महेन्द्र सिंह धोनी सर्वोत्कृष्ट गाईपालक किसानको रुपमा सम्मानित

डिसी नेपाल
२३ फागुन २०७७ १०:४२
2.6k
Shares

काठमाडौं। भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले क्रिकेटपछि अब कृषि क्षेत्रमा पनि उल्लेख्य प्रगति गरेका छन् । धोनीलाई पूर्वी भारतका सर्वोत्कृष्ट गाईपालक किसानको रुपमा सम्मान गरिएको छ । बीरसा कृषि विश्वविद्यालय (बीएयू) को किसान मेलामा उनलाई उक्त पुरस्कार प्रदान गरिएको थियो। पूर्वी भारतका किसानहरू यो मेलामा जुटेका छन् ।

शुक्रबार झारखण्ड विधानसभाका अध्यक्ष रविन्द्रनाथ महतोले धोनीका प्रतिनिधिको रुपमा उनका कर्मचारी कुणाल गौरवलाई सम्मान गरेका हुन् । महतोले यो आफ्नो लागि गर्वको क्षण भएको पनि बताए । अवार्ड लिएपछि कुणाल गौरवले धोनीले अहिले ७३ वटा गाईपालन गर्दै आएको बताए । धोनीको फार्ममा फ्रेजियान र साहिवाल गाईहरु छन् । यी गाईहरु पंजाबबाट ल्याइएका हुन् । यी गाईहरुबाट दिनहुँ ४०० लिटर दूध उत्पादन हुन्छ । काउण्टरबाट गाईको सबै दुध बिक्री हुन्छ । राँचीको लालपुरस्थित इज फार्मबाट दूध बिक्री गरिन्छ । फ्रेन्जियन गाईको दूध ५५ रुपैयाँ प्रतिलिटर र सहिवाल गाईको दूध प्रतिलिटर ८५ रुपैयाँमा होम डेलिभरी गरिन्छ ।

धोनीले गाईको पनि सेवा गर्ने गरेको गौरवले बताए । गाईहरुको खानपानबारे धोनीले निरन्तर निगरानी गर्छन् । उनी प्रत्येक लिटर दूधको समेत अभिलेख राख्छन्। धोनीको फार्ममा ३०० गाई राख्ने ठाउँ छ । यसबाहेक धोनी राम्रो प्रजातिको गाई विकास गर्ने तयारी पनि गरिरहेका छन् । स्थानीय किसानहरूलाई पनि यी प्रजातिका गाई उपलब्ध गराउने बताइएको छ । दूधबाहेक धोनीले अर्गानिक तरकारी खेती पनि गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.