गुणस्तरहीन तोरी तेल उत्पादन गर्ने कैलाश उद्योगमा सिल

रासस
१७ मंसिर २०७७ १९:३९
748
Shares

वाग्मती । अमलेखगञ्ज–हेटौँडा सडकखण्डमा लामो समयदेखि बन्द रहेको उद्योगमा अखाद्य वस्तु मिसावट गरी गुणस्तरहीन तोरी तेल उत्पादन गरी बिक्री गरेको आरोपमा कैलाश तेल मिल आज सिलबन्दी गरिएको छ ।

उपभोक्ताहित मञ्च र स्थानीय प्रशासनको सहयोगमा खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय जनकपुरबाट खटिएको टोलीले उक्त उद्योगमा सिलबन्दी गरेको हो । रौतहटका अशोक यादवद्वारा विगत करिब चार वर्षदेखि सञ्चालनमा रहेको सो उद्योगमा रहेको ४२७ कार्टुन प्याकिङ तेल, बाहिर पार्किङमा रहेको पेट्रोलियम ट्याङ्कर तथा अन्य प्याकिङ गर्न बाँकी रहेको सयौँ लिटर तेल बरामद भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख विजय खनालले जानकारी दिए ।

त्रिदेव ब्राण्ड नाम उल्लेख गरी गुणस्तहीन मिसावटयुक्त तोरी तेल उत्पादन गर्ने कैलाश तेल मिलको चितवन र नवलपरासीमा अत्यधिक बिक्रीवितरण गर्ने बजार क्षेत्र रहेको त्यहाँ कार्यरत मजदूरले बताएका छन् । उत्पादनको नाममा उद्योगले प्याकिङ मात्र गरेको र मिलले अन्य मिलको तुलनामा सस्तो मूल्यमा तेल बिक्री गर्दै उपभोक्तालाई ठग्दै आएको पाइएको बताइएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय नवलपरासीले पनि उक्त ब्राण्डको ७०० कार्टुन तेल नष्ट गरेको थियो । त्यहीँबाट उद्योग खोज्ने क्रममा सो उद्योग अमलेखगञ्जमा फेला परेको खनालले बताए । मिलद्वारा उत्पादित तेलको छिटो परीक्षण गरी कारवाही गरिने उनले बताए । उक्त टोलीले बाराको सिमरा स्वीट्स हाउसमा पनि अनुगमन गरी अत्यधिक रङ प्रयोग गरिएका खान अयोग्य रु १० हजार मूल्य बराबरको मिठाइ नष्ट गरेको जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *