आइपिएलः ४ महिनापछि नै अर्को सिजन सुरु हुने, २०२१ सिजनमा ९ टिम हुने

डिसी नेपाल
२७ कार्तिक २०७७ ११:१९
15.9k
Shares

काठमाडौं। आइपिएल २०२० समाप्त भएसँगै आइपिएल २०२१ को तयारी सुरु भइसकेको छ । २०२१ को सिजनको सुरुवात आगामी मार्चमा हुन सक्छ । बीसीसीआइले सिजनभन्दा पहिले मेगा अक्सन गराउन सक्छ । आइपिएलको गभर्निङ काउन्सिलले यस विषयमा निर्णय गर्नको लागि बैठक नराखेकोले यसको पुष्टि भइसकेको छैन । फ्रेन्चाइजीहरुसँग भने यसबारेमा कुरा गरिएको छ ।

एक बोर्ड अधिकारीले एक भारतीय अखबारसम्ग भने ‘समयको कमी छ तर मेगा अक्सन सबैको हितमा हुनेछ । आइपिएलको गभर्निङ काउन्सिलले आगामी २ हप्तामा यस विषयमा निर्णय गर्नेछ र सबैलाई सूचित गर्नेछ ।’ २०२१ सिजनभन्दा पहिले मेगा अक्सन पूर्वनिर्धारित थियो तर यो सिजनको आयोजनामा ढिलाइका कारण अब निकै कम समय बाँकी छ र मेगा अक्सनलाई रद्द गरिनुपर्ने पनि कुरा उठेको छ ।

मार्चको अन्त्यमा नयाँ सिजन सुरु हुन सक्छ । फ्रेन्चाइजीका अधिकारीले भने ‘बीसीसीआइले हामीलाई अक्सनको तयारी सुरु गर्न भनेको छ । उहाँहरुले आधिकारिक रुपमा भन्नुभएको छैन तर उहाँहरु यसको तयारीमा हुनुहुन्छ ।’ यसका साथै एक नयाँ फ्रेन्चाइजी पनि जोड्ने तयारी छ । यसो भएमा आइपिएलको आगामी सिजनमा ९ टिम हुन सक्छन् । रिपोर्टका अनुसार थपिने नयाँ फ्रेन्चाइजी टिम अहमदाबादको हुन सक्छ ।

गुजरातको अहमदाबादमा विश्वकै सबैभन्दा ठूलो स्टेडियम हालै बनेर तयार भएको छ । सम्भवतः नयाँ थपिने टिमको होमग्राउण्ड यही हुन सक्छ । यसअघि पनि आइपिएलमा १० वटा सम्म टिमले प्रतिस्पर्धा गरेका छन् । २०१० मा अहिलेका ८ टिमहरुसहित कोची तस्कर्स केरला र पुणे वारियर्स इण्डिया गरी १० टिम थिए । कोची तस्कर्स अर्को वर्षदेखि रहेन र २०१२ र २०१३ मा ९ टिम खेले ।

२०१४ मा पुणे वारियर्स पनि बाहिरिएपछि ८ फ्रेन्चाइजी छन् । बीचमा राजस्थान रोयल्स र चेन्नइ सुपरकिंग्स प्रतिबन्धमा परेका बेला राइजिङ पुणे सुपरजाइन्ट्स र गुजरात लायन्स थपिएका थिए । राजस्थान र चेन्नइको प्रतिबन्ध फुकुवापछि पुणे र गुजरात दुवै हटे । २०१२ सम्म डेक्कन चार्जर्स रहेको फ्रेन्चाइजी भने पछि सनराइजर्स हैदराबादको रुपमा आयो ।

यसअघि २०१८ मा भएको मेगा अक्सनमा हरेक टिमले २ जना मात्र खेलाडी रिटेन गर्न पाउँथे । यसबाहेक अन्य २ जना खेलाडीलाई राइट टु म्याच अधिकार प्रयोग गरेर अर्को टिमले दिन चाहेकै मूल्यमा नबढी आफूसँग राख्न पाउँथे । कुनै पनि फ्रेन्चाइजीले राइट टु म्याच प्रयोग गर्नको लागि त्यो खेलाडी अघिल्लो सिजन आफ्नो टिमको हुनुपर्ने नियम थियो । नयाँ फ्रेन्चाइजी थपिए पनि यो नियम कायमै रहने अपेक्षा गरिएको छ । रेटेन गर्ने नीति हटाइँदा फ्रेन्चाइजीको ब्राण्ड भ्यालुमा असर पर्ने भएकोले यसलाई कायमै राख्ने तयारी गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.