टि–२० अन्तर्राष्ट्रियमा ९९ रनमा रोकिने तेस्रो खेलाडी पनि इङल्याण्डकै ! अभागी रहे मलान
काठमाडौं। टि–२० अन्तर्राष्ट्रियमा ९९ रनमा रोकिने तेस्रो खेलाडी पनि इङल्याण्डकै भएका छन् । टि–२० अन्तर्राष्ट्रियको इतिहासमा ९९ रनमा रोकिने तेस्रो खेलाडी इङल्याण्डका डेविड मलान बनेका छन् । उनी गएराती केपटाउनमा भएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा ९९ रनमा नटआउट रहे ।
यसअघि ९९ रनमा रोकिने अन्य २ खेलाडी पनि इङल्याण्डकै हुन् । पहिलो पटक टि–२० अन्तर्राष्ट्रियमा ९९ मा रोकिने खेलाडी इङल्याण्डका एलेक्स हल्स हुन् । २०१२ को जून २४ मा नटिंघममा भएको वेष्ट इण्डिजविरुद्धको टि–२० अन्तर्राष्ट्रियमा ९९ रनमा आउट भएका थिए ।
टि–२० अन्तर्राष्ट्रियमा ९९ रनमा रोकिने दोस्रो खेलाडी पनि इङल्याण्डकै हुन् । २०१२ मै सेप्टेम्बर २१ मा टि–२० विश्वकपअन्तर्गत कोलम्बोमा भएको अफगानिस्तानविरुद्धको खेलमा इङल्याण्डका ल्यूक राइट ९९ रनमा रोकिएका थिए । राइट नटआउट थिए तर निर्धारित २० ओभर सकिइसकेकाले उनी शतकबाट चुके ।
Only three players have scored 99 in a T20I. All three of them for England. pic.twitter.com/lBEe2SHUPb
— ESPNcricinfo (@ESPNcricinfo) December 1, 2020
गएराती डेविड मलान दक्षिण अफ्रिकाले दिएको १९२ रनको लक्ष्य पच्छ्याउने क्रममा ९९ रनमा नटआउट रहे । हिजोको खेलमा निर्धारित २० ओभरको खेल पूरा हुन बाँकी नै थियो तर लक्ष्य पूरा भइसकेकोले मलानले शतक बनाउन पाएनन् । हिजोको खेलमा स्कोर बराबरी हुँदा मलान ९८ रनमा थिए । उनले त्यो बलमा बाउण्ड्री प्रहार गर्न सकेको भए उनको शतक बन्थ्यो तर त्यो बलमा मलानले १ रन मात्र लिन सके र उनी शतकबाट चुके ।
उनले दौडिएर २ रन लिन नियमअनुसार मिल्दैनथ्यो किनकि लक्ष्य पूरा भइसकेपछि आएको कुनै पनि रन गणना हुँदैन । अर्थात हिजोकै खेलमा त्यो अन्तिम बल बाउण्ड्रीबाहिर गएकै अवस्थामा पनि यदि बल बाउण्ड्रीबाहिर जानुपूर्व नै दौडिएर १ रन पूरा भइसकेको अवस्थामा त्यो चौका गणना हुँदैनथ्यो किनकि दौडिएर लिएको १ रनले लक्ष्य पूरा भइसक्ने थियो । तर, दौडिएर रन नलिएको अवस्थामा बल बाउण्ड्रीबाहिर गएको अवस्थामा भने चौका हुन्थ्यो ।
Facebook Comment