यो वर्ष नवौँ राष्ट्रिय खेलकुद नहुने

डिसी नेपाल
२ पुष २०७७ १७:२५
80
Shares

कास्की । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले आगामी फागुन २० देखि गण्डकी प्रदेशमा तय गरिएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालनको अवस्था नरहेको बताएका छन् ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशले आज पोखरा रङ्गशालामा आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा उनले खेलकूदले माहोल सिर्जना गर्नुपर्नेमा यस वर्ष कोभिड–१९ का कारण अप्ठ्यारो अवस्था रहेकाले राष्ट्रिय खेलकूद सञ्चालन गर्ने अवस्था नरहेको स्पष्ट पारे । उनले भने, “नवौँ राष्ट्रिय खेलकूद फागुन २० देखि गण्डकीमा गर्दछौँ भनेर घोषणा गरेका थियौँ तर अहिले तोकिएको मितिमा सञ्चालन गर्ने अवस्था छैन, अब विसं २०७८ भित्र प्रतियोगिता सञ्चालन गर्न सक्छौँ ।”

सदस्य सचिव सिलवालले स्थानीय, जिल्ला र प्रदेशमा प्रतियोगिता आयोजना गरेर राष्ट्रिय प्रतियोगिता सञ्चालन हुने र राम्रो खेलाडी उत्पादन गर्ने गरी राष्ट्रिय खेलकूदको तयारी गरिनेसमेत स्पष्ट पारे । उनले सङ्घ सरकारसँगै प्रदेश र स्थानीय तहहरुले पनि खेलकूद उत्पादनमूलक क्षेत्र हो भन्ने बुझेर खेल पूर्वाधार तथा खेलाडी उत्पादनमा लगानी गर्नुपर्नेमा जोड दिए ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले फाउण्डेशनले खेल क्षेत्रको पूर्वाधार निर्माण र खेल क्षेत्रमा लाग्नेहरुको हौसला अभिवृद्धिमा सहयोग गर्दै आएको छ भने ।

गण्डकी प्रदेश विधायन समितिका सभापति एवं फाउण्डेशनका उपाध्यक्ष मोहन रेग्मीले प्रदेश सरकारले खेलकूद विकासलाई प्राथमिकतामा राखेको बताए । फाउण्डेशनका गण्डकी संयोजक एवं राखेप सदस्य राजेशकुमार गुरुङले खेल सङ्घ, पदाधिकारी, सञ्चारकर्मीलगायत सबै पोखरेलीको सहयोगले साग भव्यरूपमा सम्पन्न भएको बताउँदै खेलाडी तथा सहयोगीहरुको योगदानको कदर गर्न सम्मान कार्यक्रम आयोजना गरिएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.