एनआरएनएको सहयोगमा बनेको एकीकृत नमूना बस्तीमा कमसल झ्यालढोकाको प्रयोग

रासस
२७ कार्तिक २०७७ २०:११

गोरखा । गैह्र आवासीय नेपाली सङ्घ (एनआरएनए) को सहयोगमा धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा निर्माण भइरहेकोे एकीकृत नमूना बस्तीका घरमा प्रयोग भएका झ्यालढोका कमसल भएको पाइएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव रामप्रसाद सापकोटासहितको इन्जिनियरको टोलीले आज गरेको एकीकृत नमूनाको अनुगमन तथा निरीक्षणका नमूना बस्तीका घरमा प्रयोग भएका झ्यालढोका कमजोर र कमसल खालको प्रयोग भएको पाएको हो ।

प्राधिकरण, गाउँपालिका, स्थानीय सरोकारवाला तथा स्थानीयवासीसमेतको सहभागितामा एनआरएनले निर्माण गरिरहेको लाप्राक एकीकत नमूनाबस्तीको अनुगमन तथा निरीक्षणका क्रममा बस्तीका घरमा प्रयोग भएका झ्यालढोका र बस्ती निर्माणका क्रममा तयार पारिएका नमूना घरमा प्रयोग गरिएको झ्यालढोकाको गुणस्तर फरक रहेको पाइएको धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

उनले अनुगमनपछि प्राधिकरणसहितको सरोकार पक्षको संयुक्त बैठकले झ्यालढोकामा कम गुणस्तरका सामग्री प्रयोग भएकाबारे प्राधिकरणमार्फत एनआरएनएलाई सहजीकरणका लागि अनुरोध गर्ने निर्णय पनि गरिएको जानकारी दिए । एकीकृत बस्ती निर्माण गर्दा पुनःनिर्माण प्राधिकरणको कार्यविधि एवं मापदण्डअनुसार प्रत्येक घरमा रु चार लाखको दरले प्राप्त हुनुपर्ने रकम अहिलेसम्म प्राप्त नभएको भन्दै पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गर्न प्राधिकरणलाई आग्रह गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए।

एकीकृत बस्ती निर्माण शुरु भएको चार वर्ष बितिसक्दा पनि अझै सम्पन्न नभएको भन्दै निर्माणका क्रममा बाँकी रहेका समस्यालाई प्राधिकरण, गैरआवासीय नेपाली सङ्घ, स्थानीय तह र स्थानीयवासीले आआफ्ना ठाउँबाट पहल र प्रयास गरी छिटो काम सम्पन्न गरेर हस्तान्तरण गर्ने निर्णयसमेत गरिएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *