ध्वस्त पारेर विश्व तापक्रम बढाउने विकासको नाममा भावी पिँढीको भविष्य धरापमा पार्ने, धनको लागि प्रकृति तिलाञ्जली दिने स्वार्थी, अदूरदर्शी र मुर्ख विश्व नेताहरुलाई जलवायु परिवर्तनको नैतिक जिम्मेवारी लिन दबाब दिए।

दक्षिण एशियामा भुटानपछि नेपाल दोस्रो स्थानमा रहेता पनि हामी ५४ नम्बर पछाडि छौं। दुई मुलुकबीच धेरै समानता पाइने हुनाले भुटान जस्तै शान्तिको सूचकमा अगाडि लम्किन र विश्व रेकर्ड राख्न हामीलाई धेरै अवसर प्राप्त छ। नेपालले ती अपूर्व अवसरहरुको सदुपयोग किन नगर्ने?

संयोगले प्रकृतिको रक्षा गर्नुपर्दछ भन्ने प्रकृतिका पहरेदार विश्व रेञ्जरहरुको अन्तर्राष्ट्रिय सम्मेलन गत वर्ष चितवन राष्ट्रिय निकुञ्जमा भव्यताका साथ आयोजना भयो। विश्वका धेरै रेञ्जरहरुले आ–आफ्ना प्रकृति अमैत्री अन्धो सरकारको खुलेयाम निन्दा गरे।

ब्राजिल र अमेरिकाका राष्ट्रप्रमुखहरुको सबैभन्दा धेरै निन्दा भयो। विश्वभरका एकत्रित रेञ्जरलाई हाम्रा वनको नेतृत्वले प्रकृति संरक्षणमा नेपालले हासिल गरेको सफलताका कथाहरु सुनाउँदै प्रकृति संरक्षणको रहरलाग्दो भावी रोडम्याप पस्किए। केन्द्रको अज्ञानता उपेक्षा जे भए पनि फिल्डका फ्रण्टलाईन स्टाफहरुले ठूलो उत्साह र जाँगरका साथ त्याग गरेर नेपालको इज्जत र छवि बढाइदिएका छन्।

नेपालको मूल्यांकन, सान र मान

विश्व थिंक ट्याङ्कहरुको ‘ईन्स्टिच्युट् अफ ईकोनोमी एण्ड पिस (आई.ई.पि) ले विश्वका सम्पूर्ण मुलुकहरुको २३ विविध महत्वपूर्ण विधाको अध्ययन र मूल्यांकन गरेर तयार पार्ने ग्लोबल पिस ईण्डेक्स (जि.पि.आई) मा’ तमाम बेथितिहरु भए पनि यो वर्ष नेपाललाई ७३ औं स्थानमा दर्ज गरेको छ।

नेपाल जस्तै प्राकृतिक स्रोत साधन सम्पन्न रमणीय भूपरिवेष्ठित हिमाली राज्य भुटान दक्षिण एशियामा सबैलाई उछिनेर १९ नम्बरमा छ। श्रीलंका ७७, बंगलादेश ९७, भारत १३९ र पाकिस्तान १५२ नम्बरमा छन्। चीन १०४ नम्बरमा छ।

शान्ति रेकर्ड कायम राख्ने प्रथम ७ राष्ट्रमा अगाडिबाट आईसल्याण्ड, न्युजिल्याण्ड, पोर्चुगल, अष्ट्रिया, डेनमार्क, क्यानाडा र सिंगापुर पर्दछन्। पछाडिबाट अन्तिम ७ राष्ट्रमा अफगानिस्तान, सिरिया, इराक, दक्षिण सुडान, यमन, सोमालिया, लिबिया छन्।

दक्षिण एशियामा भुटानपछि नेपाल दोस्रो स्थानमा रहेता पनि हामी ५४ नम्बर पछाडि छौं। दुई मुलुकबीच धेरै समानता पाइने हुनाले भुटान जस्तै शान्तिको सूचकमा अगाडि लम्किन र विश्व रेकर्ड राख्न हामीलाई धेरै अवसर प्राप्त छ। नेपालले ती अपूर्व अवसरहरुको सदुपयोग किन नगर्ने?

नेपाल शान्तिका दूत गौतम बुद्धको जन्मभूमि हो। यहाँका जनता स्वभाव र रगतमा शान्तिकामी छन्। पञ्चशीलको सुन्दर शान्त नीति अंगिकार गरेको देश हो नेपाल। इतिहासमा शान्ति क्षेत्र प्रस्ताव गरेर सयौं देशको मान्यता समेत पाइसकेको मुलुक नेपालले त्यसबेलादेखि विश्वको छाना सगरमाथामा विश्व शान्तिको झण्डा फहराइरहनुपर्ने थियो।बुद्धको जन्मस्थान लुम्बिनीमा अनवरत विश्व शान्तिको दीप प्रज्वलन भइरहेको जस्तै।  स्वास्थ्य, सुरक्षा, शान्तिलाई प्रकृतिगस“ग जोडेर हेरिन्छ। प्राकृतिक स्रोत साधन र सौन्दर्यताको लागि नेपाल विश्वको आँखाको नानी हो। सबैको रोजाइको सुन्दर गन्तव्य हो।

सकरात्मक र दिगो शान्तिको खम्बा
मुलुकको सुख, खुशी र शान्ति मापनको एउटा आधार सैनिक गतिविधिलाई मानिएको छ। नेपालको सेना विश्व मै अब्बल दर्जामा पर्दछ। आफ्नो देशमा शान्तिमैत्री, जनमैत्री र विकासमैत्री काम गरेर विश्व शान्ति स्थापना गर्न उल्लेखनीय योगदान पुर्याउन सक्ने बहुआयामिक क्षमता, इच्छाशक्ति, सहनशीलता र त्याग गर्न सक्ने बहादुर हाम्रो जस्तो सेना मैले खोजें तर फेला पारिन।

अनकण्टार हिमाल पहाडमा ज्यानको बाजी लगाएर बाटो खन्ने काम होस् वा बाघ, गैंडा, कस्तुरी रक्षा गरेर सगरमाथाको फोहोर उठाउने काम, सेनाले गर्वसाथ हाँसेर पूरा गरेको छ। बाह्र महिना नछाड्ने विपद्सँग, भिड्न र जनताको जीउ धनको रक्षा गर्न नेपाली सेनाले स्वस्फूर्त अगुवाईको बहादुरी भूमिका निर्वाह गर्दै आएको छ।

शिक्षा स्वास्थ्य कल्याणकारी कार्यमा राज्यको एउटा जनताको हिस्सालाई सेवा सुविधा पुर्याउन समेत सेनाले मुलुकलाई दरो काँध थापेको छ। जब कि संसारमा राज्यले सेनालाई काँध थापेको सुल्टो दृश्य मात्र देख्न पाइन्छ।

मुलुकभित्र अहोरात्र खट्टिएर काम तामेल गर्ने जनताको राष्ट्रिय सेनाले विश्व शान्तिको संवेदनशील र कडा जिम्मेवारी इमान्दारपूर्वक र सफलतापूर्वक पूरा गर्दै आएको छ। अरु मुलुकले जान सक्दिन भन्ने ठाउँमा समेत शान्ति स्थापना गर्न नेपालले नाई भन्दैन भन्ने गहिरो अमिट छाप छ संयुक्त राष्ट्र संघलाई।

पाइला पाइलामा माग्ने, घुस खाने, कुशासन र भ्रष्टाचारको चरित्र बोकेको नेपाल सरकारको सेनाले अन्तर्राष्ट्रिय जिम्मेवारीमा ५० औं वर्ष लामो इतिहासमा देशको इज्जत र छवी उठाउने प्रंशसनीय र कदरयोग्य काममात्र गरेको गर्वयोग्य रेकर्ड छ।

नेपालको संभाव्यता र भविष्य

प्रकृतिको धनी देश नेपालको सरकार प्रकृति र जनताप्रति उत्तरदायी भएर प्रस्तुत हुन बिलम्ब गर्नु हुँदैन। आर्थिक विकास, सम्वृद्धि, सुखी नेपाल र नेपाली समयको माग हो र वर्तमान सरकारको नारा हो। तर नारा एउटा काम अर्को भएर जनता निराश र आक्रोशित भएका हुन्।

आक्रोशित जनताको सरकार दुर्बल र निम्छरो हुन्छ र छिमेकी तथा अन्तर्राष्ट्रिय संघ–संस्थाको अगाडि छीः छीः दूर दूर हुन्छ। सीमा अतिक्रमण, प्राकृतिक श्रोत अतिक्रमण, विदेशी हस्तक्षेप र राष्ट्रिय ईण्टेलिजेन्स अतिक्रमण, स्वाभिमान अतिक्रमण, कुटनीतिक असफलता कमजोर र निर्लज्ज सरकार आफैंले निम्त्याएका शान्ति विरोधी कुकृत्यहरु हुन्। अझ आत्मकेन्द्रीत राजनीति सत्ताको झगडा र कल्पना बाहिरको भ्रष्टाचारको जालोले जनताको शान्ति र खुशी लुटेको छ।

जनताले स्वामित्व लिएको सर्वमान्य र सर्वस्वीकृत संविधान हुनुपर्ने थियो। संविधानलाई जनही तोडमोड गर्ने र आफ्नो अनुकूल व्याख्या गर्ने परिपाटीले समेत संविधान, कानूनी राज्य र जनताको खिल्ली उडाइएको छ। प्रजातान्त्रिक पद्धतिको पालना नगरेर जनतालाई अशान्तिको भुमरीमा धकेलिएको छ।

प्रकृतिको सर्वोच्चता स्वीकार, भ्रष्टाचारको अन्त्य, देश माटो परिस्थिति सुहाउदो व्यवस्था र छरितो मितव्ययी प्रतिबद्ध एवं त्यागी सरकारको सुशासनले मात्र मुलुकको काँचुली फेरिन सक्छ।

त्यस्तो संकल्प बोक्ने जनताको सरकारले ‘शान्ति क्षेत्र प्रस्ताव’ लाई पुनः पारित गराउन पहल गर्नुपर्दछ। भविष्यमा नेपाल विश्वको शान्ति क्षेत्र हुने छ। शक्तिवर्धक हावापानी एवं प्रकृतिको राजधानी हुनेछ। प्रकृतिमा आधारित कृषि, पर्यापर्यटन र साहसिक खेलको केन्द्रविन्दु हुनेछ।

विश्व शान्तिको गोष्ठी सभा सम्मेलन केन्द्र हुने छ। द्वन्द्व व्यवस्थापनको सहजकर्ता र मध्यस्थकर्ताको पवित्र भूमि हुने छ। वास्तविक आनन्द, आमोदप्रमोद, मनोरञ्जन र शान्ति प्राप्त गर्ने प्राकृतिक ध्यानकेन्द्र हुने छ। शारीरिक मानसिक उर्जा प्राप्त गर्ने र बुद्धत्व जगाउन सक्ने प्राकृतिक बगैचाको देश हुने छ। केवल आवश्यक छ, स्पष्ट भिजन भएको महत्वकांक्षी र त्यागी नेतृत्वको।

विश्व शान्ति दिवसको सन्दर्भमा हार्दिक शुभकामना ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *