गृहमन्त्री थापा र अष्ट्रेलियाका राजदूतबीच भेटवार्ता
काठमाडौं । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले आज शिष्टाचार भेटवार्ता गरेकी छन् । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–अष्ट्रेलिया द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।
भेटमा गृहमन्त्री थापाले नेपालमा राजदूतको रुपमा कार्यभार सम्हालेकामा राजदूत भोल्कलाई बधाई तथा सफलताको शुभकामना दिँदै उनको कार्यकालमा नेपाल–अष्ट्रेलिया सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे । भेटमा गृहमन्त्री थापाले गत वर्ष नेपाल र अष्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वर्षगाँठ मनाएको स्मरण गर्दै यसले पनि दुई देशको सम्बन्ध जनस्तरमा पुगेको टिप्पणी गरे। उनले पछिल्लो समय अध्ययन र अन्य कामका लागि अष्ट्रेलिया नेपालीको प्रमुख रोजाइ बनेको बताउँदै कोरोना सङ्कटमा अस्ट्रेलियामा रहेका नेपालीको सुरक्षाबारे पनि चासो राखेका थिए।
नेपालको विविध क्षेत्रमा अष्ट्रेलियाले गर्दै आएको सहयोगका लागि राजदूत भोल्कमार्फत अष्ट्रेलिया सरकारलाई धन्यवाद दिँदै गृहमन्त्री थापाले आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे । उनले नेपालमा लगानीको लागि उपयुक्त वातावरण रहेको चर्चा गर्दै नेपालमा अष्ट्रेलियाको थप लगानीका लागि भूमिका खेल्न राजदूत भोल्कसँग आग्रह गरे ।
सो अवसरमा राजदूत भोल्कले नेपाल–अष्ट्रेलिया सम्बन्धको चर्चा गर्दैै नेपालको ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियानलाई सफल पार्न अष्ट्रेलियाको अधिकतम सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् । उनले यसअघि आफू चार पटक नेपाल भ्रमणमा आएको स्मरण गर्दै यसपटक राजदूतको रुपमा सुन्दर देश नेपालमा कार्यभार सम्हाल्न पाएकामा गौरवान्वित महसुस गरेको बताइन् । नेपालको विविध क्षेत्रमा अष्ट्रेलियाको लगानी भित्र्याउन आफूले पहल गर्ने भेटमा राजदूत भोल्कले प्रतिबद्धता व्यक्त गरिन् । रासस







डिसी नेपाल







Facebook Comment