देशलाई सकारात्मक परिवर्तनको दिशामा उन्मुख गराउन युवा विद्यार्थी अग्रसर हुनुपर्छः डा प्रकाशचन्द्र लोहनी

डिसी नेपाल
३ फागुन २०७७ १८:४४
8
Shares

काठमाडौं । आर्थिक उन्नति र सकारात्मक परिवर्तनको दिशामा देशलाई उन्मुख गराउन युवा विद्यार्थी अग्रसर हुनुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बताएका छन्।

‘पछिल्लो परिवर्तनपछि राजनीतिक मुद्दा सकियो, देश अब आर्थिक प्रगतिमा अघि बढ्छ भन्ने उद्घोष गरिएको थियो तर ती सबै मिथ्या साबित भएका छन्,’ राप्रपा अध्यक्ष लोहनीले भने । ‘त्यसैले आर्थिक समृद्धि प्राप्त गर्न, रोजगारी सिर्जना गर्न, स्थायित्व हासिल गर्न युवा विद्यार्थीहरु सक्रिय हुनु परेको छ । सकारात्मक परिवर्तनको पक्षमा शिक्षित तरुणहरु उभिन जरुरी भएको छ ।’

अमेरिकामा काला र गोरा जातिबीचको भेद अन्त्य गर्न होस् वा डोनाल्ड ट्रम्पले प्रजातन्त्र मास्न लाग्दा विरोध गर्ने सन्दर्भ होस् विश्वविद्यालयहरुबाट शिक्षित वर्ग जुर्मुराएका थिए । त्यसैगरी नेपालमा पनि देश बनाउने, भविष्य बनाउने जिम्मेवारी शिक्षित युवाहरुमा आइलागेको लोहनीले बताए ।

अध्यक्ष लोहनीले युवा पुस्ताकै बलमा राजसंस्था र हिन्दुराष्ट्रको पहिचान कायम गर्ने दाबी गरे । सोमबार राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (संयुक्त) द्वारा आयोजित उपत्यकास्तरीय बृहत अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो विचार प्रस्तुत गरेका हुन् ।

राप्रपाका वरीष्ठ नेता दिपक बोहराले एक ढिक्का भएर देशलाई अधोगतिबाट जोगाउनु पर्ने जिम्मेवारी आइलागेको बताए । नेता जगत गौचनले विदेशी डिजाइन अुनरुपको बाह्र बुँदेको मार्गचित्र सच्याउनु पर्ने, आवश्यक परे नयाँ क्रान्ति गरेर राजसंस्था, सनातन हिन्दुराष्ट्र पुनःस्थापना गर्ने बताए ।

नेता श्याम तिमल्सिनाले राप्रपा प्रजातन्त्रमा अभ्यस्त पार्टी भएकोले कार्यकर्ता व्यक्तिको नभएर संगठन र सिद्धान्तको पक्षपाती रहने बताए । झुण्डको बलमा पार्टीलाई अब पनि कसैले बन्दी बनाउने कुचेष्टा गरे, त्यस्ता प्रवृति समाप्त हुने बताए । हिंसा, बलात्कारका घटनातर्फ इंगित गर्दै किशोरीहरु असुरक्षित रहनु चिन्ताको विषय भएको नेता राजाराम श्रेष्ठले बताए ।

कम्युनिष्ट र कांग्रेसले शैक्षिक क्षेत्र तहसनहस बनाएको राप्रविसं (संयुक्त) का अध्यक्ष धनशुर शाहीले आरोप लगाए । स्ववियु निर्वाचन हुन नसकेको, अव्यवहारिक सेमेष्टर प्रणाली लागू गरिएको भन्दै उनले आपत्ति जनाए ।

‘स्ववियु निर्वाचन गर्न नसक्ने सरकारले आम निर्वाचन सम्पन्न गर्छ भनेर कसरी विश्वास गर्ने,’ शाहीले प्रश्न गरे । राप्रविसं (संयुक्त) का उपाध्यक्ष नवीन लामिछाने र कोषाध्यक्ष मदन शाहीले विद्यार्थीको हकहित र राष्ट्रियता जगेर्ना गर्न कुनै कसर बाँकि नराख्ने प्रतिवद्धता जनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.