ट्रम्पलाई निको पारेको कोरोनाभाइरस उपचार विधिले स्वीकृति पायो

डिसी नेपाल
७ मंसिर २०७७ १२:४२

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनाभाइरस संक्रमित भएर बिरामी पर्दा उनको उपचारमा प्रयोग गरिएको औषधिलाई कोरोनाभाइरसको उपचारमा आपतकालीन स्थितिमा प्रयोग गर्न अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले स्वीकृति दिएको छ । शनिबार एफडिएले कोरोनाभाइरसको आपतकालीन उपचारमा रेजेनरोन नामक औषधिको प्रयोग गर्न स्वीकृति दिएको सीएनएनले जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प कोरोना संक्रमणका कारण बिरामी हुँदा यही औषधिको प्रयोग गरिएको थियो । यो औषधिबाट उपचारपछि ट्रम्प छिटै निको भएका थिए । तर, त्यतिबेला यो औषधि परीक्षणको क्रममै थियो र उपचारमा प्रयोगको लागि स्वीकृति पाएको थिएन । रेजेनरोन खासमा एन्टिबडी ककटेल हो र यसमा २ किसिमका एन्टिबडीको मिश्रण गरिएको छ । डाक्टरहरु यसलाई औषधि भन्दा पनि थेरापी भन्न रुचाउँछन् ।

रेजेनरोनबाट उपचार गराएर ह्वाइट हाउस फर्किएपछि राष्ट्रपति ट्रम्पले ट्वीटरमा एउटा भिडियो जारी गरेका थिए । भिडियोमा उनले यो उपचार विधिको प्रशंशा गरेका थिए । भिडियोमा ट्रम्प बिरामी भएजस्ता पनि देखिएका थिएनन् । ट्वीटरमा ट्रम्पले लेखेका थिए ‘उनीहरु (डाक्टरहरु) यसलाई केवल चिकित्सा पद्धति भन्छन् तर मेरो लागि यस्तो होइन । यसले मलाई निको बनायो । ठिक छ, म यसलाई एक उपचार भन्छु ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *