८९ वर्षको इतिहासमै भारतको यस्तो बिजोग कहिल्यै भएको थिएन, यस्ता थिए पहिलेका रेकर्ड !
काठमाडौं। ८९ वर्ष अगाडि अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटमा डेब्यू गरेको भारतको लागि २०२० सालको डिसेम्बर १९ अर्थात आजको दिन क्रिकेट इतिहासकै कालो दिनको रुपमा रहनेछ । किनकि आज भारत अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा न्यून स्कोरमा अलआउट भएको छ । यो टेस्टमा मात्र नभइ सबै फर्म्याटको क्रिकेटमा भारतको न्युन स्कोर हो । आजको दिन भारतीय क्रिकेट टिमका लागि यसकारण पनि पीडादायी हुनेछ किनकि आज भारतीय टिमका कुनै पनि खेलाडीले दोहोरो अंकमा स्कोर गर्न सबेनन् । सबै खेलाडी १० रनभन्दा कममै आउट भए । पूरै भारतीय टिम ‘सिंगल डिजिट’मा आउट भएको यो ८९ वर्षको इतिहासमै पहिलो पटक हो ।
टेस्ट क्रिकेटमा यसअघि भारत सबैभन्दा कम स्कोरमा आउट भएको इतिहास ४६ वर्षअघिको थियो । २० जून १९७४ मा इङल्याण्डविरुद्ध लर्डस मैदानमा खेल्ने क्रममा भारत ४२ रनमा अलआउट भएको थियो । तर, त्यतिबेला भारतका सबै खेलाडी सिंगल डिजिटमा आउट भएका थिएनन् । भारतका एकनाथ सोलकर १८ रनमा नटआउट रहेका थिए । भारत अस्ट्रेलियाविरुद्ध १९४७ मा ब्रिस्बेनमा खेल्दा ५८ रनमा अलआउट हुँदा पनि तीन खेलाडीले दोहोरो अंकमा रन बनाएका थिए । टेस्ट क्रिकेटमा सबैभन्दा कम स्कोरमा अलआउट हुने टिम भने न्यूजिल्याण्ड हो जो १९५५ मा अकल्याण्डमा इङल्याण्डविरुद्ध २६ रनमा अलआउट भएको थियो ।
एकदिवसीय क्रिकेट इतिहासमा पनि भारतका सबै खेलाडी कहिल्यै सिंगल डिजिटमा आउट भएका छैनन् । एकदिवसीय क्रिकेटमा भारतको सबैभन्दा न्यून स्कोर ५४ रन हो । श्रीलंकाविरुद्ध सन् २००० मा शारजाहमा भएको खेलमा भारत ५४ रनमा अलआउट हुँदा भारतका रोबिन सिंहले ११ रन बनाएका थिए । एकदिवसीय क्रिकेटमा सबैभन्दा कम स्कोरमा अलआउट हुने टिम भने जिम्बाब्बे र अमेरिका हुन् । दुवै ३५ रनमा अलआउट भएका थिए । जिम्बाब्बेलाई श्रीलंकाले हारारेमा २००४ मा ३५ रनमा अलआउट गरेको थियो भने अमेरिकालाई नेपालले गएको फेब्रुअरीमा किर्तिपुर मैदानमा ३५ रनमा अलआउट गरेको थियो ।
टि–२० अन्तर्राष्ट्रियमा पनि भारतका सबै खेलाडी सिंगल डिजिटमा आउट भएको रेकर्ड छैन । टि–२० अन्तर्राष्ट्रियमा भारतको न्यून स्कोर ७४ रन हो । अस्ट्रेलियाविरुद्ध मेलबर्नमा २००८ मा भारत ७४ रनमा अलआउट हुँदा भारतका इरफान पठानले २६ रन बनाएका थिए । टि–२० अन्तर्राष्ट्रियमा सबैभन्दा कम स्कोरमा अलआउट हुने टिम टर्की हो । टर्कीलाई गत वर्ष चेक रिपब्लिकले २१ रनमा अलआउट गरेको थियो । हुन त टि–२० अन्तर्राष्ट्रियमा पहिलोसँगै दोस्रो र तेस्रो न्यून स्कोर पनि टर्कीकै नाममा छ । २०१९ मै टर्की लक्जेम्बर्गसँग २८ र अष्ट्रियासँग ३२ रनमा अलआउट भएको छ ।







डिसी नेपाल








Facebook Comment