जटाधारी साधुसँग ‘नारायण’ खोज्दा

डिसी नेपाल
६ कार्तिक २०७७ ७:०१
600
Shares

”विष्णु साइ बाबाका भक्तले कोरोनाको प्रकोप निवारण होस् भनेर महामृत्युञ्जय मन्त्र जापसहित सामुहिक प्रार्थना सभा गरे रे , केही भन्नु छ तिनीहरूलाई?”, आँफूलाई भौतिकवादी ठान्ने, अलि अलि विज्ञानका ज्ञाता मेरा स्वघोषित अग्रगामी मित्रले सोधे।

“यस्ता सामाजिक घटनाहरूलाई कुनै वाद या पन्थको चस्मा लगाई सतही आलोचना भन्दा पनि गहन अन्तर्निहित सामाजिक, मनोवैज्ञानिक र आध्यात्मिक विश्लेषण गर्नु जरुरी हुन्छ”, मैले संयमित भएर भनेँ। भनिन्छ मानिस चार विशेष परिस्थितिहरूमा ईश्वर स्मरण र अध्यात्मतर्फ लाग्छ। आर्थी , अर्थार्थी , जिज्ञासु र ज्ञानी।

पहिलो आर्थी – जो रोग व्याधिको प्रकोपमा या दुख पीडामा छ। हो, दुखीलाई सहारा र आस्थाको बढी आवश्यकता महसुस हुन्छ। प्राय: सबै धर्मका धर्मग्रन्थहरूमा ईश्वरलाई सङ्कटमोचन अर्थात् अनाथहरूको नाथको रूपमा वर्णन गरिएको हुन्छ। त्यसैले त आज यो महाव्याधीमा सबै नेपालीको मुखमा अब बचाए पशुपतिनाथले नै बचाउन् भनेको सुनिन्छ। सरकारबाट त कुनै आशै छैन।

दोस्रो अर्थार्थी– विष्णु सबैलाई नचाहिए पनि लक्ष्मी नचाहिने विरलै होलान्। धर्म, अर्थ, काम र मोक्षलाई शास्त्रहरूमा जीवनका चार पुरुषार्थ भनिएको छ तर भ्रष्टाचार र कालो बजारीले कमाएको धनले सम्पन्नता देला तर मनको शान्ति दिँदैन, मोक्ष दिँदैन भनिएको छ।

तेस्रो जिज्ञासु – मानिसलाई पीडामा या मनग्य धन कमाएपछि मनमा अस्तित्वसँग जोडिएका दार्शनिक प्रश्नहरूको प्रादुर्भाव हुन थाल्छ। म को हुँ?, सांसारिक पीडाबाट मुक्त भई सदा खुसी रहने बाटो कुन होला ? इत्यादि। ज्ञान योगको मार्गमा भनिन्छ प्रश्न प्रति-प्रश्नले नै मानिसलाई तत्त्व ज्ञान तर्फ डोर्‍याउँछ।

वादे वादे जायते तत्त्व बोध: वैज्ञानिक विधिको  (Scientific Method) पहिलो सोपान पनि प्रश्न गर्नु नै हो। कुनै सोधको निष्कर्ष साझा गर्न कुनै प्राकृतिक घटनाको (Phenomena) अवलोकन पछि त्यो घटनाको पछाडि रहेको कारण पत्ता लगाउन केही प्रस्तावित प्रश्नहरूको परिकल्पना (Hypothesis) गरिन्छ।

त्यसपछि त्यो परिकल्पनाको परीक्षण गर्न प्रयोग (Experiment) गरी तथ्याङ्कको विश्लेषण (Data Analysis) गरेर निष्कर्ष निकालिन्छ। तर नेपालमा वैज्ञानिक विधिको समेत खिल्ली उडाएर राष्ट्र प्रमुखले नै कहिले कोरोना भाइरस लाई निर्जीव भन्छन् त कहिले ठोस आधारबिना बेसार पानीले ठिक गर्छ भन्छन्।

दुर्भाग्यवश नेपालमा नेताहरू केवल अर्थार्थी र अनि जनता आर्थी बनी रहे। अब जनता जिज्ञासु हुने बेला आयो, अब हामीले प्रश्न गर्नैपर्ने बेला आयो।

प्रश्न गर्नैपर्छ अब हामीले कि आफैलाई समाजवाद उन्मुख भन्नेहरूको सरकार हुँदा कसरी स्वास्थ्यमा राज्यको स्वामित्व भई सर्वहारा जनताको समान अधिकार पाउनुको साटो केही व्यापारी र बिचौलियाहरूको मात्रै लगानी प्रेरित गरिँदै छ? किन सरकारले कोरोना परीक्षण र उपचारको दायरा घटाउँछ अनि नीजि अस्पतालहरु लाखौँ असुल्दै छन्? किन चिकित्सक र स्वास्थ्यकर्मीलाई सुरक्षा उपकरण र विशेष बिमाको व्यवस्था गरिएन?

जबसम्म जनता यी आधारभूत प्रश्न गर्दैनन् कैयौँ गोविन्द के.सी.का अनसन खेर जाने छन्। हरेक नेतालाई सोधौँ कि कुनै वैध आम्दानीको स्रोत नभएर पनि केही वर्षमै तिनका काठमान्डौमा महल कसरी बने?

के छ नेताज्यू आजकल तिम्रो हाल-खबर ?
भोट दिने त गाउँमै छुटे, तिमी पस्यौ सहर
जनताबाट सिंहदरबार भयो टाढा टाढा
कैले आउँछ तिमीलाई, रुकुम-रोल्पा नजर ?

चौथो ज्ञानी – भनिन्छ जब कोही कुनै विधामा पारङ्गत हासिल गर्छ त्यसपछि उसले हरेक प्राकृतिक घटना पछाडिको कारण एउटै एकीकृत शक्ति देख्छ। यसलाई केही कण भौतिक शास्त्रका वैज्ञानिकहरूले स्ट्रींग सिद्धान्त अर्थात् क्वान्टम भौतिक शास्त्र तथा साधारण सापेक्षतावादको एकीकरणको प्रयास भनी व्याख्या गर्छन्। यो महा एकीकृत सिद्धान्तको (Theory of Everything) सबै भन्दा प्रबल दाबेदार सिद्धान्त हो जो सबै मूलभूत कणहरू (Fundamental Particles) र ऊर्जाको (Energy) गणितीय व्याख्या गर्ने सामर्थ्य राख्छ।

गहन अध्यात्मका साधकहरू विविधतामा एकता देख्नुलाई ज्ञान भन्छन् अर्थात् अद्वैत दर्शनं ज्ञान ! अनि जस्तो दृष्टि त्यस्तै सृष्टि देख्न थालिन्छ भन्ने उनीहरूको मान्यता छ। महानारायण उपनिषदको १३ औँ अध्यायको छैठौँ श्लोकमा भनिएको छ- अन्त: बहिश्च तत् सर्वंव्याप्यं नारायण: स्थितः अर्थात् सबै वस्तुमा भित्र र बाहिर नारायण विद्यमान छन्। ईश्वर त घट-घटमा छन्। आफैँभित्र विद्यमान आत्मारामको साक्षात्कार नगरेसम्म राम कहाँ जन्मिए भन्ने कुरामा विवाद गरेर कोही ज्ञानी हुँदैन।

लेखक सन २००८ मा बद्रीनाथमा। पृष्ठभूमिमा नारायण पर्वत र नीलकण्ठ हिमाल।

शान्त मनले बाहिर हेर्दा गोचर हुने सौम्य दृश्यको मेरो व्यक्तिगत अनुभव पनि छ। सन २००७ / २००८ ताकाको कुरा हो म परमहंस योगानन्दको योगी कथामृत पढेर मलाई पनि हिमालयका गुफाहरूमा गई ध्यान गर्ने प्रेरणा मिल्यो। म बद्रीनारायण को पछाडि नारायण पर्वतमा अवस्थित एक दुर्गम गुफामा ध्यान गरी केही सप्ताह बिताएको थिएँ।

केही दिनको एकान्त वास पछि मन शान्त हुँदै गयो र अस्थिर चित्त वृत्तिहरू घट्दै जाँदा भित्री आनन्दको अनुभूति घनिभूत हुँदै गयो। आफैँ भित्र को “म अवस्थित छु ” भन्ने चेतना ध्यान गर्दै जाँदा भौतिक शरीरको सङ्कुचित दायराबाट विस्तारित हुँदै गएको अनुभूति भयो। ती विशाल हिम शृङ्खलाहरू आफ्नै अस्तित्वको प्रक्षेपण झैँ लाग्न थाले अनि ती हिमनदी आफ्नै उपस्थितिको परावर्तन !

एक दिन म आफैँ मन मगन भई नारायण पर्वतबाट बद्रीनाथ तर्फ ओर्लिँदै थिएँ। एउटा जटा झुट र त्रिशूल धारण गरेका साधु माथि चढ्दै थिए। मलाई त्यो दुर्गम नारायण पर्वतबाट तल झर्दै गरेको देखि उनले सोधे, ” त्यहाँ माथि कहाँबाट आउँदै छस् ? थाहा छ तँलाई यो कुन पवित्र पर्वत हो ?”।

मैले शान्त भएर म नारायण पर्वत माथि अवस्थित एउटा एकान्त गुफामा ध्यान गरी बसिरहेको छु र दिनमा एक चोटि भोजन ग्रहण गर्न तल झर्ने गरेको छु महाराज जी भनेँ। मेरो जवाफ सुनी ती महात्मा झनै आक्रोशित हुँदै “तँ यहाँका गुफामा बसी आफ्नो तुच्छ मल मूत्रबाट यो पवित्र नारायण पर्वतलाई कसरी दूषित बनाउन सक्छस्”, भने।

मैले आफ्नो भित्री शान्ति कायमै राखी नम्र भएर ,“महाराज जी अब शौच गति रोकी राति यो हिमालय पार गरी म अन्त त जान सक्दिन तर बद्रीनाथ मन्दिरको विपरीत दिशामा केही चट्टानहरूको पछि गई मूत्र विसर्जन गर्ने गरेको छु भने।“ तर महाराज जी बारम्बार तँ यो पवित्र नारायण पर्वतलाई कसरी दूषित बनाउन सक्छस् भनिरहे।

मैले संयमित हुँदै अन्त्यमा , ” महाराज जी ठिक छ यो त नारायण पर्वत भयो मलाई एउटा यस्तो स्थान देखाई दिनुहोस् जहाँ नारायण छैनन् , म त्यहीँ शौच गर्न जान्छु “, भनेँ। (महानारायण उपनिषदको १३ वौं अध्यायको ६ टौँ श्लोकमा अन्त: बहिश्च तत् सर्वं व्याप्यं नारायण: स्थितः अर्थात् सबै वस्तुमा भित्र र बाहिर नारायण विद्यमान छन् भनिएको छ)। एउटा अल्लारे ठिटोका मुखबाट यो ज्ञानका शब्द अलि हजम नभई उनले रिसाएर जाँदै गर्दा , ” इतना ज्ञान है , हर जगह नारायण दिख्ते हैं तो यहाँ क्यु भटक रहा है ” भनेका थिए।

त्यो दिनपछि ती साधु मसँग बोल्न छाडे! कहिलेकाहीँ भेट हुँदा मैले चढाएको अभिवादन “नमो नारायण महाराज जी” को प्रतिउत्तर नदिई तर्केर हिँड्थे। केही सप्ताह पछि एउटा व्यवहारिक र ज्ञानी महात्मा भेटिए जसले मलाई मेरो यो जवानीको उमेर पढाई छोडी बाबा गिरि गर्ने नभई पढेर , सिप हासिल गरी समाज सेवा गर्ने समय हो भनी उपदेश दिए। (त्यसपछि मैले मैले कलेज फर्केर पछि विज्ञानमा स्नातकोत्तर गरेँ ) ।

तर बद्रीनाथ छोडी फर्कने दिनमा मैले म सँग नबोली हिँड्ने साधुलाई सय रुपैयाँ दक्षिणा दिँदा महाराज जी खुसी भई बद्रीनाथको तुलसीको पात प्रसाद पनि दिएका थिए। कयौँ दिन “नमो नारायण” भनी गरेको अभिवादनको जवाफ नदिई हिँड्ने साधुले एक दिन लक्ष्मी ( दक्षिणा को रूपमा पैसा ) चढाउँदा प्रसाद समेत दिए। नारायण सबैलाई नचाहिए पनि लक्ष्मी त सबैलाई चाहियो !

हो! पैसा , साधन-स्रोत केही हदसम्म सबैका आवश्यकता हुन्। तर जब मानिसमा नैतिक चेतना र विश्व बन्धुत्व भावनामा ह्रास आउँछ तब उ आवश्यकता भन्दा पनि लोभबाट परिचालित हुन थाल्छ। महात्मा गान्धीले भनेझैँ धर्ती मातासँग आफ्ना सबै सन्तानका आवश्यकताहरू पूर्ति गर्न पुग्ने सम्पदा र संसाधन छन् तर ती सबै एउटै मान्छेको लोभको परिपूर्ति गर्न पनि अपर्याप्त हुन सक्छन्।

विपत्तिको बेलामा राष्ट्र एकजुट भई कृत्रिम अभाव सृजना र कालो बजारी को सामूहिक प्रतिकार गरौँ । हो ! यो कोरोनाको महामारी फैली रहेको आपत्को घडीमा डर , लोभ र स्वार्थ बाट प्रेरित आपत्कालीन उपभोग्य सामाग्रीहरूको भण्डारण जस्ता पाशविक प्रवृत्ति भन्दा पनि दया माया सद्भाव सहानुभूति र समानुभूति जस्ता मानवीय गुणहरूको प्रवर्धन आवश्यक छ।

मानव इतिहासमा परापूर्व कालदेखि धार्मिक र आध्यात्मिक संस्थाहरू परोपकारी गतिविधि र विपद् व्यवस्थापनमा सक्रिय रही आएका छन्। १९ औँ र २० औँ शताब्दीमा साईँ बाबा र मदर टेरेसा जस्ता सन्तहरूले दुखी बिरामीहरूको सेवामा आफ्नो जीवन समर्पित गरे।

हाम्रै पुस्तामा नेपालमै मानव सेवा आश्रमका संरक्षक डा. गोविन्द टन्डन असह्य र अनाथलाई आश्रय दिई नेपालका सडक मानव मुक्त सहर बनाउने सुन्दर सपनाका साथ परोपकारी गतिविधि सञ्चालन गर्दै आउनु भएको छ। कोरोनाको महामारी फैलिँदै गर्दा र हाम्रा अरबपति व्यापारी आफ्नो सामाजिक उत्तर दायित्वको विस्मरण गरी मौन धारण गरी बस्दै गर्दा आज नेपालमा परोपकारी मनहरूको आवश्यकता महसुस हुँदै गएको छ।

अब कोरोना रोकथाम: उपचार कि चार धाम? हामी सबै कोरोनाको प्रकोपबाट बच्ने प्रयास गर्दै गर्दा आजभोलि मैले सामाजिक सञ्जालमा उपचार गर्ने कि प्रार्थना गर्ने भन्ने बारे केही भनाभन र वाद-विवाद भएको देख्छु। बिमारी फैलन नदिन सामूहिक समाज सेवामा उत्रिँदा पनि सुरक्षित सामाजिक दुरी कायम गर्न जरुरी छ तर यो आपत्को घडीमा आफ्नो सामाजिक जिम्मेदारी बाटै टाढा भाग्नु त भएन नि ? विपदमा मानव सेवा नै माधव सेवा हो !

कसैलाई मनको हौसला दिऊँ , कसैलाई दवाई दिऊँ

भोकोलाई खाना अनि नाङ्गोलाई लुगा लगाई दिऊँ !

थोरैमा चित्त बुझाई दिऊँ, आसहायलाई सघाई दिऊँ

मानिस भई ईश्वरको त्यो दिव्य मुहार हँसाई दिऊँ !!

नेपालको जय होस!!


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *