प्रतिष्ठानका लागि मणिपालको जग्गा अधिग्रहण गर्छौँः मुख्यमन्त्री राउत

रासस
१६ मंसिर २०७७ २०:४४
60
Shares

जनकपुर । मुख्यमन्त्री लालबाबु राउतले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि जनकपुरको मुजेलियास्थित मणिपाल शिक्षण अस्पतालले ओगटेको जग्गा अधिग्रहण गरिने बताएका छन् । प्रादेशिक अस्पताल जनकपुरले आज प्रकाशित गरेको स्मारिका विमोचन कार्यक्रममा मुख्यमन्त्री राउतले प्रादेशिक अस्पताललाई आधार बनाएर गठन हुन लागेको प्रतिष्ठानको लागि सो जग्गा उपयुक्त हुने उल्लेख गरे ।

उनले मणिपालले गुठीसँग लिजमा लिएको सो जग्गामा शर्तअनुसार काम नगरेको देखिएकाले लिज खारेज गरेर उक्त जग्गा प्रतिष्ठानको लागि प्रक्रिया अगाडि बढाइने स्पष्ट पारे । प्रादेशिक अस्पताल जनकपुरलाई आजसम्मको यात्रामा सहयोग गर्ने सम्पूर्ण चिकित्सक, समाजसेवी, राजनीतिकर्मीको योगदान अविस्मरणीय रहेको उल्लेख गरे ।

अस्पतालका निमित्त अस्पताल प्रमुख डा नागेन्द्रप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साह, जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साह, अस्पताल विकास समितिका अध्यक्ष सञ्जय सिंह, पूर्वसभासद डा विजयकुमार सिंहसहितका वक्ताले प्रादेशिक अस्पतालको प्रवद्र्धनका लागि सबै क्षेत्रले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *