सप्तरी प्रिमियर लिग : बोदे बर्साईन थन्डर्सले टस जितेर बलिङ गर्दै
काठमाडौं । सप्तरीको राजविराजमा आईतवार (आज)बाट सुरु भएको तेश्रो संस्करणको मेयर कप सप्तरी प्रिमियर लिगको पहिलो खेलमा बोदे बर्साईन थन्डर्सले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । सप्तरी क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा कुशल भुर्तेल मार्की खेलाडी रहेको रुपनी राईडर्स र सिद्धान्त लोहनी मार्की खेलाडी रहेको बोदे बर्साईन थन्डर्सले प्रतिस्पर्धा गरिरहेको छ ।
सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले प्रतियोगितामा सहभागी हुन अधिकांश राष्ट्रिय क्रिकेटरहरु सप्तरी आईपुगेको र उद्घाटन खेलको लागि मैदान लगायत सम्पूर्ण तयारी पुरा भएको बताए । लिगमा यो पटक बसन्त रेग्मी, पवन सर्राफ, आसिफ शेख, अनिल साह, सुनिल धमला, मेहबुब आलम जस्ता राष्ट्रिय क्रिकेटरहरु तथा उमेर समुह राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरिसकेका क्रिकेटरहरु समेत सहभागी जनाएका छन ।
लिगमा तिलाठी कोइलाडीको दिपेन्द्र ऐरी मार्की र आशिष झा लोकल आइकन , बजाज खडक वारियर्सको पवन सर्राफ मार्की र बिबेक यादव लोकल आइकन , रुपनी राईडर्सको कुशल भुर्तेल मार्की र अनुज कुमार यादव लोकल आइकन , टिभीएस किंग्स राजविराजको मेहबुब आलम मार्की र रोहित कुमार सिंह आइकन तथा बोदे बर्साईन थन्डर्सको सिद्धान्त लोहनी मार्की र विकास दास लोकल आइकन रहेका छन् । लिगमा सहभागी खेलाडीहरुको चयन अक्सनमार्फत गरिएको थियो ।
सहभागी पाँचवटा टोलिले सिंगल राउण्ड रोबिन फर्म्याटको आधारमा प्रतिस्पर्धा गर्नेछन् । सबै टिमले एकअर्का बिरुद्ध एक–एक खेल खेली सकेपछि अंकतालिकाको शिर्ष स्थानमा रहने दुई टिमले चैत्र १४ गते शनिवार फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । लिगको पहिलो दिन एक खेल मात्र हुनेछ त्यसपछि चैत्र ९ गते देखि १२ गते सम्म दुईवटा खेल खेलिनेछ । चैत्र १३ गते लिगको अन्तिम एक खेल हुनेछ । लिगको विजेताले ३ लाख रुपैयाँ तथा उपविजेता टिमले १ लाख ५० हजार रुपैयाँ पाउने सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले बताए । लिगको खेलहरु राजविराज स्थित राज रंगशालामा संचालन हुनेछ । दर्शकहरुले खेल हेर्नको लागि टिकट काट्नु पर्ने ब्यवस्था रहेको छ ।







डिसी नेपाल








Facebook Comment