फिफा विश्वकप २०२२ का लागि युरोप क्षेत्रको समूह विभाजन
काठमाडौं । एसियाली राष्ट्र कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप २०२२ का लागि युरोप क्षेत्रको समूह विभाजन गरिएको छ । सोमबार राति विश्वकप छनोटका लागि युरोपका ५५ राष्ट्रलाई १० समूहमा विभाजन गरिएको हो । समूह विभाजनअनुसार विश्वविजेता फ्रान्स तुलनात्मक रूपमा सहज समूहमा परेको छ । फ्रान्ससम्मिलित समूह ‘डी’मा युक्रेन, फिनल्यान्ड, बोस्निया र कजाकस्तान रहेको छ । समूह ‘ए’मा पोर्चुगल, सर्बिया, आयरल्यान्ड गणतन्त्र, लक्जेमबर्ग र अजरबैजान छन् । समूह ‘बी’मा सन् २०१० को विजेता स्पेनसँगै स्विडेन, ग्रिस, जर्जिया र कोसोभो रहेका छन् ।
हरेक समूहको शीर्षस्थानमा रहने टोलीले सिधै विश्वकपमा स्थान पक्का गर्नेछन् । समूहको दोस्रो स्थानमा रहने टोलीबाट प्लेअफमार्फत तीन टोलीले पनि विश्वकपमा स्थान बनाउनेछन् । विश्वकपमा युरोपबाट १३ राष्ट्रको सहभागिता रहने गर्दछ । छनोट २०२१ को खेल मार्चदेखि नोभेम्बरसम्म होम एन्ड अवेका आधारमा चल्नेछ । आयोजकको हिसाबमा कतार सोझै छनोट भइसकेको छ । विश्वकप २०२२ को नोभेम्बरमा हुनेछ । कतारमा अत्यधिक गर्मी हुने भएका कारण पहिलोपटक विश्वकप मे–जुन–जुलाईमा छाडेर अर्को महिनामा गर्न लागिएको हो । कतारमा विश्वकप सुरु हुन ७ सय १२ दिन बाँकी रहेको छ ।
समूह विभाजन
समूह ‘ए’ – पोर्चुगल, सर्बिया, गणतन्त्र आयरल्यान्ड, लक्जेम्बर्ग र अजरबैजान
समूह ‘बी’ – स्पेन, स्विडेन, ग्रिस, जर्जिया र कोसोभो
समूह ‘सी’ – इटाली, स्विट्जरल्यान्ड, उत्तरी आयरल्यान्ड, बुल्गेरिया र लिथुवानिया
समूह ‘डी’ – फ्रान्स, युक्रेन, फिनल्यान्ड, बोस्निया र कजाकस्तान
समूह ‘ई’ – बेल्जियम, वेल्स, चेक गणतन्त्र, बेलारुस र इस्टोनिया
समूह ‘एफ’ – डेनमार्क, अस्ट्रिया, स्कटल्यान्ड, इजरायल, फारोइ आइल्यान्ड्स र माल्दोभा
समूह ‘जी’ – नेदरल्यान्ड्स, टर्की, नर्वे, मोन्टेनेग्रो, लात्भिया र जिब्राल्टार
समूह ‘एच’ – क्रोएसिया, स्लोभाकिया, रुस, स्लोभानिया, साइप्रस र माल्टा
समूह ‘आई’ – इंग्ल्यान्ड, पोल्यान्ड, हंगेरी, अल्बानिया, अन्डोरा र सान मारिनो
समूह ‘जे’ – जर्मनी, रोमानिया, आइसल्यान्ड, उत्तरी म्यासेडोनिया, अर्मेनिया र लिचेस्टाइन







डिसी नेपाल








Facebook Comment