अब दुर्गम रहेन नर्जा

डिसी नेपाल
१० मंसिर २०७७ ०:०८
64
Shares

बागलुङ । तमानखोला गाउँपालिका–६ नर्जाकी ४३ वर्षीया मनकुमारी छन्त्याल गाउँको विकास देखेर मख्ख छन् ।

आँगन छेउको धारामा भेटिएकी छन्त्यालले भनिन्, “पानीको धेरै दुःख थियो, घण्टौँ लगाएर पानी खेप्नुपर्थ्यो, अहिले घरघरै धारा आयो, धेरै सुविधा भयो ।” नर्जाका महिला दुई वर्षअघिसम्म पानी लिन छिपछिपेको मूलमा जान्थे ।

कुराकानीका क्रममा छन्त्यालले थपिन्, “गाउँमा मोटर आउँला भनेर सोचेकै थिएनौँ, बिहान पैसा पठायो बेलुका सामान यही आइपुग्छ ।” शिशुलाई खोप लगाउन दुई घण्टा हिँडेर स्वास्थ्य चौकी धाउनुपरेको अनुभव साट्दै छन्त्यालले नर्जामै सामुदायिक स्वास्थ्य एकाइ खुलेपछि विगतको बाध्यता हटेको सुनाइन् ।

कुनै ताका विकट र दुर्गमको परिचय बोकेको नर्जामा विकासको लहर छिरेपछि छन्त्यालझैँ सबै गाउँले दङ्ग छन् । नर्जाको पुरानो चिनारी बदलिँदै छ । मुहार फेरिदैँछ । सदरमुकामदेखि ३६ कोष पश्चिममा अवस्थित नर्जा गाउँ लामो समय विकासमा पछि पर्यो । आधारभूत सुविधाबाटै गाउँले वञ्चित थिए ।

स्थानीय सरकार आएपछि नर्जाको विकासले गति लिएको हो । गाउँलेले पछिल्ला दुई वर्षमा सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, सञ्चारलगायत क्षेत्रमा नसोचेको परिवर्तन देख्न पाएका छन् ।

दुई वर्षअघि जिल्लाका अन्य सबै वडा सडक सञ्जालमा जोडिँदासमेत नर्जा मात्र एउटा गाउँ थियो जहाँका सर्वसाधारण मोटर भेटाउन तीन घण्टा पैदल हिँड्नुपर्थ्यो ।

गम्भीर बिरामीलाई डोकोमा बोकेर स्वास्थ्य संस्था पु¥याउनुपर्ने स्थिति थियो । समयमा उपचार नपाउँदा कतिपयको बाटैमा मृत्यु हुन्थ्यो ।

अहिले अवस्था फेरिएको छ । गाउँपालिका केन्द्र बोङ्गा दोभानबाट एक घण्टाको मोटर यात्रामा नर्जा पुग्न सकिन्छ । नर्जादेखि सदरमुकाम बागलुङ बजार आइपुग्न जम्मा पाँच घण्टा ।

सडक नहुँदा नर्जाबाट दुई दिनको पैदलपछि गाउँलेहरु सदरमुकाम झर्थे । “टुप्पीभन्दा माथि ठाउँ छैन, नर्जाभन्दा माथि गाउँ छैन भन्ने गरिन्छ, जिल्लाकै सबैभन्दा दुर्गम भनेर नर्जाको नाम आउँथ्यो”, वडाध्यक्ष कुलबहादुर छन्त्यालले भने, “विस्तारै अब सुगम बन्दैछ, विकासमा फड्को मार्दैछ ।”

वर्षौँसम्म राज्यको नजरबाट छिपेको नर्जा गाउँलाई सडक सुविधाले सबैभन्दा सुगम बनाएको छ । गाउँपालिकाको रु ३८ लाख र निर्वाचन क्षेत्र विकास कार्यक्रमको रु ५० लाख खर्चेर डेढ वर्षअघि नर्जामा सडक पु¥याइएको थियो । नर्जामै पर्ने भित्रिवन र पात्लेमा पनि अहिले सडक पुगेको छ ।

नर्जाबाट १५ किमि दूरीमा गाउँपालिका केन्द्र बोङ्गादोभान र २५ किमिमा पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजार पर्छ । सडकसँगै ‘एक घर, एक धारा’ अभियानले पनि गाउँलेको जीवनयापनलाई सहज तुल्याएको छ । दुई वर्षअघि सञ्चालित अभियानबाट नर्जा गाउँका ११६ घरमा धारा जडान भएको छ ।

उक्त योजनाका लागि गाउँपालिकाले रु ३८ लाख खर्चेको थियो । यो वर्ष भित्रीवनका ५७ र पात्लेका ३३ घरधुरीमा धारा पुर्याउने योजना छ । चालू आवमा ‘एक घर, एक धारा’ का लागि भित्रीवनमा रु १४ र पात्लेमा सात लाख बजेट छ । “यो वर्ष वडाका २०४ वटै घरमा खानेपानीको धारा पुग्छ”, वडाध्यक्ष छन्त्यालले भने ।

शिक्षा र स्वास्थ्यमा लगानी केन्द्रित गरेको गाउँपालिकाले यही आवदेखि नर्जामा रहेको सामुदायिक स्वास्थ्य एकाइमा प्रसूति सेवा सञ्चालनमा ल्याएको छ । नियमित खोपलगायत आधारभूत स्वास्थ्य सेवा प्रदान भइरहेकामा गर्भवती जाँच र प्रसूति सेवा थप गरिएको एकाइका इञ्चार्ज लक्ष्मी छन्त्यालले जानकारी दिए ।

गाउँमा सुरक्षित प्रसूति सेवा नहुँदा गर्भवतीलाई यसअघि वडा नं. ५ स्थित खुङ्खानी स्वास्थ्य चौकी पुर्याउनुपर्थ्यो । प्रसूतिका लागि घण्टौँ लगाएर अन्यत्र जानुपर्ने बाध्यता हटेपछि नर्जाका महिला खुसी छन् । पाँच लाख लगानीमा प्रसूति केन्द्र सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।

स्वास्थ्यकर्मीको खटनपटनदेखि केन्द्रको व्यवस्थापन र सञ्चालन खर्चसमेत गाउँपालिकाले व्यहोर्दै आएको छ । एकाइलाई स्वास्थ्य चौकीकै रुपमा स्तरवृद्धि गर्न पहल भइरहेको अध्यक्ष बुढाको भनाइ छ ।

खुङ्खानीमा रहेको स्वास्थ्य चौकी नर्जावासीको सहज पहुँचमा नभएपछि विसं २०७३ मा एकाइ खोलिएको थियो । यस्तै नर्जाको विष्णु, भित्रीवनको दिल्ली र पात्लेको मालिका आधारभूत विद्यालयलाई पनि भौतिक पूर्वाधार सम्पन्न बनाउने योजना गाउँपालिकाको छ । यही वर्ष तीनैवटा विद्यालय पुनःनिर्माण गरी पक्की संरचना बनाइने अध्यक्ष बुढाले बताए ।

नर्जाबाट माध्यमिक तह पढ्नका लागि खुङ्खानीको शान्ति मावि आउनुपर्ने बाध्यता अन्त्यका लागि विद्यार्थीलाई खुङ्खानीमै आवासीय सुविधा दिने योजनामा गाउँपालिका छ ।

विकट भूगोल, छरिएका बस्ती र न्यून विद्यार्थी सङ्ख्याका कारण नर्जामा तत्कालै मावि सञ्चालन गर्न कठिनाइ छ । विद्युत् र सञ्चार सेवाले पनि नर्जावासीको दैनिकी सहज पारिदिएको छ ।

स्थानीय लघु जलविद्युत् आयोजनाबाट गाउँ झलमल छ । दूरसञ्चार सेवालाई थप प्रभावकारी बनाउन नेपाल टेलिकमले टावरलगायत उपकरण थप गरेको छ । गाउँपालिकाले यही वर्षदेखि स्याउ र ओखर खेतीमा किसानलाई सघाउँदैछ ।

जनचेतना अभिवृद्धि र सामुदायिक सशक्तीकरणका कार्यक्रमलाई पनि गाउँ केन्द्रित गरिएको गाउँपालिकाले जनाएको छ । “नागरिकले आधारभूत सुविधा पाउने स्थिति बनेको छ अब जीवनस्तर उकास्ने र आर्थिक गतिविधि बढाउनेतिर हामी ध्यान दिन्छौँ”, अध्यक्ष बुढाले भने ।

उनले दुर्गमको परिचयबाट सिङ्गै तमानखोलालाई मुक्त गर्ने गरी विकास निर्माणका योजना र कार्यक्रम ल्याइएको बताए । रासस

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *