विशाल जीतसँगै सिरिज न्युजील्याण्डको पोल्टोमा

डिसी नेपाल
१४ मंसिर २०७७ ११:३६
80
Shares

काठमाडाैं। पाहुना टोली वेस्ट इन्डिजविरुद्धको दोस्राे खेलमा न्युजील्याण्डले विशाल जीत हात पारेको छ। माउन्ट माउनगानुईमा आइतबार भएको दोस्रो टी–ट्वान्टीमा ७२ रनको जित निकाल्दै न्युजील्याण्डले सिरिज एक खेल अगाबै आफ्नो बनाएको हो।

बे ओभलमा न्युजील्याण्डले दिएको २ सय ३९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो।

वेस्ट इन्डिजका लागि कप्तान केइरन पोलार्डले सर्वाधिक २८ रन बनाए। यस्तै शिम्रन हिटमायरले २५ रन जोड्दा आन्द्रे फ्लेटचर र केली माएर्सले समान २० २० रन बनाए। किमो पाउलले अविजित २६ रन जोड्दा फाबियन एलेनले १५ रन बनाए। न्युजील्याण्डका केली जेमिसन र मिचेल स्टानरले समान २ २ विकेट लिए।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजील्याण्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रनको विशाल योगफल बनाएको थियो।

न्युजील्याण्डको उच्च स्कोरमा ग्लेन फिलिप्सले शतकीय इनिङ्स खेले। ५१ बलको सामना गरेका फिलिप्सले १ सय ८ रन बनाएर आउट भए। ४६ बलमा शतक पुरा गरेका फिलिप्सले ८ छक्का र १० चौका प्रहार गरे। टी–ट्वान्टी अन्तर्राष्ट्रियमा उनको यो पहिलो शतक समेत हो। यस्तै डेभोन कोनवेले अविजित रहदै ६५ रनको अर्धशतकीय इनिङ्स खेले।

वेस्ट इन्डिजका केइरन पोलार्ड, फाबियन एलन र ओसुमाने थोमसले समान १ विकेट लिए। जितसँगै न्युजील्याण्डले ३ खेलको सिरिजमा २–० को अग्रता समेत बताएको छ।

यस अघि पहिलो खेलमा न्युजिल्याण्डले वेस्ट इन्डिजलाई डीएल पद्दतिको आधारमा ५ विकेटले हराएको थियो। दुई टिमबीचको अन्तिम तथा तेस्रो खेल सोमबार हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.